शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडको कहरकै बीच हिमाल आरोहणमा आरोही, सगरमाथाका लागि मात्र ४०८ जनाको स्वीकृति

७१ करोड ४८ लाख राजस्व सङ्कलन
सोमबार, २० वैशाख २०७८, ११ : ००
सोमबार, २० वैशाख २०७८

काठमाडौँ । हिमाल आरोहणमा अहिलेसम्मकै उच्च भिड देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार हिउँदे सिजनका लागि मात्र अधिकतम ७ सय ४२ जनाले हिमाल आरोहणको स्वीकृति लिएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मि) सहित अन्य १६ वटा हिमशिखरको आरोहण गर्न नेपालीसहित अधिकतम ८५ विदेशी टोलीले हिमाल आरोहणको स्वीकृति लिएका हुन् ।

त्यसो त कोभिड१९ कै बीच हिमाल आरोहणमा देखिएको यस्तो उत्साह अहिलेसम्मकै उच्च हो । सन् २०१९ अघि सरदर यस्तै सङ्ख्या देखिने गरे पनि हिमाल आरोहणमा देखिएको यो उत्साह अहिलेसम्मकै उच्च रहेको विभागका महानिर्देशक रुद्रबहादुर तामाङले रातोपाटीसँग बताए ।

सन् २०२० पूर्णतः कोभिड१९ का कारण प्रभावित हुन पुग्यो । यसले अन्य पर्यटन गतिविधिसँगै हिमाल आरोहणको क्षेत्रसमेत प्रभावित हुन पुग्यो । यो समयमा सगरमाथा लगायतका हिमाल आरोहणमा त सरकारले नै प्रतिबन्ध लगाएका थियो । जसले गर्दा नयाँ स्वीकृति मात्र होइन स्वीकृति लिइसकेकाहरु समेत रोकिन पुगेका थिए । तर अहिले सबै हिमशिखरमाथिको प्रतिबन्ध खुला गरिएको अवस्था छ । यसले गर्दा अहिले एकै पटक हिमाल आरोहणमा भिड देखिएको छ, महानिर्देशक तामाङले रातोपाटीसँग भने, ‘तर यो त्यति धेरै ठूलो भिड भने होइन । यतिखेर सगरमाथा आरोहणका लागि केही बढी आरोहणको स्वीकृति हुँदा बढी देखिन गएको हो । अन्यमा त सरदर सामान्य अवस्था नै हो ।  

सगरमाथामा उच्च भिड

कोभिडपछि रोकिएको सगरमाथाको आरोहणमा सन् २०२१ लागेसँगै आरोहीहरूको उच्च भिड देखिएको छ । विभागका अनुसार सन् २०२१ को हिउँदे सिजन जनवरी १ देखि अप्रिल ३० सम्ममा सगरमाथा आरोहणका लागि मात्र अधिकतम ४ सय ८ जनाले विभागबाट स्वीकृति लिएका छन् ।

कुल ४३ समूहमा आएका ९२ जना महिला र ३१५ पुरुषले सगरमाथा आरोहणको स्वीकृति लिएका हुन् । यसबाट राज्यलाई कुल ४१ लाख ९९ हजार ८०० अमेरिकी डलर अर्थात् ६६ करोड १३ लाख ४२ हजार ९८७ रुपैयाँ राजस्व सङ्कलन भएको विभागले बताएको छ । तर गत वर्ष कोभिडका कारण सगरमाथा आरोहण पूर्णतः प्रभावित हुन पुगेको थियो ।

गत वर्ष कोभिडकै कारण सगरमाथाको आरोहण हुन सकेन । फलतः सो समयमा रोकिएका आरोहीहरूले समेत अहिले आरोहण गर्दैछन् । त्यसैले यतिखेर तुलनात्मक रूपमा सगरमाथामा भिड देखिन गएको हो । तर कारण त्यति मात्र होइन । उता चीन, तिब्बतबाट हुने सगरमाथाको आरोहण अहिलेसम्म पनि रोकिराखेको अवस्था छ । उताबाट हुने आरोहणसमेत अहिले नेपालबाटै हुँदा केही सङ्ख्या बढ्न गएको हो, तामाङले भने ।

७१ करोड ४८ लाखभन्दा बढी राजस्व सङ्कलन  

गएको ४ महिनामा मात्र सरकारले हिमाल आरोहणबापत ७१ करोड ४८ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पर्यटन विभागका अनुसार गत जनवरीदेखि अप्रिलसम्ममा हिमाल आरोहण शुल्क रोयल्टीबापत मात्र कुल ४६ लाख ५४ हजार ५ सय ८० अमेरिकी डलर अर्थात् ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ ८ पैसा राजस्व सङ्कलन भएको छ ।

यसमा सगरमाथा एउटैको योगदान अधिकतम ६६ करोड १३ लाख ४२ हजार ९८७ रुपैयाँ रहेको छ । बाँकी अन्य हिमशिखरहरू माउन्ट ल्होत्से, अन्नपूर्ण, नुप्से, आमदब्लम, मनास्लु, बरुण, मकालु लगायतका दर्जनभन्दा बढीका हिमशिखरहरुको योगदान रहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप