बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ ललितपुरको च्यासलमा स्थानीयले बनाएको आइसोलेसन सेन्टर (फोटोफिचर)

मङ्गलबार, २१ वैशाख २०७८, १० : ११
मङ्गलबार, २१ वैशाख २०७८

ललितपुरको च्यासलमा स्थानीयको सहयोगमा आइसोलेसन सेन्टर निर्माण भएको छ । च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाइएको छ । च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यन्जनकारका अनुसार स्थानीयबाट सहयोग रकम संकलन गरेर आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।

यहाँ सोमबारसम्म ५ वटा बेड तयार भइसकेको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिरहेकाले आवश्यक तयारी गरिएको व्यन्जनकारले बताए । ‘८–१० दिनअघि अक्सिजन कम भएर काठमाडौंकै एकजनाले फोन गर्दा मैले ४–५ वटा अस्पतालमा बेडका लागि फोन गरें, तर पाउन सकिएन । अहिलेसम्म हाम्रो टोलमा १ जनालाई मात्रै कोभिड भएको छ । उनको अवस्था पनि गम्भिर छैन । तर, भविष्यमा महामारीले जस्तोसुकै रुप लिनसक्ने भएकाले हामी सचेत भएका हौं,’ व्यन्जनकारले भने,‘ यहाँ डाक्टर समिराको नेतृत्वमा ५ जनाको स्थानीय डाक्टरको टोली छ ।’

महामारीमा अक्सिजनको व्यवस्था गर्नु चुनौतीपूर्ण बन्दै गइरहेकाले स्थानीयलाई सहयोग पु¥याउन आइसोलेसन सेन्टर बनाएको उनले बताए । ‘गाह्रो नै अक्सिजनको व्यवस्था गर्न छ । अहिले हामी अक्सिजन लिनका लागि खाली सिलिन्डर पठाइरहेका छौं । तर कतिवटा भरिएर आइपुग्छ भन्ने थाहा छैन । अहिले हामीसँग भएको अक्सिजन १० दिन पहिलेको हो । अस्पतालको जस्तो व्यवस्था हामीले गर्न सक्दैनौ, यहाँ अक्सिजन दिएर टिकाउनेसम्म हो । अपठ्यारो प¥यो भने त लैजाने अस्पताल नै हो,’ उनले भने ।

अल्का अस्पतालमा आईसीयु, मेडिकल अफिसरका रुपमा कार्यरत डाक्टर समिरा व्यन्जनकारले स्थानीयलाई सहयोग गर्नका लागि अभियान थालिएको बताइन् ।   ‘यो अस्पतालजस्तो होइन, सामान्य अवस्थाका संक्रमितहरुलाई  राख्न बनाइएको हो । कम मात्रामा अक्सिजन आवश्यक पर्ने बिरामीलाई राखेर घरको लोड र अस्पतालको लोड पनि काम गर्नेगरी योजना बनाएका हौं । ती बिरामीहरुलाई बिहान–बेलुकीको सिफ्टमा हेर्ने विचार छ,’ डाक्टर समिराले भनिन्,‘ घरमा बस्दा उहाँहरुले अन्यलाई संक्रमण सार्न सक्ने सम्भावना हुन्छ । डाइबेटिजलगायत रोग भएका हजुरआमा, हजुरबाहरूलाई उहाँहरुले संक्रमण सार्न सक्ने खतरा हुन्छ । त्यसकारण, बिरामीले कसैलाई संक्रमण नसारोस् र आफु पनि सुरक्षितसाथ बसोस् भनेर आइसोलेसन सुरु गरेका हौं । गम्भीर अवस्था निम्तिएमा अस्पताल नै लैजानुपर्ने हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप