बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा कोरोना सङ्क्रमण भई निधन भएकाको शव बढ्दै

सोमबार, २० वैशाख २०७८, १९ : ५१
सोमबार, २० वैशाख २०७८

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ । कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । विद्युतीय शवदाह गृहमा तीनवटा शवदाह यन्त्र छन् । यी यन्त्रले नभ्याएपछि हाल वाग्मती किनारमा पनि सङ्क्रमण भई निधन भएकाको शवदाह हुन थालेको छ ।

सङ्क्रमण भई निधन भएकाको चाप विद्युतीय शवदाह गृहमा बढ्न थालेपछि पाँच वटा यन्त्र दाउराबाट जलाउन मिल्ने गरी थप्न लागिएको कोषले जनाएको छ । यी यन्त्र यसै हप्ता तयार भइसक्ने जनाइएको छ । गत वर्ष जेठ पहिलो सातापछि कोरोना सङ्क्रमण भई निधन भएकाको शव विद्युतीय शवदाह गृहमा आउन थालेको थियो । गत वर्ष धेरै शव आएका दिन १५ वटासम्म आउने गरेको थियो ।

यसवर्ष कोरोनाबाट मृत्यु हुनेको दर बढेकाले पशुपतिमा शव आउने क्रम पनि बढेको हो । विद्युतीय शवदाह गृहको एउटा यन्त्र दुई दिनअघिदेखि बिग्रिएका कारण पनि कोरोनाबाट मृत्यु भएकाको शव वाग्मती किनारका अन्य स्थानमा जलाउनु परेको कोषका प्रशासकीय अधिकृत कुमार थापाले जानकारी दिए । बिग्रिएको यन्त्र मर्मत गर्न लागिएको पनि उनले बताए ।

भष्मेश्वर र आर्यघाटमा पनि कोरोनाको दर तीव्र भएसँगै शव आउने क्रम बढ्न थालेको कोषले जनाएको छ । घाटमा सामान्य अवस्थामा निधन भएका ४० वटासम्म शव आउन थालेको छ । भष्मेश्वरमा नौ र आर्यघाटमा दुई गरी ११ घाटमा शवदाह हुने गरेको छ । यी ११ वटै घाटमा दाउराबाट शवदाह हुने गरेको छ ।

विद्युतीय शवदाह गृहमा पौने घण्टादेखि एक घण्टासम्ममा शवदाह हुने गरेको छ । दाउराबाट जलाइने घाटमा तीनदेखि चार घण्टामा शवदाह सकिने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप