बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोभिड–१९ खोप उत्पादनको अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह

मङ्गलबार, २१ वैशाख २०७८, २३ : ११
मङ्गलबार, २१ वैशाख २०७८

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ति अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन् ।

डब्लुएचओका प्रमुख गेब्रेयससले सोमबार पत्रकार सम्मेलनमा भने , “यदि धेरै व्यक्तिलाई खोप लगाई  सामूहिक प्रतिरोधात्मक क्षमता विकास गर्ने हो भने हामीसँग अहिले उपलब्ध खोप भन्दा धेरै बढी खोप चाहिन्छ ।” “खोपको उत्पादन क्षमता बृद्धि हुनुपर्दछ । र यसका निम्ति बौद्धिक सम्पत्ति (आइपी) अधिकारको माफी अति आवश्यक छ,” उनले के यो परोपकारी मुद्दा होइन भन्दै खोप निर्माणलाई व्यापकता दिनुपर्नेमा जोड दिए ।

त्यसैगरी बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले भने, “अफ्रिका र विश्वका अन्य भागहरूमा खोप उत्पादनको लागि खोपको आइपी अधिकारको अस्थायी रूपमा निलम्बन अत्यावश्यक भइसकेको छ ।” 

दक्षिण अफ्रिका र भारतलगायत धेरै देशहरूले विश्वव्यापी रूपमा उत्पादनका लागि कोभिड–१९ खोपहरूको आइपी अधिकार अस्थायी रूपमा निलम्बन गर्न आग्रह गरेका छन् । गत हप्ता विश्व व्यापार संगठनले आइपी अधिकार माफीको बारेमा छलफल चलाएको थियो तर जेनेभामा यस सम्बन्धी अहिलेसम्म कुनै समाचार प्राप्त भइसकेको छैन । 

बेलायतले सन् २०२१ मा जी–७ राष्ट्रहरुको समूहको अध्यक्षता गरेको छ । आगामी जुन महिनामा बेलायतले जी–७ राष्ट्रको शिखर सम्मेलनको आयोजना गर्नेछ । टेड्रोस र ब्राउन दुबैले जी–७ सम्मेलनले आइपी अधिकारको अस्थायी माफीलाई कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गरे ।
“अर्को महिना जी–७ देशका नेताहरूको बैठक इतिहासको सबैभन्दा महत्वपूर्ण बैठक हुन सक्नेछ,” टेड्रोसले भने । जी–७ देशहरू विश्वका आर्थिक र राजनीतिक रूपमा शक्तिशाली मानिन्छन् । उनीहरू विश्वका धेरै खोप उत्पादन गर्ने मुलुकहरू पनि हुन् । 

“यदि हामी अहिले यसलाई प्रयोग गर्न सक्दैनौं भने कहिले सक्छौं ?” भन्ने प्रश्न गर्दै डब्ल्यूएचओ प्रमुखले कोभिड–१९ को खोप उत्पादन जतिसक्दो चाँडो बढाउने सबै विकल्प प्रयोग गर्नु पर्नेमा जोड दिए ।
“आइपी अधिकार माफीको प्रावधान यस्तै आपतकालीन अवस्थाका लागि हो र यो अभूतपूर्व उपाय हो,” उनले भने । बेलायती पूर्व प्रधानमन्त्री ब्राउनले थपे, “उनीहरूले सामूहिक रूपमा अस्थायी माफीलाई समर्थन गर्ने निर्णय लिन सकेमा कोभिड–१९ महामारी नियन्त्रणमा यो ठूलो उपलब्धि हुनेछ ।” –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप