बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्ध एक योद्धा जसले सम्हालेका छन् कोशी कोभिड अस्पताल

भन्छन्– चुनौतीलाई अवसरमा बदल्नुको विकल्प छैन
बुधबार, २२ वैशाख २०७८, १३ : ३०
बुधबार, २२ वैशाख २०७८

विराटनगर । कोरोनाविरुद्धको अभियानमा पहिलो योद्धा भनेकै स्वास्थ्यकर्मी हुन् । संक्रमण दर उच्च रहेको यो अवस्थामा बिरामीका लागि डाक्टरसहितका स्वास्थ्यकर्मीको साथ र माया नै बाँच्नका लागि ठुलो हौसला बन्ने गरेको छ । चिकित्सकसहित स्वास्थ्यकर्मीले पछिल्लो समय अस्पताललाई नै घर ठानेर कोरोना संक्रमितको उपचारमा दिनरात खटिरहेका छन् ।

प्रदेश १ को राजधानी विराटनगर क्षेत्रमा कोरोना संक्रमण समुदायमा फैलिएको छ । त्यसैले प्रदेश १ का कोरोना संक्रमितको उपचारका लागि कोशी अस्पतालले कोभिड–१९ डेडिकेटेड अस्पताल तयार गरेको छ ।

प्रदेश १ मा सबैभन्दा पहिला स्थापना गरिएको विषेश कोभिड अस्पतालका संयोजक हुन् डा. दीपक सिग्देल । पूर्वी नेपालमा आफूलाई अब्बल डाक्टरका रुपमा स्थापित गरेका सिग्देलकै काँधमा आएको छ प्रदेश १ को कोरोनाविरुद्धको एउटा लडाइँको मोर्चा सम्हाल्ने जिम्मेवारी । यसअघि संक्रमणको पहिलो लहर फैलिँदा पनि उनले नै मोर्चा सम्हालेका थिए ।

कोभिड–१९ डेडिकेटेड अस्पतालमा उपचारका लागि आउने संक्रमितको संख्या शून्यमा झरेपछि सेवा बन्द गरिएकोमा संक्रमणको दोश्रो लहर तीव्र गतिमा बढेसँगै चैत २४ देखि अस्पतालको सेवा सुचारु गरी विरामीको उपचार थालिएको छ । दोश्रो लहर चाहिरहँदा यो अस्पतालमा पूर्वी नेपालमा ४१ संक्रमित भर्ना भएर उपचार गराइरहेका छन् । तीमध्ये तीन जनालाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

प्रदेश सरकारले विराटनगर–१० स्थित अस्पतालमा गम्भीर खालका संक्रमितको उपचारका लागि कोभिड १९ उपचार केन्द्र सञ्चालन गरेको हो । जसमा ८३ बेडको अक्सिजनसहितको सेवा छ भने १० वटा भेन्टिलेटर छन् ।

अहिले कोभिड–१९ उपचार केन्द्रमा अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने संक्रमितलाई मात्र भर्ना लिने गरिएको छ । कोरोना समुदायमा गएसँगै लक्षणसहितका संक्रमित बढेका छन् । लक्षणसहितका संक्रमित भेटिएसँगै सिग्देलसहितको स्वास्थ्यकर्मीलाई चुनौती पनि बढेको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र सञ्चालनका लागि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास, डाक्टर दीपक सिग्देल, डाक्टर डेन आचार्य, डाक्टर रूपेश गामी सम्मिलित विशेषज्ञ टिम बनाएको छ ।

अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र बैजनाथ शाह सम्मिलित व्यवस्थापन टिम निर्माण गरिएको छ ।

हौसला दिँदै ड्युटी

पहिलो चरणको महामारीको सामना गरिसकेका कारण उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमा त्रास कम छ । निजी अस्पतालमा बेड अभाव भएपछि सरकारी अस्पतालले नै चाप धानिदिनुपर्ने बाध्यता आइपरेको छ । 

कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा सिग्देलले कोरोनाविरुद्धको लडाइँबारे रातोपाटीसँग भने, ‘एकअर्कालाई हौसला दिएर संक्रमितको सेवामा जुटिरहेका छौं ।’

पहिलो लहरको महामारी सामना गरिसकेका कारणले पनि विगतको अनुभवले उपचारसँगै व्यवस्थापनमा पनि सहज भएको उनले सुनाए । सुरुवाती चरणभन्दा अहिले काम गर्न धेरै सजिलो भएको उनको भनाइ छ । तर अर्कोतर्फ लक्षणसहितका संक्रमितहरु बढेसँगै जोखिम पनि उत्तिकै बहन गर्नुपर्ने अवस्था रहेको उनले सुनाए ।

कोरोना समुदायसम्म पुगेको विषम परिस्थितिमा दिनहुँ धेरै संक्रमित अस्पताल आउने क्रम बढेको उनको अनुभव छ ।

‘जटिल स्वास्थ्य अबस्था लिएर संक्रमितहरु अस्पताल आउने क्रम अप्रत्याशित रुपमा बढेको छ’ डा सिग्देल भन्छन्, ‘जनस्वास्थ्यबारे अध्ययन गरेको र रुचिको विषय भएकोले मलाई संक्रमणको सम्भावनाबारे तयारी गर्न सहज भएको छ । टिमवर्क र सबैको सहयोगका कारण व्यवस्थापन गर्न सकेको छु ।’

कोरोनाविरुद्ध लडौँ

कोरोनाविरुद्धको फ्रन्टलाइनमा यस अघिपनि दश महिनादेखि कोभिड–१९ उपचार केन्द्रको चिकित्सकीय नेतृत्व उनै डा सिग्देलले सम्हालेका थिए । दोश्रो लहर सुरु भएसँगै त्यो जिम्मेवारी फेरि उनैको काँधमा आइपरेको छ । अहिले उनी कोभिड १९ उपचार केन्द्रमा हरहमेसा खटिरहेका भेटिन्छन् ।

उनका परिवारका सदस्य पनि अहिले उनीसँगै विराटनगरमै छन् । जसका कारण उनको दैनिकीमा केही सहजता भने थपिएको छ । तर पनि क्वार्टरमा परिवारसँगै रहेकाले कोरोनाविरुद्धको लडाइँको अग्रमोर्चामा लागिरहँदा परिवारको चिन्ता लाग्ने गरेको उनले बताए ।

‘तर अहिले सबै कुरा बिर्सेर कोरोनाविरुद्धको लडाइँमा जुट्ने समय हो’, उनले भने । पहिलो लहरमा प्रदेश सरकारले कोभिड अस्पतालमा कार्यरत चिकित्सको टिमलाई होटलमा राखेको थियो । तर यो पटक प्रदेश सरकारले त्यस्तो व्यवस्था गरेको छैन । ‘माग  गरिरहेका छौं,’ डा सिग्देलले भने, ‘उपचारमा खटिने स्वास्थ्यकर्मीमा परिवार र समाजको चिन्ता हुनु स्वाभाविक हो ।’

उनले त्रासको समयमा काउन्सिलिङको आवश्यकता पर्ने सुझाए । बेला बेला आफैँ अन्य स्वास्थ्यकर्मीहरुलाई आवश्यक काउन्सिलिङ गर्दै कोरोनाविरुद्ध मोर्चामा खटिन हौसला दिइरहेको उनले बताए ।

डा. सिग्देलका अनुसार कोभिडका बिरामीको उपचारमा १५ जना सिनियर र अन्य जुनियर चिकित्सकसहितको २४ जनाको टिम बनाएर उपचारमा खटिएका छन् । त्यसमा ५४ जना नर्स पनि छन् । दैनिक पाँचजना स्वास्थ्यकर्मीको टिमले संक्रमितको स्वास्थ्य अवस्थाको जानकारी दिएर आवश्यकताअनुसार उपचार व्यवस्था मिलाउने गरिएको छ । कोभिड अस्पतालमा खटिने सबै स्वास्थ्यकर्मी तालिम प्राप्त छन् ।

अस्पतालमा खटिएका स्वास्थ्यकर्मीको टिमले कोरोना विरुद्धको खोपको दुवै डोज पूरा गरेका छन् । डा सिग्देल भन्छन्, ‘दुवै डोज खोप लगाएका कारण पनि टिममा खटिने चिकित्सको आत्मबल दह्रो छ । खोपले आत्मविश्वास बढाएकोले बिरामीको उपचारमा खट्न ऊर्जा थपेको मैले महसुस गरेको छु ।’

कोभिड अस्पतालको ड्युटीमा रहेका चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई अहिले ३ दिन काम गरेपछि एक दिन बिदाको व्यवस्था गरिएको छ । ड्युटीमा खटिएको स्वास्थ्यकर्मीमा कुनै स्वास्थ्य समस्या आएको खण्डमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

पहिला भने ७ दिनसम्म ड्युटीमा रहेका स्वास्थ्यकर्मी १४ दिन क्वारेन्टिनमा गएर बस्ने गरेका थिए । थप सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम थियो । यसरी २१ दिनमा उनीहरु पुनः आफ्नो काममा फर्किन्थे ।

फेरिएको दैनिकी

तीन सातायता फ्रन्टलाइनका प्रमुख सिपाही डाक्टर सिग्देलको दैनिकी पनि फेरिएको छ । त्रासलाई अवसरमा बदलेर उनले जतिसक्दो धेरै आफ्नो दैनिकी कोरोनाविरुद्धको अभियानमा केन्द्रित गरेका छन् ।

पछिल्ला समय कोरोनाको संक्रमण दर उच्च भएसँगै अस्पतालमा बिरामी पनि दैनिक थपिँदैछन् । आफ्नो क्वार्टरमा परिवारसँगै सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनी बिहान ८ बजे उपचारमा निस्कन्छन् । उपचार सकेर फर्कंदा रातको ९–१० बज्छ ।

‘मेरो बेलुकाको खाना प्रायः १० बजेपछि हुन्छ, बिहान खाना खाएर ड्युटीमा निस्कन्छु,’ वरिष्ठ फिजिसियन डा सिग्देल भन्छन्, ‘विगत ३ महिनादेखि परिवार मसँगै छन् । परिवार सँगै भएकाले भात–भान्साको तयारी आफैंले गर्न परेको छैन, त्यसले थप सजिलो बनाइदिएको छ ।’

कोरोनाको पहिलो लहरमा आफू क्वार्टरमा एक्लै रहेकाले त्यो बेला समय व्यवस्थापनमा पनि धेरै समस्या हुने गरेको उनले स्मरण गरे ।

उनको यसअघिको दैनिकी पनि सधैं धपेडीमै बित्थ्यो । बिहान बेलुका क्लिनिकमा र दिउँसो कोशी अस्पतालमा बिरामी हेर्थे । आजकल धपेडी त छ नै, जोखिम पनि मोल्दैछन् ।

उनी आफनोभन्दा बढी बिरामीको चिन्ता गरेर निर्भिकतासाथ कोरोनाविरुद्धको युद्धमा होमिएका छन् । उनी कोराना अस्पतालमा उपचाररत संक्रमितको उपचारमा खटिएपछि बाँकी समय कोशी अस्पतालमा पुगेर त्यहाँ आएका बिरामीको सेवामा पनि जुट्ने गर्दछन् ।

‘कोशी अस्पतालको प्रदान गर्ने सबै प्रकारको स्वास्थ्य सेवाको  सुचारु अवस्थामा छ,’ डा सिग्देल भन्छन्, ‘कोशीमा पनि फिभर क्लिनिकमा दैनिक सयभन्दा बढी बिरामी आउने गरेका छन् ।’ उनीहरुको स्वास्थ्य अवस्था हेरेर आवश्यक उपचारमा खट्ने कार्य निरन्तर जारी रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप