आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दलित आयोगका उपाध्यक्षविरुद्ध जसपा नेतृले गरिन् प्रहरीमा उजुरी

मङ्गलबार, २१ वैशाख २०७८, १० : १८
मङ्गलबार, २१ वैशाख २०७८

प्रदेश नम्बर २ मा नवगठित दलित आयोगका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध जनता समाजवादी पार्टी (जसपा) की नेतृले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । उजुरीमा उपाध्यक्ष बैठाले यौनजन्य हिंसा गरेको आरोप लगाइएको छ ।

प्रदेश २ सरकारले गत चैतमा दलित आयोगमा गठन गरेर रामप्रवेश बैठालाई उपाध्यक्ष चयन गरेको थियो । उनै उपाध्यक्ष रामप्रवेश बैठा र सत्तारुढ जसपा नेपालकी प्रदेश नम्बर २ की प्रदेश सदस्य ललिता दासबीच फेसबुक म्यासेन्जरबाट सुरु भएको विवाद प्रहरी कार्यालयसम्म पुगेको हो ।

जसपा नेतृ ललिताले उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध बैशाख ९ गते सिराहास्थित ईलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । बैठाले आफ्नो चरित्रहत्या हुने गरी च्याटमार्फत अपशब्द प्रयोग गरेको भन्दै आरोपित पक्राउ गर्न ललिताले माग गरेकी छिन् ।

बैठासँग आफ्नो पुरानो चिनजान रहेकाले कुराकानी हुने गरेकोमा चैत ९ गते राति ११ बजे सपथ ग्रहणमा आउन म्याजेन्जरबाट आमन्त्रण गरेको ललिताले उजुरीमा उल्लेख गरेकी छिन् । त्यसक्रममा म्यासेज पठाएर अनुचित आग्रह गरेको र आफूले अस्वीकार गर्दा गाली गलौच गरेको ललिताले आरोप लगाएकी छिन् ।

उपाध्यक्ष बैठाको यस्तो गलत क्रियाकलापले आफ्नो परिवारमा पति–पत्नीबीचको दाम्पत्य जीवनसमेत धरापमा पर्न लागेकाले उपाध्यक्ष बैठालाई तत्काल पक्राउ गरेर घटनाको सत्यतथ्य छानविन गरी कारवाही गर्न उनले माग गरेकी छिन् ।

प्रदेशले दलितको सशक्तीकरणका लागि दलित आयोग गठन गरेको र जसपाबाटै नियुक्ति पाएका बैठाले आफ्नै पार्टीकी सहकर्मी महिला नेतृमाथि कुनियत राखेको ललिताले बताइन् । बैठामाथि कारवाही गर्न जसपाभित्र माग गर्दा कुनै चासो नलिएपछि बाध्यात्मक अवस्थामा आएर आफू प्रहरीमा उजुरी दिन पुगेको ललिताले बताइन् ।

उपाध्यक्ष बैठाले फेसबुक म्यासेन्जरमा भएको कुराकानीका क्रममा आफूले ललितालाई गालीगलौज गरेको स्वीकार गरेका छन् । तर, आफूले उनलाई कुनै पनि किसिमको गलत प्रस्ताव नगरेको बताए । बैठाले भने, मेहनती र जुझारु महिला भएकै कारण आफूले उनलाई आयोगको सदस्यमा नियुक्त गर्न सिफारिससमेत गरेको छु । आफूलाई विभिन्न बहानामा तनाव दिँदै आएका कारणले गर्दा आफूसँग भएको च्याटका क्रममा मबाट अपशब्द प्रयोग भएको हो । तर, आपूmले कुनै पनि किसिमको प्रस्ताव गरेको छैन ।’

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक तपन दाहालले रामप्रवेश बैठाविरुद्ध उजुरी दर्ता भएको भन्दै छानविन अगाडि बढाएको जानकारी दिए । उनले दुबै पक्षलाई बोलाएर छलफलको माध्यमबाट समाधान खोज्ने प्रयास गर्ने बताए । छलफलबाट समस्या सामाधान नभए कानूनी प्रक्रिया अघि बढाइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप