शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीहरुद्वारा ‘कन्स्ट्रक्शन होलिडे’ को माग

बुधबार, २२ वैशाख २०७८, १८ : ३८
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । निर्माण व्यवसायीहरुले निषेधाज्ञाको समयमा ‘कन्स्ट्रक्सन होलिडे’ लागू गर्न सरकारसँग माग गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले कोभिड–१९ को दोस्रो लहर संक्रमणको त्रास र निषेधाज्ञाले निर्माण क्षेत्रमा काम गर्न असहज भएको अवस्थामा निषेधाज्ञाको अवधिभर शून्य समय (कन्स्ट्रक्सन होलिडे) मान्न सरकारसँग माग गरेको हो । 

यस्तो समयमा सरकारका अत्यावश्यक निर्माण नगरी नहुने आयोजनाहरु बाहेक सम्पूर्ण आयोजना परियोजनाहरुलाई रोकी सो समयलाई शून्य समयको रुपमा गणना गरि थप समय दिनुपर्ने व्यवसायीहरुले माग गरेका छन् ।  कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माण कार्य सञ्चालन गर्न अत्यन्त कठिन भएको, निर्माण सामग्री ढुवानीका गाडीहरूमा निषेधाज्ञाले प्रभाव पारेको र निर्माण सामाग्रीका केही उद्योगहरू खुलेता पनि तिनका डिलर, वितरक पसलहरू समेत बन्द भएकाले सामान अभावले काम गर्न कठिन भएको महासंघले बताएको छ । 

महासंघका महासचिव रोशन दाहालद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ, ‘वैशाख २१ गते सीसीएमसीले जारी गरेको सूचनामा विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरूले नै आवासीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गर्दै कार्य सञ्चालन गर्ने गराउने उल्लेख भएता पनि श्रमिकहरूमै कोरोनाको संक्रमण देखिने, सन्त्रास फैलिने र मृत्यु समेत हुने भएकाले काम गर्न कठिन भएकाले समय थप गर्नुको कुनै विकल्प नभएको महासंघले निष्कर्ष निकालेको छ । 

त्यस्तै, निर्माण व्यवसायीहरूको अरबौं अरब भुक्तानी रोकिएको तथा सङ्क्रमण तीव्र गतिमा फैलिरहेको अहिलेको अत्यन्त जटिल अवस्थालाई ख्याल गरी कर बुझाउने र बैङ्क ऋण किस्ता तिर्नका लागि समय थप गरिनु न्यायोचित हुने भन्दै महासंघले सोही बमोजिमको व्यवस्था मिलाइदिन समेत सरकारसँग माग गरेको छ । 

सो अवसरमा महासंघले निषेधाज्ञाकै फाइदा उठाउँदै केहीं विक्रेताहरुले निर्माण सामाग्रीको चर्को मूल्यवृद्धि समेत गरेको बताउँदै सो मूल्य वृद्धिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप