शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमिक शेरचनको टिप्पणी–अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा धन्यवाद !

राष्ट्रपति, प्रधानमन्त्री बन्ने प्रस्ताव आउँदा इन्कार गरेको व्यक्ति हुँ’
मङ्गलबार, २१ वैशाख २०७८, ११ : २५
मङ्गलबार, २१ वैशाख २०७८

गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले पदमुक्त भएकोमा अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिएका छन् । उनले मंगलबार एक वक्तव्य जारी गर्दै आफूलाई बर्खास्त गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि धन्यवाद ज्ञापन गर्दै प्रदेश प्रमुख पदलाई अधिकारविहीन खुला जेलको संज्ञा दिएका छन् । 

‘पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओली जी र पुनः प्रचण्डजी मार्फत ओलीजीको प्रस्ताव मैले अस्विकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वीकारेको पद हो यो’, शेरचनले विज्ञप्तिमार्फत भनेका छन्, ‘अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यवाद।’

उनले आफूले पदको लागि राजनीति नगरेको भन्दै विगतमा पछि पदका लागि थुप्रै अफर आएको तर आफूले अस्वीकार गरेको दावी गरेका छन् । ‘पूर्व राष्ट्रपति डा रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्विकार गरेँ । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ’, उनले भनेका छन्, ‘पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ ।’

मनमोहन अधिकारीको निधन पछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि आफूले स्वीकार नगरेको भन्दै उनले पद र सत्ताको लागि असंवैधानिक पद्धती र अपाच्य दृश्यहरु थोपर्ने व्यक्ति आफू नभएको उल्लेख गरेका छन् । 

उनले आफूलाई निष्कलंकित नेताको रुपमा चित्रण गर्दै भनेका छन्, ‘नत अरबौं कमिशन र भ्रष्टाचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डिजीलाई पदबाट बर्खास्त गरेको जिउँदो उदाहरण छ मसँग । भ्रष्टाचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोगी व्यक्ति पनि होइन म, बरु बैदेशिक हस्तक्षेप सन्धि सम्झौता र भ्रष्टचार विरुद्धका संघर्षहरूमा चार वर्ष जति जेल यातना र हजारौं पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ’, उनले भनेका छन् । 

उनले प्रदेश प्रमुख रहँदा आफूले संवैधानिक मर्यादालाई पूर्णपालना दावी गर्दै कुनै पनि पार्टी विशेषको प्रभाव र छायामा काम नगरेको बताएका छन् । 

यस्तै उनले देश कोरोनाले आक्रान्त बनेको बेला पार्टी–पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको भन्दै आक्रोश पोखेका छन् । 

 लोकतन्त्र र संघीयता धरापमा पर्न नहुनेमा जोड दिँदै शेरचनले यसका लागि पक्षधरताहरु बीचको सहकार्य र एकता हुनुपर्नेमा जोड दिएका छन् । 
उनले आफ्नो १८ महिने कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप