कोरोना संक्रमित शवको चाप बढेपछि पशुपतिमा थप १० वटा चिता निर्माण सुरु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको शवको चाप बढेपछि पशुपति क्षेत्र विकास कोषले थप १० वटा चिता निर्माण थालेको छ । आज बिहानदेखि थप चिता निर्माण सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बागमती खोलाको किनारमा बनाउन लागिएको चिता ३ दिनभित्र सक्ने विद्युतीय शवदाह गृहका प्रमुख सुवास कार्कीले रातोपाटीलाई जानकारी दिए ।
उनले भने– ‘कोभिडबाट मृत्यु भएकाहरुको शब बढेपछि आजदेखि १० वटा चिता निर्माण थालिएको छ । ३ दिनभित्र निर्माण पुरा गरिसक्छौँ ।’ कोरोना संक्रमण रहुञ्जेल सम्मका लागि अस्थाई प्रकृतिको चिता थप गरिएको उनले बताए । शब जलाउने मेसिनले नधानेपछि खोला किनारमा चिता थप गरेर दाह संस्कार सुरु गरिएको हो ।
मंगलबार मात्र कोरोना संक्रमित ५५ जनाको शव जलाएको उनले बताए । कार्कीले भने–‘विद्युतीय शवदाह गृह अगाडि नेपाली सेनाले ल्याएको ५५ वटा शव हामीले हिजो व्यवस्थापन ग¥यौँ । यी शव खोलाको किनारमा र विद्युतीय शवदाह गृहमा जलाइएको हो ।’
यो आर्यघाटतिर जलाइएको शब बाहेकको आंकडा हो । मेसिनमा दैनिक २० देखि २५ वटा शब जलाउन सकिन्छ । मंगलबार मेसिन र चितामा बराबरी संख्यामा शव जलाइएको हो ।
तीन–चार घण्टा सुत्छन् शव जलाउने कर्मचारी
कोरोना संक्रमित शवको संख्या बढेपछि विद्युतीय शवदाह गृहमा १० जना कर्मचारी थप गरिएको छ । आर्यघाटमा काम गदै आएका उनीहरुलाई कोरोना संक्रमितको शव जलाउने काममा खटाइएको हो । विद्युतीय शवदाह गृहका प्रमुख कार्कीले भने– ‘म विहान ५ बजे घाटमा पुगेको थिएँ, बल्ल दिउँसो ३ बजे खाना खाएँ । अरु कर्मचारीको अवस्था पनि यस्तै छ ।’
अहिले कोरोनाबाट संक्रमितको शव जलाउने काममा २४ जना कर्मचारी खटिएका छन् । उनले भने– ‘मेरो अहिले कामको चाप धेरै बढेको छ । बिहानै गएर चिता ब्यवस्थापन गर्नुपर्छ । रातीको १२ देखि १ बजेसम्म बस्नुपर्छ । बिहान ४ बजे उठेर फेरि व्यवस्थापनका लागि जुट्नुपर्छ । केही दिनदेखि दिनको तीन चार घण्टा पनि राम्रोसँग सुत्न पाएको छैन ।’
शव व्यवस्थापनका लागि कर्मचारीहरुले विहान ५ बजेदेखि दाउराको चिता बनाउन सुरु गर्ने गरेका छन् । सेनाले शब ल्याएपछि चितामा राखेर जलाउने काम सुरु गर्छन् । प्रत्येक बिहान २० वटा हाराहारी दाउराको चिता बनाउन थालिने उनले बताए । कोरोना संक्रमित शव दाहको कुनै शुल्क लिइएको छैन् । अहिलेसम्म शव दाहका लागि चाहिने सबै सामग्री पशुपति क्षेत्र विकास कोषले जुटाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल