शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटका तीन स्थानमा कोभिड अस्पताल सञ्चालन

मङ्गलबार, २१ वैशाख २०७८, २० : २५
मङ्गलबार, २१ वैशाख २०७८

कोरोना महामारीको दोश्रो लहरमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको अवस्थामा रौतहटको तीन स्थानमा सुविधासहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

जिल्ला अस्पताल गौरमा पछिल्लो एक साताभित्र गरिएको ३६८ जनाको पीसीआर परीक्षणमा १८३ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।

मंगलबारको तथ्याङ्कअनुसार जिल्लाको १८ स्थानीय तहमध्ये बृन्दावन र राजपुर नगरपालिकामा मात्र संक्रमितको संख्या शून्य छ । बाँकी १६ तहमा सक्रिय संक्रमित पाईएको छ ।

जिल्ला सदरमुकाम गौर नगरपालिकामा सबैभन्दा बढी ४५ जना कोरोना संक्रमित पुष्टि भएको छ भने दोस्रो स्थानमा रहेको चन्द्रपुरमा ३४ जना संक्रमित भेटिएका छन् ।

जिल्लामा संक्रमितको संख्या बढ्दै जाँदा सीसीएमसी बैठकको निर्णयअनुसार मंगलबारदेखि जिल्लाको तीन स्थानमा कोभिड अस्पताल सञ्चालनमा आएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । जिल्ला अस्पताल गौरमा अक्सिजनसहित १५ बेडको एचडियु, आईसियु र चारवटा भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालन भएको उनको भनाइ छ ।

त्यसैगरी गौर नर्सिङ क्याम्पसमा १० बेड र चन्द्रपुरमा ४६ बेडको कोभिड अस्पताल मंगलबारदेखि सञ्चालनमा आएको छ ।

चन्द्रपुर कोभिड अस्पताल सञ्चालन गर्न चन्द्रपुर, बृन्दावन, गुजरा र गढीमाई गरी चारवटा नगरपालिकाले लगानी गरिरहेको चन्द्रपुरका प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी यादवले अतिआवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन रौतहटवासीलाई आग्रह गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना महामारी तीव्ररुपमा फैलिरहेकाले आवतजावत नगर्न उनले अपिल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप