शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुसी खोपको मूल्यमा कुरो मिलेन, अनुदान माग्दै सरकार

बुधबार, २२ वैशाख २०७८, १४ : ०६
बुधबार, २२ वैशाख २०७८

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र रुसबाट आएको प्रतिनिधिमण्डलको टोलीबीच नेपालमा रुसी खोप ल्याउने सहमति भएको भनिए पनि रुसी खोप आउनेबारे अझैसम्म टुङ्गो लाग्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रुसी राजदूतसँग यसबारे छलफल गरे पनि परिणाम हात लागेको छैन ।

वैशाख १५ गते बुधबार मस्कोबाट आएको प्रतिनिधिमण्डल र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबाट ८० लाख डोज रुसी भ्याक्सिन किन्ने अनौपचारिक सहमति भएको थियो । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मूल्यको विषयमा छलफल भइरहेको र यसबारे केही दिनमै निर्णय हुने बताएका थिए ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १७ गते बालुवाटारमा रुसी राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा नेपालले ‘स्पुतनिक–भी’ खोप प्रयोगका लागि अनुमति प्रदान गरिसकेको बताएका थिए । प्रधानमन्त्री ओलीले रुसबाट खोप ल्याउनेबारे सहजीकरण गरिदिन राजदूतसमक्ष आग्रह गरेका थिए ।       

​नेपालले खोप उत्पादक देशकै उच्चस्तरीय प्रतिनिधिसँग खरिद गर्ने सहमति गरेको भए पनि मुल्यमा कुरा नमिल्दा औपचारिक सम्झौता हुन सकेको छैन । रुसमा निर्मित कोरोनाविरुद्धको खोप ‘स्पुतनिक–भी’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकिएको छ ।

वैशाख ७ गते स्वास्थ्य सेवा विभागले उक्त खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको थियो । त्यसलगत्तै खोप निर्माता कम्पनीका प्रतिनिधि नेपालमा नै आइ खोप बिक्रीबारे छलफल गरेका थिए ।

अहिले नेपालले भारतसँग खरिद गरेको मूल्यभन्दा महङ्गो मूल्यको प्रस्ताव आएकाले तत्काल निर्णय नगरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले रातोपाटीसँग भने, ‘केही महङ्गो गरी प्रस्ताव आएको छ, हामीले मूल्य घटाउन आग्रह गरेका छौँ । केही डोज खोप नि:शुल्क उपलब्ध गराउन पनि भनेका छौँ । अब केही दिनमै निर्णय होला सायद ।’

​स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने छलफल भए पनि कुनै निर्णय भने नभएको बताउँछन् । उनले भने, ‘रुसी खोप खरिद गर्नका लागि छलफल भएको हो । तर, कुनै निर्णय भने भइसकेको छैन । यसबारे थप जानकारी मलाई छैन, मन्त्रीज्यूलाई नै सोध्नुपर्ला कि ।’

मन्त्रालय स्रोतका अनुसार सरकारले रुससँग सहुलियतमा खोप उपलब्ध गराउन आग्रह गरेको छ । हालको प्रस्तावित मुल्य महङ्गो भएको भन्दै केही अनुदानमा र बाँकी खोप सहुलियत मुल्यमा उपलब्ध गराउन सरकारले आग्रह गरेको छ । रुसी दूतावासमार्फत् रुस सरकारलाई पत्र लेखेर नै अनुदान र सहुलियतमा खोप उपलब्ध गराउन माग गरिएको छ ।

नेपालका १८ वर्षमाथिका २ करोड १४ लाख जनसङ्ख्यालाई खोप लगाउने सरकारको योजना छ । रुसले ८० लाख खोप दिएको अवस्थामा ४० लाख जनसङ्ख्यालाई दुई डोज खोप दिन मिल्छ ।

नेपालले राम्रोसँग पहल गरेको अवस्थामा रुसले नेपालका लागि आवश्यक सबै खोप दिन सक्ने हैसियत भए पनि सरकार खोपको मुल्य महङ्गो भएको भनेर अल्झिँदा रुसी खोपको अन्योल नहटेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप