शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कारमा मृत फेला परेका ३ बालकको शरीरमा कुनै चोटपटक देखिएन

सोमबार, २० वैशाख २०७८, २२ : ४४
सोमबार, २० वैशाख २०७८

दाङ । तुलसीपुरको स्याउली बजारमा बैशाख १८ गते बेलुका एउटै कार भित्र मृत फेला परेका तीन बालकको शवको पोष्टमार्टम भएको छ । पोष्टमार्टम रिपोर्ट अनुसार तीनै जना बालकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको भन्ने जानकारी आएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताएका छन् ।

दाङमा पोष्टमार्टम गर्ने विशेषज्ञ नभएपछि बुटवलबाट तुलसीपुरमा विशेषज्ञ डाक्टर झिकाएर मृतक तीनै जना बालकको पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टम रिपोर्टअनुसार तीनैजना बालकको शरिरमा कुनैपनि चोट पटक वा घाउ खत नरहेको कुरा जानकारी आएको एसपी चन्दले बताए ।

पोष्टमार्टम रिपोर्टले तीन बालकको मृत्यु कर्तव्य गरि हत्या भएको भन्ने नदेखिएको जानकारी उनले दिए । तर, लक गरि राखेको कार भित्र तीन बच्चा कसरी भित्र पसे भन्ने कुरा रहस्यमय रहेको एसपी चन्दले बताए । एसपी चन्दले भने– ‘चालकले माघ १ गतेदिख कार लक गरि पार्किङमा राखेको हुँ भन्ने बयान गरेका छन्, त्यसो हो भने तीन बालक कसरी कारभित्र प्रवेश गरे त्यो कुरा रहस्यमय छ ।’

प्रहरीले कारको लक तोडेरै तीन बालकको शव बैशाख १८ गते राति मात्रै निकालेको थियो । भारतीय नम्बर प्लेटको पार्किङ कार भित्र तीन बालक मृत अवस्थामा फेला परेपछि घटनाको सही ढंगले अनुसन्धान गर्न सकियोस् भनेर प्रहरीले बाँकेबाट तालिम प्राप्त कुकुर र तालिम प्राप्त प्राविधिक ल्याएको थियो । उनीहरु आएर आफ्नो अनुसन्धान सकेपछि मात्रै प्रहरीले कारको लक फोडेर शवहरु झिकेको थियो ।

कारभित्र मृत भेटिएका तीन बालक तुलसीपुर ६ बरुवागाउँ निवासी ६ वर्षीय करण परियार , ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र ९ वर्षीय सन्दिप परियार रहेको प्रहरीले जनाएको छ । बैशाख १८ गते बेलुका स्थानीयले लामो समयदेखि पार्किङ गरि राखेको कारको सबै बत्तिहरु बलेको देखेपछि किन बत्ति बल्यो ? भनेर हेर्न भनेर गएपछि कारभित्र तीन बालकको शव देखेका थिए । चोट पटकले उनीहरुको मृत्यु भएको हैन भन्ने पोष्ट मार्टम रिपोर्टले देखाएपनि अरु कुन कारणले उनीहरुको मृत्यु भएको हो ? त्यो कुरा रिपोर्टले देखाउन सक्ने प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र बैशाख १८ गते बेलुका तीन मृत अवस्थामा फेला परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप