कान्ति बाल अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

–सञ्चिता घिमिरे
काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेका सँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ ।
गत वर्षभन्दा यो वर्ष सङ्क्रमण फैलिने दर उच्च भएकाले सङ्क्रमित थपिरहेको अस्पतालले जनाएको छ । एक सातायता दिनमा एक दुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको अस्पतालका प्रवक्ता डा कृष्णप्रसाद विष्टले बताए । उनले भने, “सङ्क्रमण सबैतिर बढिरहेमा यहाँ पनि बढ्न सक्छ ।”
कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.विष्टले बताए ।
अस्पतालले कुनै पनि बालबालिका अस्पताल छिर्नासाथ ज्वरो हेर्न ‘फिबर क्लिनिक’ को व्यवस्था गरेको छ । कोभिडसँग मिल्दो लक्षण भएका शङ्कास्पद बिरामीलाई छुट्टै वार्डमा राखिने गरिएको प्रवक्ता डा विष्टले बताए । बालबालिकाको रिपोर्ट पोजेटिभ भएमा कोभिडका लागि छुट्याइएको श्ययामा उपचार गरिन्छ । सङ्क्रमित नभएको पाइएमा अरू सामान्य श्ययामा उपचार गरिने उनले बताए । उनले भने, “अहिले पनि अस्पतालमा कोभिडभन्दा अरू बिरामी धेरै छन् ।”
अस्पतालले नियमित सेवालाई निरन्तरता दिइरहेको भए पनि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै घटेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा बहिरङ्ग सेवा, आकस्मिक सेवा गरेर दैनिक सातदेखि आठ सयसम्म बिरामी आउने गरेका थिए । अहिले दैनिक झण्डै एक सयदेखि डेढ सयसम्म छ । उनले भने, “यातायातको साधन नभएकाले पनि आउन नसकेको हुनसक्छ ।”
अस्पतालले दुई भेन्टिलेटर र चार आइसीयुसहित २६ श्यया कोभिड सङ्क्रमित बालबालिकाका लागि छुट्याइएको छ । यी सबै श्ययामा अक्सिजनको व्यवस्था छ । सङ्क्रमितको सङ्ख्या बढेर आवश्यक भएमा थप श्ययाको व्यवस्था गर्न सकिने उनले बताए ।
अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पहिले कोभिड परीक्षण गर्दै आएको छ । परीक्षण गर्दा नेगेटिभ भएमा तुरुन्त शल्यक्रिया गरिने र पोजेटिभ भएका बिरामी, जसलाई केही दिन ढिलाइ गर्दा स्वास्थ्यमा असर गर्दैन भने तत्काल नगरिने उनले बताए । तत्काल नै शल्यक्रिया आवश्यक भएका सङ्क्रमितलाई चिकित्सकले पिपिई लगाएर शल्यक्रिया गर्दै आएको उनले बताए । उनले भने, “हामीले अघिल्लो वर्ष पनि त्यसरी नै सङ्क्रमित बालबालिकालाई शल्यक्रिया गरेका थियौँ ।”
देशभर जम्मा सङ्क्रमित बढेपछि त्यसमा बालबालिकाको सङ्ख्या पनि बढेको छ । सरकारी तथ्याङ्कमा जम्मा सङ्क्रमितमध्ये बालबालिका सङ्ख्या एकदेखि दुई प्रतिशत बढेको उल्लेख छ । अहिलेसम्म अस्पताल आएकामा जटिल समस्या भएका बालबालिका नभएको उनले जानकारी दिए । उनका अनुसार अरू उमेर समूहजस्तै बालबालिका पनि धेरै ‘होम आइसोलेशन’ मा रहेको हुनसक्ने देखिएको छ ।
गत वर्षजस्तै बालबालिकामा सङ्क्रमण हुँदा रुघाखोकी, पखाला, जीउ दुख्ने लगायत लक्षण बढी मात्रामा देखिरहेको छ । बालबालिकामा समस्या आएमा अस्पताल लगे पनि सामान्य अवस्थामा घरमा नै राखेर हेरचाह गर्न सकिने प्रवक्ता डा.विष्टको सुझाव छ ।
अहिले विद्यालय बन्द भएकाले धेरै बालबालिका घरमै छन् । उनीहरुलाई अरूभन्दा आफ्नै अभिभावकबाट सङ्क्रमण सर्ने सम्भावना बढी छ । बालबालिकालाई कोभिडबाट बचाउन अभिभावक आफैँ सुरक्षित हुनुपर्ने डा.विष्टको सुझाव छ । आफू विवाह, व्रतबन्धलगायत भीडभाडमा नजाने र कतै अत्यावश्यक कामका लागि हिँड्नुपर्दा सुरक्षाको मापदण्ड अपनाउनुपर्छ ।
बालबालिकालाई यो समयमा पनि नियमित लगाउने खोप लगाउनुपर्ने उनको सुझाव छ । अभिभावकले पनि कोभिड विरुद्धको खोप उपलब्ध भएसम्म लगाउन आवश्यक छ । बालबालिकालाई सामान्य ज्वरो र खोकी हुँदा घरमा नै औषधि खुवाएर राख्न सकिन्छ । उनले भने, “तर उनीहरुलाई सास फेर्न गाह्रो भएमा, ज्वरो उच्च भएमा, बेहोस हुने र सास फेर्न समस्या हुँदा अस्पताल लैजानुपर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
-
६३ जना एसपीको सरूवा, को कहाँ ? (सूचीसहित)
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा