शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निफ महोत्सवमा अनुराग

मङ्गलबार, २१ वैशाख २०७८, ११ : ०२
मङ्गलबार, २१ वैशाख २०७८

भारतीय चर्चित निर्देशक अनुराग कश्यपले आफ्नो फिल्मबारेको अनुभव सबैमाझ राख्ने भएका छन् । २३ वैशाखदेखि २७ सम्म आयोजना हुन लागेको चौथो निफ महोत्सवमा उनले आफ्नो फिल्मी अनुभव शेयर गर्न लागेका हुन् ।
चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको महोत्सव उद्घाटन पछिको पहिलो सत्रमा उनले आफ्ना अनुभव बाँड्ने छन् । कोरोनाका कारण भर्चुअल माध्यमबाट हुन लागेको महोत्सवको पहिलो दिनको दिउँसो ३ः३० बजेबाट करिव डेढघण्टा अनुरागलाई सुन्न पाइने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।

उनका अनुसार दोस्रो दिनदेखि फिल्म सम्बन्धी विभिन्न विषयमा छलफल र बहस हुनेछन् । 
अनुराग भारतीय चलचित्र उद्योगमा लेखक, निर्माता, अभिनेता र सम्पादकका रुपमा परिचित छन् । उनले सन् २०१२ मा निर्देशन गरेको चलचित्र ‘ग्याङ्स अफ वासेपुर’ फ्रान्सको ‘क्यान्स फेस्टिभल’ को ‘डाइरेक्टर्स फोर्टनाइट’ मा प्रदर्शन भएपछि उनको चर्चाले व्यापकता पाउन थालेको हो । 

अस्कर अवार्डमा मनोनित ‘वाटर २००५’ मा हिन्दी संवाद, ‘ब्ल्याक फ्राइडे’, ‘गुलाल’, ‘देव डी’, ‘द्याट गर्ल इन येल्लो बुट्स’ र ‘लन्च बक्स’ लगायतका फिल्ममा सहभागिता र तिनले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा प्राप्त गरेको सफलताले उनलाई झनै स्थापित गर्न सघाउ पु-यायो ।

अध्यक्ष पाठकले महोत्सवमा सहभागी फिल्महरु नेट टेलिभिजनबाट प्रसारण गरिने जानकारी दिए । 
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ आयोजना हुन लागेको निफ फिल्म संस्कृतिको विकास गर्ने उद्देश्यसहित सुरु गरिएको हो । 
‘नेपाली फिल्म र फिल्मकर्मीलाई विश्वको चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने, चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरी फैलाउने गरी नेपालमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्दै आएका हौं’ पाठकले थपे ।

यो वर्ष महामारीको विषयमा बनेका चलचित्रलाई अलग्गै विधामा प्रतिस्पर्धा गराइनेछ । कोरोनाले प्रभावका विषयमा बनेका चलचित्रले पाँच सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै, महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७ सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई पाँच सय डलर राशिको वाग्मती अवार्ड प्रदान गरिनेछ । त्यसैगरी, नेपाली प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार रुपैयाँ र फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँंकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने पाठकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप