नयाँ अध्ययनको दाबी : संक्रमित भइसकेकाले खोपको एक डोज लगाए पुग्छ
पश्चिमा देशहरुमा भएको नयाँ अध्ययनले एकपटक कोरोना जितिसकेका मानिसहरूका लागि खोपको एउटै डोज नै पर्याप्त हुने दाबी गरेको छ । अर्थात्, कोरोना संक्रमित भएर त्यसबाट मुक्त भएका मानिसहरुले खोपको एक डोज लगाए पुग्छ ।
धेरै देशहरुले खोप लगाउने रणनीति बदल्न सक्ने भएकाले यो निकै महत्त्वपूर्ण विषय हो । खोपको अभाव सामना गरिरहेको नेपालसँगै विश्वका धेरै देशका लागि यो वरदान हुनसक्छ । छिमेकी भारतले पनि आफ्नो जनसंख्याका लागि आवश्यक खोप उत्पादन गर्न सकिरहेको छैन र त्यहाँ दोस्रो लहरले ठूलै आतंक मच्चाइरहेको छ । त्यसैले यस अध्ययनले भारतका विशेषज्ञहरूमा आशाको सञ्चार गराएको छ । यस अध्ययनको उद्देश्य के थियो ? यसको नतिजा कस्तो आयो र यसले के परिवर्तन गर्नेछ ?
यो अध्ययन किन भइरहेको छ ? आउनुस् यी सवालबारे सरल भाषामा बुझौँ :
– अहिले विश्वभर नै खोपको अभाव छ । यही समय भाइरसविरुद्ध शरीरको लडाइँबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले नयाँ कुरा पत्ता लगाउँदैछन् । जब मानिसको शरीर कुनै पनि भाइरससँग लड्न सफल हुन्छ, तब एन्टीबडी बन्छ । यो एन्टीबडी दुई तरिकाको हुन्छ । एउटा टी किलर सेल्स हुन्छ, जसले भाइरसलाई खतम गर्छ । अर्को एक एन्टीबडी मेमोरी बी सेल्स हो । यदी भविष्यमा भाइरसले फेरि शरीरलाई हमला गर्यो भने त्यसलाई पहिचान गर्ने र प्रतिरोध प्रणालीलाई सचेत गराउने काम बी सेल्सले गर्छ, ताकि प्रतिरोध प्रणालीले भाइरसलाई समाप्त गर्नका लागि किलर सेल्स बनाउन सुरु गरोस् ।
– जबदेखि कोरोना महामारी फैलियो, तबदेखि नै निको भएका मानिसको शरीरमा एन्टीबडी कति समयसम्म कायम रहन्छ भन्ने विषयमा पनि अध्ययन भइरहेको छ । कुनै पनि व्यक्ति दोहो¥याएर संक्रमित हुने सम्भावना कत्तिको छ भन्ने थाहा पाउनका लागि यो जान्नु जरुरी छ ।
केही मानिसमा वर्ष दिनका लागि त केही मानिसमा केवल ६ महिनाका लागि एन्टिबडी भेटिएको छ । खोप लगाउन सुरु भएयता नै कोरोना संक्रमित भएका र नभएका व्यक्तिमा खोपको पहिलो र दोस्रो डोजले कस्तो असर गरिरहेको छ भन्नेबारे पनि अध्ययन सुरु भयो ।
नयाँ अध्ययनको नतिजा के छ ?
सबैभन्दा पहिले, अघिल्लो हप्ता साइन्स इम्युनोलोजीमा छापिएको पेन इन्स्टिच्युट अफ इम्युनोलोजीको अध्ययनको चर्चा गरौं । यस अध्ययनअनुसार अमेरिकामा कोरोनालाई जितेका मानिसमा एमआरएनए (mRNA) खोपको पहिलो डोजपछि एन्टीबडी रेस्पोन्स अति राम्रो देखियो ।
– तर दोस्रो डोजपछि प्रतिरोध रेस्पोन्स पहिलेजस्तो थिएन । अध्ययनकर्ताहरुका अनुसार जसलाई कोरोनाको संक्रमण भएको थिएन, ती व्यक्तिहरुमा एन्टीबडी रेस्पोन्स दोस्रो डोज खोप लगाएको केही दिनसम्म देखिएको थिएन ।
– युनिभर्सिटी अफ पेन्सिल्भेनियाका तर्फबाट जारी गरिएको विज्ञप्तिमा पेन इन्स्टीच्युट अफ इम्युनोलोजीका सिनियर लेखक ई जोन बेरीले भनेका छन्, ‘अध्ययनको यो नतिजा खोपको अल्पकालिन र दीर्घकालिन प्रभावका लागि प्रोत्साहित गर्नेखाले छ । यसले मेमोरी बी सेल्सको विश्लेषणमार्फत खोपको प्रतिरोधी प्रतिक्रियालाई बुझाउन पनि सहयोग गर्नेछ ।
के यो पहिलो अध्ययन हो ?
होइन, यस्ता दाबी निरन्तर आइरहेका छन् । इटाली, इजरायल र अन्य केही देशमा पनि यस्तैखाले अध्ययन भएको छ । सिएटलमा फ्रेड हचिसन क्यान्सर रिसर्च इन्स्टिच्युटका इम्युनोलोजिट एन्ड्रियु म्याकगुइरेले यस्तै अध्ययन गरेका थिए । सिएटल कोभिड कोहर्ट स्टडीमा १० वालटियरमा यो अध्ययन गरिएको थियो । पहिलो डोज खोप लगाएको दुईदेखि तीन हप्तापछि रगतको नमुनामा लिँदा एन्टीबडीको स्तरमा उछाल देखिएको थियो । अर्को डोजपछि ती व्यक्तिमा एन्टीबडीको स्तरमा यति ठूलो बदलाव देखिएको थिएन ।
– अनुसन्धानकर्ताका अनुसार जसले इम्युन सेल भाइरसलाई याद राख्छन् र लड्छन्, त्यसको संख्या बढेको देखिएको थियो । म्याकगुइरेका अनुसार खोपको पहिलो डोजले शरीरमा पहिलेदेखि कायम इम्युनिटीलाई बढाउने स्पष्ट छ ।
– न्युर्योक विश्वविद्यालयमा अर्को एक अध्ययन भयो । धेरैजसो मानिस आठ या नौ महिना पहिले कोरोनाबाट संक्रमित भएका थिए । जब खोपको पहिलो डोज दिइयो, तब उनीहरुको शरीरमा एन्टीबडी सयौँ–हजारौँ गुणा बढ्यो । दोस्रो डोजपछि एन्टीबडी लेभल यसरी बढेन ।
यस अध्ययनका मुख्य लेखक न्युर्योक विश्वविद्यालय लङगोन खोप सेन्टरका निर्देशक डाक्टर मार्क जे मलिगनका अनुसार यो अध्ययनले इम्युनोलोजिकल मेमोरीको ताकत बताउँछ, जो पहिलो डोज लिएपछि कयौं गुणा बढ्छ ।
यस्तै एक अध्ययन न्युर्योकको माउन्ट सिनाईस्थित इकान स्कुल अफ मेडिसिनका इम्युनोलोजिस्ट फ्लोरियन क्रैमरले पनि गरे । उनका अनुसार जो व्यक्तिहरुलाई कोरोना भइसकेको थियो, उनीहरुमा खोपको एक डोजपछि साइड इफेक्ट्स देखिएको छ । तर, ती व्यक्तिहरुमा संक्रमित नभएका व्यक्तिको दाँजोमा धेरै एन्टीबडी भेटिएको थियो । डाक्टर क्रैमरका अनुसार यदी तपाईंले बाँकी अध्ययनलाई राखेर हेर्नुहुन्छ भने संक्रमित भइसकेका व्यक्तिलाई एक डोज नै पर्याप्त हुनेछ भन्ने स्पष्ट हुन्छ ।
– क्रैमर र अन्य अनुसन्धानकर्ताले आफ्नो अध्ययनपछि अमेरिकामा सेन्टर फ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनसँग पनि सम्पर्क गरेका थिए । एकपटक कोरोना संक्रमित भएर निको भइसकेकालाई केवल एक डोज दिइयोस् र यसो गर्दा धेरैभन्दा धेरै मानिससमक्ष खोप पुर्याउन सकिन्छ भन्ने उनीहरुको सुझाव थियो । तर, तथ्याङ्कको कमी भएको भन्दै यस दाबीलाई तत्कालका लागि अमेरिकामा खारेज गरियो ।
के यस्ताखाले अध्ययनबाट के बदलिएको छ ?
हो, धेरै बदलिएको छ । ब्लुमबर्गको एक रिपोर्टअनुसार फेब्रुअरीदेखि फ्रान्स, स्पेन, इटली र जर्मनीजस्ता केही युरोपेली देशहरुले कोरोना जितिसकेका मानिसहरुलाई खोपको खोपको एक डोज दिने रणनीति बनाएका छन् । तीव्र रुपमा आफ्ना जनतालाई खोप लगाइरहेको इजरायलले पनि कोरोना जितिसकेका व्यक्तिहरुलाई एक डोजमात्रै दिने घोषणा फेब्रुअरीमै गरेको थियो ।
– इटलीको अध्ययनले त यसभन्दा पनि अगाडि बढेर कुरा गर्छ । न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा छापिएका यस अध्ययनअनुसार यदी तपाईंलाई संक्रमण भएको थियो र तपाईंले खोपको एक डोज लिनुभयो भने तपाईंमा एन्टीबडीको स्तर ती व्यक्तिहरुभन्दा धेरै हुनेछ, जसलाई कहिल्यै इन्फेक्सन भएको थिएन र उनीहरुले दुई डोज लिइसकेका छन् ।
–मेरिल्यान्ड स्कुल अफ मेडिसिनका इम्युनोलोजिस्ट मोहम्मद सजादी र उनका साथीहरुले निकालेको हिसाबअनुसार यदी पहिले संक्रमित भइसकेका मानिसहरुलाई केवल एक डोज खोप दिइयो भने mRNA खोपकै कम्तिमा ११ करोड डोज अतिरिक्त वचत हुनेछ ।
भारतमा यसबारे के भइरहेको छ ?
भारतमा १६ जनवरीमा खोप लगाउने काम सुरु भएको थियो । तर, के निको भइसकेका मानिसलाई खोपको एकै डोज काफी हुन्छ ? यसबारे अध्ययन भएको छैन । अध्ययनको अभावमा वैज्ञानिकहरुले पनि केही दाबी गरिरहेका छैनन् ।
त्यसकारण दुई डोज खोप नै सबैका लागि अनिवार्य गरिएको छ , चाहे पहिले संक्रमित भएको होस् वा नहोस् । केही विज्ञहरुका अनुसार भारतमा यस विषयमा ठूलो स्तरमा अध्ययन जरुरी छ । किनकी, यहाँ लाखौं मानिसहरु कोरोनाबाट निको भइसकेका छन् । यदी अध्ययनमार्फत भारतको स्वास्थ मन्त्रालय वा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले यस दिशामा कुनै कदम उठायो भने चाडैं नै धेरैभन्दा धेरै मानिस खोपको दायरामा आउनसक्छन् ।
स्रोत : दैनिक भास्कर