शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रमिकको तलब बढाउने निर्णयप्रति निजी क्षेत्रको किन असन्तुष्टि ?

मङ्गलबार, २१ वैशाख २०७८, १५ : ३३
मङ्गलबार, २१ वैशाख २०७८

सरकारले आगामी साउन १ गतेबाट लागु हुने गरी श्रमिकको न्युनतम पारिश्रमिक बढाउने निर्णय गरेपछि निजी क्षेत्रले असन्तुष्टि जनाएको छ । सरकारको निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमै प्रकाशित गरिसकेको छ । सरकारी निर्णयअनुसार अब श्रमिकले न्यूनतम १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउनेछन् । 

मन्त्रालयले पहिले भएको न्युनतम पारिश्रमिकमा महँगी भत्ता बढाएर संसोधन गरेको जनाएको छ ।  संसोधित पारिश्रमिकका अनुसार  मासिक १५ हजारमा महँगी भत्ता ५ हजार ६ सय १५ रुपैयाँ तोकिएको छ । यस्तै दैनिक पारिश्रमिकमा ३ सय ६१ रुपैयाँ आधारभूत पारिश्रमिक  र  २ सय १६ रुपैयाँ महँगी भत्ता सहित ५ सय ७७ रुपैयाँ रहेको यस्तै घण्टाको हिसाबले काम गर्ने श्रमिकलाई ४८ रुपैयाँ आधारभूत पारिश्रमिक र महँगी भत्ता २९ रुपैयाँ सहित ७७ रुपैयाँ पारिश्रमिक पाउनेछन् । 

श्रम मन्त्रालयका प्रवक्ता दीपक काफ्लेका अनुसार न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने कुरालाई मध्यनजर गर्दै पहिले भएको न्यूनतम पारिश्रमिकलाई पुन संसोधन गरिएको हो । उनले भने , ‘पहिले भएकोमा महँगी भत्ता थप गरेका छौ र आधारभूत पारिश्रमिकलाई पनि पुनरावलोकन गर्ने गरेर १५ हजार रुपैयाँ मासिक पारिश्रमिक भनेर सरकारको निर्णय अनुसार राजपत्रमा सुचना प्रकाशित गरेको हो । ’

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम मासिक तलब १५००० हजार, दैनिक ५७७ र घण्टाको ७७ रुपैयाँ पुग्ने बताएपछि मन्त्रालयले सोही अनुसारको सूचना निकालेर कार्यान्वयनको मिति तोकेको हो । तर चिया बगानका श्रमिकको हकमा भने यो लागु हुदैन । मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरेर पारिश्रमिक तोकेको जनाएको छ । यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रूपैयाँ तोकिएको  थियो । 

निजी क्षेत्र किन असन्तुष्ट ?

आफूहरुको सहमति बिनै न्यूनतम पारिश्रमिक तोकेको भन्दै निजी क्षेत्र रुष्ट बनेका हुन् ।  रोजगारदाता परिषद, श्रमिक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच यस अघि पटक पटक पारिश्रमिक निर्धारण गर्ने विषयमा छलफल भए पनि त्यसले अन्तिम रुप पाएको थिएन । तर अहिले सरकारले एकलौटी ढंगले निर्णय गरेको उनीहरुको आरोप छ । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लकडाउन तथा निषेधाज्ञाले उद्योगहरुको आफ्नो व्यवसायमा असर गरिरहेको बेला अहिले तलब वृद्धि गर्नु उपयुक्त नभएको बताए । यसै विषयलाई लिएर आजै मात्र तीन वटा छाता संगठनको बैठक बसेको र आजै साँझ आवश्यक निर्णय गर्ने मल्लले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप