शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरद्वारा घरबाटै बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्था

बुधबार, २२ वैशाख २०७८, २० : ३७
बुधबार, २२ वैशाख २०७८

 भरतपुर महानगरपालिकाले कोभिड १९ रोकथाम तथा उपचारमा प्रभावकारी कदम चालेको जनाएको छ । महानगरभित्रका कुनै पनि संक्रमित बिरामीलाई अस्पतालसम्म ल्याउन महानगरले व्यवस्था गरेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले कोभिड १९ को रोकथाम र उपचारको लागि महानगर प्रमुख नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरिएको बताइन् । 

उनले  कोरोनाका लक्षण देखिएकाहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीहरूलाई अस्पतालसम्म ल्याउने व्यवस्था गरेको बताइन् ।

उनका अनुसार स्वास्थ्य विज्ञहरू स्वास्थ्य संस्था प्रमुखहरु र स्थानीय प्रशासनसँग जोखिम न्यूनिकरण र प्रभावकारी उपचारका लागि समन्वय गरी महानगर अगाडि बढेको छ । प्रमुख दाहालले हरेक टोल टोलमा माइकिङ मार्फत सचेतना कार्यक्रम गरिएको बताइन् ।

दाहालका अनुसार बिरामीहरूलाई समयमै अस्पतालको पहुँच पुर्याउन हाललाई २ वटा एम्बुलेन्स स्टाण्डवाई राखिएको र जानकारी पाउन साथ बिरामीलाई अस्पतालमा ल्याउने व्यवस्था मिलाइएको छ। भरतपुर महानगर उपप्रमुख पार्वती शाहले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई सफल पार्न समन्वय गरिएको बताइन् । 
उनले महानगरभित्रका संक्रमितहरुको तथ्याङ्क अभिलेख नियमित गरी प्रतिवेदन तयार गरिएको बताइन् । भरतपुर केन्द्रिय अस्पताल मेडिकल कलेजहरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी संक्रमितहरुको उपचारका लागि प्रभावकारी ढङ्गले अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले जानकारी दिए । उनले भरतपुर महानगर माहतहतका सम्पूर्ण स्वास्थ्य केन्द्रहरू नियमित सञ्चालन गरी स्वास्थ्यकर्मीहरूलाई कोभिड रोग नियन्त्रण, व्यवस्थापन तथा उपचारका लागि परिचालन गरिएको बताए ।

जिल्लास्थित अन्य कार्यालय तथा संघ संस्थाहरूसँगको समन्वयमा कोभिड रोकथाम तथा उपचारको लागि समन्वय र सहजीकरण भइरहेको महानगरको भनाइ छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वडा स्थित सर्वपक्षिय समिति र टोल विकास समितिलाई समेत सक्रिय बनाइ कोभिडका बिरामीहरूको पहिचान व्यवस्थापन र उपचारलाई सहज बनाउने कार्य भइरहेको महानगरले जनाएको छ। 

महानगरबासीको स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिएर आवश्यकता अनुसार थप कामहरू गर्दै जाने योजनाका साथ भरतपुर महानगर अगाडि बढिरहेको महानगर प्रमुख दाहालको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप