त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीड

काठमाडौं । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरूको भीड बढेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाइ उडान सुचारु थियो ।
आन्तरिक तर्फको सम्पूर्ण उडान आज(२१ गते) बाट तोकिएको छ भने अन्तर्राष्ट्रिय उडान आगामी २३ गतेबाट रोकिँदैछ । अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भीड विमानस्थलमा बढेको छ । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लागेका छन् ।
कोरोनाको संक्रमण झन बढ्दै गएपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी पनि गरेको छ । १६ गतेदेखि एक हप्ताको लागि जारी भएको काठमाडौंको निषेधाज्ञा पुनः एक हप्ता थप्ने तयारी सरकारको छ । काठमाडौं उपत्यकाबाहिर देशैभर ४० बढी जिल्लामा निषेधाज्ञा जारी भएको छ ।