शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

व्यावसायिक कृषकका लागि प्रदेशका १३ वटै जिल्लामा शीत भण्डार निर्माण हुँदै

बुधबार, २२ वैशाख २०७८, १५ : १५
बुधबार, २२ वैशाख २०७८

मकवानपुर । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा व्यावसायिक कृषकलाई लक्षित गरी शीत भण्डार निर्माण थालेको छ ।

स्थानीय सहकारी संस्थासँगको साझेदारीमा मन्त्रालयले शीत भण्डार निर्माणको काम अघि बढाएको हो । मन्त्रालयको ७० प्रतिशत र सहकारीको ३० प्रतिशत लगानीमा शीत भण्डार निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शीत भण्डारको निर्माण लागत कुल ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ अनुमान गरिएको छ ।

चितवनको खैरहनी नगरपालिका वडा नम्बर–६, धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका वडा नम्बर–७, रसुवाको कालिका गाउँपालिका वडा नम्बर–२, सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर–५, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–७, सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका, दोलखाको जिरी नगरपालिका वडा नम्बर–५, रामेछापको मन्थली नगरपालिका, नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर–५ र नुवाकोटकै बेलकोटगढी नगरपालिका वडा नम्बर–१० मा शीत भण्डार निर्माण गरिरहेकोे मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिएका छन् ।

अधिकांश शीत भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको र केहीको भने करिब ६० प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

उक्त शीत भण्डार निर्माण भएपश्चात व्यावसायिक कुषितर्फ कृषकको आकर्षण बढ्ने र कृषकले कृषि उपजको उचित मूल्य प्राप्त गर्ने प्रदेश सरकारको विश्वास छ ।

खैरहनी नगरपालिका वडा नम्बर–६ मा मन्त्रालयले साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा शीत भण्डार निर्माण गरेको हो ।

मन्त्रालयले १२ करोड ९४ लाख ४२ हजार रुपैयाँ, खैरहनी नगरपालिका र साना किसान सहकारीसहित अन्य ३२ वटा सहकारीका लगानीमा २०७५ साल चैत १३ गते उक्त शीत भण्डार निर्माण सम्झौता गरेर निर्माणको काम सुरु गरेको जनाइएको छ ।

त्यस्तै, बेनीघाट रोराङ्ग गाउँपालिकामा पनि १५ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उक्त शीत भण्डार निर्माणका लागि कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा निर्माणको काम सुरु गरेको हो । कुल लागतको ३० प्रतिशत रकम सहकारी संस्थाले व्यहोर्ने गरी शीत भण्डार निर्माण गर्न मन्त्रालयले १२ करोड ८३ लाख ७० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

यसैगरी रसुवा जिल्लाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण भइरहेको छ । कुल ३ करोड ७० लाख ३५ हजार रुपैयाँ लागतमा शीत भण्डार निर्माणको काम अघि बढाइएको हो ।

यस्तै, कुल ५ करोड ३० लाख ८० हजार रुपैयाँ लागतमा सिन्धुलीको सुनकोसी गाउँपालिकामा मुकुटेश्वर बहुउद्देश्य कृषि सहकारी संस्था लिमिटेडसंगको साझेदारीमा ५ सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

५ सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माणका लागि कुल ५ करोड ३५ लाख १७ हजार रुपैयाँ लागतमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–७ मा गोल्मुथान कृषि सहकारी संस्थासँगको साझेदारी काम भइरहेको छ भने सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाको पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रकटन क्षमताको शीत भण्डार निर्माणका लागि कुल ५ करोड ३५ लाख ४९ हजार रुपैयाँ लागतमा काम भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जिरी कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा दोलखाको जिरी नगरपालिका वडा नम्बर–५ मा कुल ५ करोड ३७ लाख १६ हजार रुपैयाँ लागतमा ५ सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण गरिरहेको छ ।

रामेछापको मन्थली नगरपालिकामा ५ सय मेट्रिकटन क्षमताको शीत भण्डार कुल ५ करोड ३० लाख ९५ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको छ ।

यसैगरी मन्त्रालयले दुईवटा नगरपालिकामा सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा ५० प्रतिशत रकम मन्त्रालयले बेहोर्ने गरी दुई ठुला शीत भण्डार निर्माण गरिरहेको छ । 

नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर–५ र बेलकोटगढी नगरपालिका वडा नम्बर–१० मा ५ हजार मेट्रिक टन क्षमताका शीत भण्डार निर्माणका लागि मन्त्रालयले ५० प्रतिशत र साझेदार संस्था र निजी कम्पनीको ५० प्रतिशत लगानीमा काम भइरहेको मन्त्रालयले जनाएको छ ।

बिदुर नगरपालिकामा साझेदार संस्था र मन्त्रालयको कुल २१ करोड ५२ लाख ८१ हजार रुपैयाँ र बेलकोटगढी नगरपालिकामा कुल २० करोड १२ लाख ७४ हजार रुपैयाँ लागतमा शीत भण्डार निर्माण कार्य भइरहेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप