केन्द्रीय संस्करण

सरकार, हामी नागरिकलाई कोरोनाको सूचना खोइ ?

person explore access_timeबैशाख २२, २०७८ chat_bubble_outline0

छिमेकी देश चीनको वुहानबाट उत्पत्ति भएको कोरोनाभाइरस फैलिएर संसार आतंकित छ । अहिले हामी राजनीतिकमात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ । तर, सहनुको विकल्प पनि हुँदैन ।

खुला सीमाना भएको छिमेकी देश भारतमा संक्रमित र मृत्युदर उच्च छ । कोभिड १९ को चपेटामा परेका देशहरू मध्ये अहिले भारत संसारकै पहिलो नम्बरमा छ । सरकारी तथ्यांकअनुसार अहिले पनि भारतबाट नेपाल फर्कने नागरिकको संख्या दिनकै सयौं रहेको छ । उनीहरूलाई अनिवार्य क्वारेन्टिनमा राख्ने अर्थात् विश्व स्वास्थ संगठनको मापदण्डअनुसार चेकजाँच गर्ने नभैरहेको सूचना बाहिर आइरहेका छन् । जसका कारण संक्रमण सिधै हाम्रो समुदायमा पुग्न सक्छ ।

संक्रमित बढ्दै गएका छन् र छिमेकी देशको जस्तै फैलियो भने सायद नियन्त्रण गर्ने बुँता हाम्रो हुने छैन र भयावहको अवस्था नरहला भन्न सकिँदैन । चीनले जस्तो एक हप्तामा एक हजार शैय्याको अस्पताल हामी निर्माण गर्न सक्ने छैनौं । दक्षिण कोरिया, इटली, अमेरिका, जापानले जस्तो अरबौं खरबौं बजेट खर्च पनि हामी गर्न सक्दैनौं । ती देशहरूमा जस्तो अत्याधुनिक स्वास्थ्य सेवा र दक्ष जनशक्ति पनि हामीसँग छैन ।

त्यसर्थ, हाम्रा लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको रोग संक्रमण हुनै नदिने पूर्वतयारी गर्नु थियो । साथसाथै अन्य आवश्यक तयारी पनि युद्धस्तरमा गर्नु जरुरी छ । अन्यथा, प्लेग, कोलेरा, इबोलाले संसारमा जसरी लाखौं, करोडौं मान्छेको ज्यान लिएको थियो, त्यस्तै महामारीको रूप लिन सक्छ कोरोनाले पनि ।

संसार कोरोना विरुद्ध युद्ध लड्दैछ । आजको संसारमा कुनै पनि देश निर्जन टापु बनेर बाँच्न सक्दैन । वैश्वीकरण आजको संसारको चरित्र हो । संसारको कुनै ठूलो देशमा संकट आयो भने त्यसको प्रत्यक्ष परोक्ष असर संसारभर पर्छ । रेमिट्यान्समा बाँचेको हाम्रो देशमा खाडी मुलुकहरूले उडान बन्द गर्ने्बिबत्तिकै त्यसको असर आर्थिक क्षेत्रमा देखापर्न थालिसक्यो । भारतले सीमा सिल गर्ने कुरा सँगसँगै ग्यास, पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुको अभाव बजारमा देखिन थालिसक्यो ।

आयातमुखी अर्थतन्त्र भएको हाम्रोजस्तो देशमा अहिलेदेखि नै राम्रो तयारी नगर्ने हो भने भोलि हामी कसैले कल्पनै नगरेको संकट आउन सक्छ । कोरोना संक्रमित देशहरूबाट सरकारले बेलैमा सिकेर आवश्यक पूर्वतयारी गर्नु जरुरी छ ।

लकडाउनले रोजगारी खोसिएपछि सहरमा खान नपाएका मजदुरहरू बिरामी जहान परिवार लिएर झन्डै हजार किलोमिटरको लम्बे यात्रा पूरा गरेर भोकभोकै घर पुगेका छन् । तिनलाई सुरक्षित ढंगले घर पु¥याउनु त कहाँ हो कहाँ उल्टै ठाउँठाउँमा अवरोध सिर्जना गरेर राज्यले दुःख दिएको देख्न सकिन्छ । भारतबाट ज्यान बचाउन भोकभोकै घर फर्केका हजारौं हजार नागरिकलाई हप्तौंसम्म सीमानामा अलपत्र पारेर सरकारले आफ्नै देशका नागरिकहरूलाई दुश्मनको जस्तो व्यवहार गरेको थियो।

निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवश मान्छेहरूलाई रात र दिन छुट्याउन गाह्रो भइरहेको छ । अन्नको मुख देख्न नपाएको धेरै दिन भइसक्यो । अझ कति दिन देख्न नपाइने हो, ठेगान छैन । हाम्रोजस्तो देश लकडाउन नगर्दा रोगले मर्ने, गर्दा भोकले मर्ने जटिल अवस्थामा छ । ‘भोकले मर्नुभन्दा कोरोनासँग जुधौंला’ भन्ने निष्कर्षमा आम सर्वसाधारण पुगेको कुरा पनि यस अगाडिको लकडाउनबाट भोगिएको सत्य हो ।

सकेसम्म सरकारले विपदमा परेका आफ्ना नागरिकलाई सुरक्षित राख्ने व्यवस्था गर्नुपर्छ । व्यवस्था गर्न नसके पनि सुरक्षित रहने विकल्प भने दिनैपर्छ । सरकार भनेकै विपत्तिमा चाहिने त हो । अरुबेला जसोतसो बाँचेकै त हुन्छन् मान्छे । तर, विडम्बना ! सरकार कहाँ छ भनेर दिउँसै बत्ती बालेर खोज्नुपर्ने भएको छ ।

संसारमा कोरोना विरुद्धको औषधि बनिसकेको छैन । तसर्थ, रोग लाग्नै नदिने तयारी गर्नु सबैभन्दा बुद्धिमानी हुन्छ । ‘नेपालीहरूको इम्युनिटी पावर धेरै भएकाले नेपालीलाई कोरोना लाग्दैन । लागिहाले पनि आफ्नै घरेलु उपचारद्वारा निको बनाउन सकिन्छ ।’

के यस्तो भनेर लापरवाही गर्न मिल्छ ? रोग लागिहाले घरेलु उपचारका नाममा बेसार दलेर हुन्छ ? लसुन खाएर हुन्छ ? बोझो चपाएर हुन्छ ? हुँदैन । मनोबल कमजोर हुन नदिन रोग नलागुन्जेल यस्ता तर्कले पनि सकारात्मक भूमिका खेल्न सक्छ ।

कोरोना महामारीले मान्छेको ज्यान गइरहेको छ । संक्रमणको जोखिम घटेको छैन । उद्योग, कलकारखाना, बन्द व्यापार ठप्प छ । रोजगारी गुमिरहेको छ । देश भयावह आर्थिक संकट सम्मुखमा उभिएको छ । तर, हाम्रा शासकहरू साम, दाम, दण्ड, भेद प्रयोग गरेर आफ्नो कुर्सी जोगाउन लागिपरेका छन् । आफ्नो नालायकिपनलाई छोप्न र कुर्सीको आयु लम्ब्याउन हप्ता–हप्तामा नयाँ नयाँ फण्डा गर्छन् । कुर्सीका लागि शासकरूले झूट, कीर्ते जे–जे गर्नु थियो; सबै गरिसके । गर्न बाँकी केही छैन अब ।

अनि हामी ( व्यापारी) पनि कति संवेदनाहीन ? नाफा खान पाइएन भनेर सामान लुकाउँछौं । कृत्रिम अभाव सिर्जना गर्छौं ।

बोरामा पैसा बोकेर जाँदा झोला भरी सामान नआउने भइसक्यो ।व्यापारी साथीहरू ! संकटका बेला साथ दिने हो । सहयोगको हात बढाउने हो । मास्कमा समेत नाफा खाने होइन । मृत्यु शाश्वत सत्य हो । आखिर अजम्बरी कोही छैन । कम्तिमा पाप र धर्मको त ख्याल राखौं । अनि हामी नागरिकहरु रोगले आफ्नो र पराई छुट्ट्याउँदैन । कोरोनाले छानीछानी मात्रै हमला गर्दैन । यस्तै लापरवाही र गैरजिम्मेवार बन्दै जाने हो भने तपाईं–हामीलाई हमला गर्न आइपुग्नेछ कोरोना ।

कोरोनाविरुद्ध जुध्न आजसम्म सरकारले के–के तयारी गरेको छ ? अँग्रपन्तिमा रहेर काम गर्नेहरुको लागि सरकारले स्वास्थप्रति कस्तो ब्यवस्था गर्दैछ ?  हामी नागरिकलाई औपचारिक सूचना खोई ? नागरिकहरू एउटा मिडियाको समाचार पढेर सुरक्षित महसुस गर्छन् अर्को मिडियाको समाचार पढेर पुरै आतंकित हुन्छन् । आजको युग सूचना सञ्चारको युग हो । सूचनाको मनोबैज्ञानिक प्रभाव कतिपर्छ यहाँ व्याख्या गरिरहनुपर्दैन । गलत सूचनाका कारण आत्तिएर कतिपय भाइरस संक्रमित व्यक्तिहरूको मृत्यु भएको हुन सक्ने अनुमान चिकित्सकहरूले गरिरहेका छन् । त्यसैले हामी निद्राबाट ब्युँझने हो कि ?

अन्तमा,

संसारमा मान्छेका लागि स्वास्थ्यभन्दा ठूलो कुरा अरू केही हुन सक्दैन । सरकार भनेको नागरिकको अभिभावक हो । उसले अभिभावकत्व दिनसक्नुपर्छ । चुनावमा फोस्रो आश्वासन बाँडेर मात्रै हुँदैन । अहिले हामी  आपतकालीन अवस्थामा छौँ । हामी यो र त्यो गर्न सक्दैनौं भनेर हात उठाउने होइन, मन्त्रालयमा हुने भ्रष्टाचार नगर्ने संकल्प गर्ने हो भने पनि हजारौं व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिन्छ । सरकार ! यस अवस्थाको दौडमा जबसम्म भाइरसभन्दा  हामी एक कदम अगाडि बढ्दैनौं, तबसम्म यो लडाइँ जित्न सक्दैनौँ ।

(सामयिक विषयवस्तुमा कलम चलाउने राधा पोखरेल नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष हुन् )

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.