बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संकट व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न मन्त्री गुरुङको आग्रह

बुधबार, २२ वैशाख २०७८, २० : ४३
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड १९ संकट व्यवस्थापन हुनेगरी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा केन्द्रित हुन काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् । मन्त्री गुरुङले बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरी काठमाडौं देशकै केन्द्र भाग भएकाले कोभिड १९ संकट व्यवस्थापन हुने गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्न अनुरोध गरेका हुन् । ‘जनतालाई त्रास फैल्याउने खालका भ्रमपूर्ण समाचार केही सञ्चारमाध्यमहरुले दिने काम गरिरहेका छन्’ सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा उनले भने, ‘ती भ्रमलाई चिर्ने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गर्दछु ।’ 

काठमाडौं महानगरपालिकाले कोभिड संक्रमितहरुको उपचार, पीडितहरूको राहतका लागि गर्दै आएको कामको प्रशंसा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले जनस्तरमा भ्रम फैलाई त्रास बढाउने खालका गतिविधि हुन नदिन सबै स्थानीय तहले सचेत भएर काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । त्यस अवसरमा उनले कोभिडका कारण पीडामा परेकाहरुलाई राहत दिने कामलाई अझै प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए । यता, मेयर शाक्यले संक्रमितको उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल, वीर अस्पताल, सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा आवश्यक बेड सहितको व्यवस्था गरिएको बताए ।

त्यसैगरी उनले पीडितहरुका लागि घरघरमै राहतको व्यवस्था वडा कार्यालयबाटै गर्ने व्यवस्था मिलाइएको पनि मन्त्री गुरुङलाई जानकारी दिए । संक्रमितहरुलाई उपचारका लागि आवश्यक एम्बुलेन्सहरूको परिचालनको कामलाई प्रभावकारी बनाइएको मेयर शाक्यको भनाई थियो । 
सो अवसरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संकट समाधानका लागि स्थानीय प्रशासनले गरिरहेको कामबारे मन्त्री गुरुङलाई ब्रिफिङ गरेका थिए भने नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्र तिमिल्सिना, गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जीतराम लामा र समाज कल्याण परिषदका सदस्य सचिव पुस्कर खातीले कोभिड संकट समाधानका लागि सामाजिक संघ, संस्थाहरुको परिचालन सरकारको निर्देशनअनुसार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यसैबीच, मन्त्री गुरुङले कोभिड संकट समाधान हुने गरी सन्देशमूलक समाचार र कार्यक्रम सञ्चालन गर्न सबै सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । बुधबार अपरान्ह मन्त्रालयमा सरकारी सञ्चार माध्यमका प्रतिनिधिहरुसँगको छलफलमा उनले बढदै गइरहेको कोभिड संकट समाधान हुने गरी सन्देश प्रवाहमा ध्यान केन्द्रित गर्न समाचार माध्यामहरुको ध्यानाकर्षण गराएका हुन् । छलफलमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, प्रवक्ता शोभाकान्त पौडेल लगायतले पनि जनताको जीवन रक्षाको दायित्व सरकारको भएको उल्लेख गर्दै त्यसलाई बल पुग्ने गरी समाचार तथा कार्यक्रम प्रशारण तथा प्रकाशन गर्न समाचारमाध्यामहरु केन्द्रित हुनुुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप