बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनले आधा सस्तियो तरकारी, उपभोक्तालाई भने अझै महँगो

सोमबार, २० वैशाख २०७८, १३ : ५३
सोमबार, २० वैशाख २०७८


सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा लकडाउन गर्ने घोषणा गरेपछि उपत्यकामा बसोवास गर्ने धेरै मानिस आफ्नो जन्मथलो गाउँ फर्किए । वैशाख १३ गतेदेखि नै मानिसहरू उपत्यका छाडेर आफ्नो जन्मथलो जान थालेपछि काठमाडौँमा मानिसको चाप पनि घट्यो । मानिसको चाप घटेसँगै दैनिक उपभोग्य वस्तुको माग पनि घटेपछि चाँडै बिग्रने तरकारीको मूल्यमा भने व्यापक कमी आएको छ ।

करिब १० दिनअघि र अहिलेको मूल्य अन्तर हेर्ने हो भने अधिकांश तरकारीको मूल्यमा करिब करिब आधा मूल्यले कमी आएको छ । दैनिक उपभोग्य वस्तु तरकारीको मूल्यमा थोक बजारमा कमी आएको भए पनि उपभोक्ताको भान्सामा पुग्ने समयमा भने त्यति धेरै परिवर्तन भएको पाइएको छैन ।

लकडाउनअघि कालीमाटीमा प्रतिकिलो ६५ रुपैयाँ रहेको काउलीको थोक मूल्य घटेर अहिले २२ रुपैयाँमा आएको छ । वैशाख ११ गते कालीमाटी थोक बजारको मूल्यअनुसार काउलीको मूल्य औसतमा प्रतिकिलो ६५ रुपैयाँ रहेको थियो जबकि हालको औसत मूल्य प्रतिकिलो २२ रुपैयाँ मात्रै छ ।

त्यसैगरी वैशाख ११ गते ५५ रुपैयाँ प्रतिकिलो रहेको घिरौँलाको थोक मूल्य अहिले २० रुपैयाँ प्रतिकिलो रहेको छ । कालीमाटीमा ५५ रुपैयाँ नै रहेको चिचिण्डोको प्रतिकिलो मूल्य अहिले २५ रुपैयाँ रहेको छ भने २१० रुपैयाँ प्रतिकिलो रहेको च्याउ अहिले १३० रुपैयाँमै पाइन थालेको छ । ३२५ प्रतिकिलो रहेको डल्ले च्याउको मूल्य अहिले २७० रुपैयाँ रहेको छ ।

वैशाख ११ गते प्रतिकिलो १ सय रुपैयाँ रहेको पर्बलको मूल्य अहिले प्रतिकिलो ४५ रुपैयाँमै झरेको छ । ५५ रुपैयाँ रहेको तितेकरेलाको मूल्य अहिले १८ रुपैयाँमा झरेको छ भने ९५ रुपैयाँ रहेको तनेबोडी अहिले प्रतिकिलो ४५ रुपैयाँमै पाइन्छ ।

त्यस्तै ८५ रुपैयाँ प्रतिकिलो रहेको ब्रोकाउलीको मूल्य अहिले ५५ रुपैयाँमा झरेको छ भने ५५ रुपैयाँ रहेको हरियो फर्सी अहिले प्रतिकिलो २५ रुपैयाँमै पाइन्छ ।

५५ रुपैयाँ प्रतिकिलो रहेको भिण्डीको मूल्य अहिले ३५ रुपैयाँमा झरेको छ भने ५५ रुपैयाँ नै रहेको सेतो मूला अहिले २५ रुपैयाँमै पाइन्छ । ३५ रुपैयाँ रहेको लौका अहिले १८ रुपैयाँमै पाइन थालेको छ भने प्रतिकिलो ११५ रुपैयाँ पर्ने घिउसिमी अहिले ३५ रुपैयाँमै झरेको छ । घिउसिमीको मूल्य एक किलोमै ८० रुपैयाँले कमी आएको छ ।

दैनिक उपभोग्य तरकारीको मूल्यमा व्यापक गिरावट आएको भए पनि प्याज र आलुको मूल्यमा भने सामान्य वृद्धि भएको छ ।

पहिले ३२ रुपैयाँ प्रतिकिलोको दरले पाइने नेपाली रातो आलुको मूल्य अहिले ४३ रुपैयाँ पुगेको छ । कालीमाटीको खुद्रा तरकारी बजारमा पनि रातो आलुको मूल्य पहिले ४० रुपैयाँ रहेकामा अहिले ५० रुपैयाँ पुगेको छ ।

त्यसैगरी प्याजको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । पहिले प्रतिकिलो ३८ रुपैयाँमा पाइने प्याजको थोक मूल्य अहिले ४१ रुपैयाँ पुगेको छ भने कालीमाटीकै खुद्रा बजारमा सुकेको प्याजको मूल्य पहिले ४० रुपैयाँ रहेकामा अहिले प्रतिकिलो ४५ रुपैयाँ रहेको छ ।

कालीमाटी थोक बजारमा तरकारीको मूल्यमा व्यापक गिरावट आएको भए पनि उपभोक्ताको भान्सासम्म पुग्नलाई भने अझै पनि महँगो मूल्य नै तिर्नु परिरहेको छ ।

कालीमाटीकै खुद्रा बजारमा ४० रुपैयाँमा पाइने काउलीको मूल्य उपभोक्ताले भने ८० रुपैयाँ हालेर किन्नुपरेको छ । त्यसैगरी कालीमाटीको खुद्रा बजारमा ४० रुपैयाँमा पाइने घिरौँला उपभोक्ताले किन्दा ६० रुपैयाँ तिरिरहेका छन् भने ५० रुपैयाँ पाइने चिचिण्डोलाई उपभोक्ताले ८० रुपैयाँ तिरिरहेका छन् । त्यसैगरी कालीमाटीको खुद्रा बजारमा ८० रुपैयाँमा पाइने न्युरोको सागलाई उपभोक्ताले भने मुठाको दरमा प्रतिकिलो करिब १८० रुपैयाँ तिरिरहेका छन् ।

कालीमाटीको खुद्रा बजारमा ५० रुपैयाँमा पाइने पर्बलको मूल्य उपभोक्ताले भने प्रतिकिलो १ सय रुपैयाँमा खरिद गरिरहेका छन् ।

कालीमाटी बजारमा प्रतिकिलो १ सय ३० रुपैयाँ रहेको च्याउलाई उपभोक्ताले प्रतिकिलो १८० रुपैयाँ तिरिरहेका छन् ।

कालीमाटीको खुद्रा पसलमा प्रतिकिलो ४५ रुपैयाँ रहेको तने बोडीलाई उपभोक्ताले भने ६० रुपैयाँ तिरिरहेका छन् ।

कालीमाटीको खुद्रा बजारमा ६५ रुपैयाँ प्रतिकिलो रहेको ब्रोकाउली उपभोक्ताले किन्ने स्थानसम्म पुग्दा १३० रुपैयाँ भएको छ ।

कालीमाटीको खुद्रा बजारमा ४० रुपैयाँमा पाउने भिण्डी उपभोक्ताले किन्दा ६० रुपैयाँ तिरिरहेका छन् भने ३० रुपैयाँमा पाइने भण्टाको मूल्य उपभोक्ताको घरसम्म पुग्दा ६० रुपैयाँ हुने गरेको छ । त्यसैगरी कालीमाटीको खुद्रा बजारमा ४० रुपैयाँमा पाइने लौकाको मूल्य उपभोक्ताको भान्सामा पुग्दा प्रतिकिलो ७० रुपैयाँ भएको छ भने कालीमाटीकै खुद्रा बजारमा प्रतिकिलो ४० रुपैयाँमा पाइने हरियो फर्सी उपभोक्ताको भान्सासम्म पुग्दा ७० रुपैयाँसम्म तिर्नुपरेको छ ।

खुद्रा पसलमा दुई गुणासम्म महँगो

कालीमाटीको थोक तरकारीको मूल्य र उपभोक्ताले पसलबाट किन्ने खुद्रा मूल्यको अन्तर हेर्ने हो भने केहीकेही तरकारीमा खुद्रा व्यापारीले ३०० प्रतिशतभन्दा बढी नाफा खाएका छन् । कालीमाटीको थोक बजारमा २२ रुपैयाँमा पाइरहेको काउली उपभोक्ताले ८० रुपैयाँसम्म हालेर किन्नुपरेको छ । वृद्धिको प्रतिशत हेर्ने हो भने यो ३ सय ६० प्रतिशत महँगो देखिएको छ ।

सोमबार रातोपाटीले कालीमाटीको थोक बजार, कालीमाटीकै खुद्रा बजार, रानीवनस्थित एक तरकारी पसल र वनस्थलीमा रहेको एक तरकारी पसलमा तरकारीको मूल्य सङ्कलन गरेको थियो । वैशाख ११ गतेको थोक मूल्य कालीमाटी तरकारी बजारको वेभपेजबाट लिइएको हो भने १० दिन अगाडिको तरकारीको खुद्रा मूल्य व्यापारीसँग लिइएको नमुनाका आधारमा तयार गरिएको हो ।

एक तिहाइ खेर जान्छ, त्यसकारण महँगो हुन्छ : खुद्रा व्यापारी

वनस्थलीमा तरकारी पसल सञ्चालन गरिरहेकी कविता दुवाडी कालीमाटी बजारभन्दा खुद्रा बजारमा तरकारीको मूल्यमा ५० प्रतिशतसम्म वृद्धि हुने बताउँछिन् । अधिकांश तरकारीको करिब एक तिहाइ नबिक्ने वा खेर जाने, पहिले किन्ने उपभोक्ताले छानेर लैजाने भएकाले आधा तरकारी बेचेपछि मूल्य घटाएर बेच्नुपर्ने, भाडा र नाफा आदि जोड्दा तरकारीको मूल्य थोक मूल्यभन्दा आधा महँगो हुने बताउँछिन् ।

साग लगायतका तरकारी अझ छिटो बिग्रने भएकाले बढी नाफा राखेर बेच्नुपर्ने र नबिके फाल्नुपर्ने भएकाले चाँडै बिग्रने तरकारीको मूल्य झनै महँगो हुने उनको भनाइ छ । तर आलु, प्याज लगायतका तरकारी चाँडै नबिग्रने भएकाले त्यस्ता तरकारीमा खासै नाफा नराखिने उनले बताइन् ।

यस्तो छ ९ दिनको फरकमा मूल्य अन्तर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप