बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा वैशाख ३१ सम्मका लागि निषेधाज्ञा घोषणा

आइतबार, १९ वैशाख २०७८, २१ : ३४
आइतबार, १९ वैशाख २०७८

पोखरा । कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले कास्की जिल्ला भर दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि सूचना जारी गर्दै बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा गरिएको उल्लेख गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेकलाई रोक लगाइएको छ । 

जिल्लाभित्र एक सातादेखि जोरबिजोर प्रणाली लागू गरिएकोमा त्यसलाई रोकी सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी सञ्चालनमा समेत रोक लगाइएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । यस्तै अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सञ्चारकर्मीका सवारी साधन, फोहरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कार लगायतका सवारी साधन सञ्चालन गर्न भने पाइने छ । 

कुनैपनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न र सभा जुलुस गर्न रोक लगाइएको छ । यस्तै परम्परागत रुपमा भइआएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेक कुनै पनि धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट गर्न रोक लगाइएको छ । 

कुनै पनि प्रकारका सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल सैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।   होटल, रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने छ । त्यो सम्भव नभए न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्न पाइने छ। स्वाथ्य संस्था तथा औषधि पसल २४ घण्टा खोल्न पाइने छ भने खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु (माछामासु,फलफूल, तरकारी, खाद्यान्न) लगायतका व्यवसायीक प्रतिष्ठान विहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र भौतिक दूरी कायम गर्नुपर्ने समेत उल्लेख गरिएको छ । त्यस्तै आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुनअनुसार कारवाही हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप