बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री पौडेलले भने- ‘आर्थिक परिदृश्य चुनौतीपूर्ण छ’

बुधबार, २२ वैशाख २०७८, २२ : ४२
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण मुलुकको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् । बुधबार दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रस्तरीय अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

उक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने, ‘समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारीको बहुपक्षीय प्रभावका कारण अवरोधको सामना गर्नुपरेको छ । उत्थानशिलता कायम गर्दै परिस्थितिलाई हरसम्भव नियन्त्रणमा राख्ने प्रयत्‍नका बावजुद पनि निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपूर्ण नै रहेका छन् ।’ 

सो अवसरमा मन्त्री पौडेलले आशातीत रुपमा आर्थिक पुनरुत्थान प्रकृयाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड –१९ को  दोस्रो लहरबाट निक्कै ठूलो धक्का पुर्याएको बताउँदै मुलुकको पर्यटन लगायतका अन्य सेवाहरु र उत्पादन क्षेत्रमा समेत गम्भीर असर पुगेको बताए । 

‘कोभिड–१९ को विस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको देखिन्छ । यसैगरी समावेशी बृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरूमा चुनौती थपिदिएको छ । गरिब एवम् जोखिम समूह बढी प्रभावित भएको देखिँदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम हामी समक्ष अझै विद्यमान छ’ अर्थमन्त्री पौडेलले भने ।

कोभिड–१९को महामारीले स्वास्थ्य, शिक्षा र मानव जीवनका समृद्धिका समग्र पक्षलाई निरन्तर प्रताडित बनाइरहेको उल्लेख गर्दै उनले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी ऐक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको उल्लेख गरे । 

अन्तर सम्बन्धित वर्तमान विश्वका सबै ठाउँका सबै व्यक्ति सुरक्षित भएको सुनिश्चित गर्नु आवश्यक भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले जनस्वास्थ्यमा आएको यस्तो संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा बस्तुको रुपमा लिइने विश्वास व्यक्त गरे । 

उनले खोपको आपूर्तिमा सबै देशले सहज रुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको समेत उल्लेख गरे । सो अवसरमा अर्थमन्त्री पौडेलले कोभिड–१९ महामारीको सामना गर्न तथा आर्थिक प्रबर्द्धन लगायतका विषयमा विकासोन्मुख सदस्य देशहरूलाई वित्तिय तथा प्राविधिक सहयोग उपलव्ध गराएकोमा एसियाली विकास बैंकलाई धन्यवाद दिए । 

बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, माल्दिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप