शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिड ल्याब सञ्चालनमा खर्च अभाव

सोमबार, २० वैशाख २०७८, १० : २४
सोमबार, २० वैशाख २०७८

गुल्मीको रेसुङ्गा नगरपालिकामा गत वर्ष स्थापना गरिएको कोभिड ल्याब सञ्चालनमा रकम अभाव भएको छ । स्थानीय धार्मिक स्थानलाई पर्यटकीय गन्तब्य बनाउने भन्दै केन्द्र र प्रदेश सरकारबाट करोडौं रकम नगरपालिकामा आए पनि कोभिड ल्याब सञ्चालनका लागि भने रकमको अभाव भएको हो ।

गत वर्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा हिमालय एअरलाईन्सले उपलब्ध गराएको पीसीआर मेशिन र त्यसलाई चाहिने सबै प्रकारको ल्याब सामग्रीसहित उपल्लो तम्घासमा कोडिड ल्याब स्थापना गरिएको थियो । गत असोज ७ गते परराष्ट्रमन्त्री ज्ञवालीले ल्याब उद्घाटन गर्दै रकम अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

केहीदिन अघिमात्र राजीनामा दिएका लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ल्याबमा खटिने स्वास्थ्यकर्मीहरुलाई मन्त्रालयले तलब खुवाउने उद्घोष गरेका थिए । तर त्यो पनि भाषण मै सीमित भएको जनगुनासो छ ।

जिल्लाका कयौं धार्मिक स्थलहरुको संरचना निर्माणमा करोडौं खर्चिएको छ । सुन्दर पार्क निर्माण, खेल मैदान निर्माणमा पनि त्यति नै रकम स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारबाट खर्च हुँदै आएको छ । तर कोभिडको महामारीबाट जनता बचाउने कुरामा भने संघ र प्रदेशले वास्तै नगरेको पालिका प्रमुखहरुको गुनासो छ ।

जिल्ला अस्पतालबाट ज्यानको बाजी राखेर खटिएका १० जना  स्वास्थ्यकर्मीलाई तलब खुवाउने पैसा नभएपछि ल्याब बन्द गरिएको जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर उत्तम पाच्यले गत बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कोभिड १९ व्यवस्थापन केन्द्रको सर्वपक्षीय बैठकमा गुनासो राखेका थिए  । उनले नगरपालिका र गाउँपालिका प्रमुखहरुलाई भने, ‘गत वर्ष खटिएका स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसक्दा मलाई पाप लागेको छ, मेरो पाप पखाली दिनुहोस् ।’

गत वर्ष एक करोडभन्दा बढी खर्च गरेर पीसीआर परीक्षण गर्ने ल्याब स्थापना गर्न १० वटा गाउँपालिकाले १० लाखका दरले र दुई वटा नगरपालिकाले १५ लाखका दरले रकम दिने प्रतिबद्धता जनाएका थिए । त्यसमध्ये कतिपय पालिकाले बोले जति रकम   नदिएकोले तलब खुवाउन नसकिएको डाक्टर पाच्यको भनाइ थियो ।

स्वास्थ्य कार्यालयका सुपरभाईजर पशुपति आचार्यका अनुसार अहिले उक्त ल्याब बन्द हुँदा पीसीआर परीक्षणका लागि बुटवलका विभिन्न अस्पतालको भर पर्नुपर्ने भएको छ ।  बैठकमा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले प्रदेशका कुनै पनि सांसदले कोरोना संक्रमणबाट जिल्लावासीलाई कसरी बचाउन सकिन्छ भनेर नसोचेका कारण स्थानीय सरकारलाई मात्र बोझ हुन पुगेको गुनासो गरे ।

नेपाली काँग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले कोरोना महामारीको संकटमा परेका नेपाली जनताका लागि अहिलेको सरकार निरीह भएको आरोप लगाए । सोही पार्टीका सचिव खिलध्वज पन्थीले दुईदुईवटा मन्त्री भएको जिल्ला गुल्मीको अवस्था यही हो भनेर प्रतिप्रश्न गरे ।

कोभिड–१९ व्यवस्थापन केन्द्रकी अध्यक्षसमेत रहेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले गत बिहीबारको बैठकमा निर्णय भए अनुसार जति सक्दो छिटो ल्याब पुनः सञ्चालनमा ल्याउने बताउँदै आएकी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप