बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुरमा ३ बालक मृत्यु प्रकरण- प्रहरीले कार धनी र चालक विरुद्ध ज्यान मुद्दा चलायो

पोष्टमार्टमका लागि बुटवलबाट डाक्टर झिकाइए
आइतबार, १९ वैशाख २०७८, २० : १४
आइतबार, १९ वैशाख २०७८

घोराही। तुलसीपुरको स्याउली बजारमा शनिबार बेलुकी एउटै कार भित्र तीनजना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कार धनी र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ । स्याउली बजारमा बिगत तीन महिनादेखि पार्किङ गरेर राखेको इण्डियन नम्बर प्लेटको एउटा कारभित्र तुलसीपुर ६ बरुवा गाउँ निवासी ९ वर्ष मुनिका तीन जना बालकको शव फेला परेको थियो ।

घटना अनुसन्धानका लागि पक्राउ गरिएका कार धनी तुलसीपुर ६ का ३३ वर्षीय यादवप्रसाद गैरे र सोही वडाकै ५७ वर्षीय चालक पदमबहादुर बस्नेतलाई आइतबार प्रहरीले ज्यान शीर्षकमा मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले गाडी धनी गैरे र चालक बस्नेतलाई पक्राउ पछि मुद्दा चलाएको जानकारी दिएका छन् । पक्राउ परेका व्यक्तिहरुले माघ १ गते उक्त स्थानमा कार लक गरि पार्किङमा राखेको भन्ने बयान प्रहरी समक्ष गरेको सिंहले बताए ।

‘लक गरि राखेको कारभित्र तीन बालक कसरी भित्र छिर्न सके ? त्यहाँनेर आशंका छ’ डिएसपी सिंहले भने , ‘माघदेखि पार्किङ गरेर राखिएको कारको बत्ति कसरी बल्यो ? भन्ने कुरा पनि शंकास्पद देखिएको छ।’ स्थानीयले प्रत्यक्षदर्शी धेरैले लामो समयदेखि पार्किङ गरि राखेको कारमा बेलुकी पख सबै बत्तीहरू बलेको देखेर त्यहाँ हेर्न गएका थिए ।

स्थानीयले हेर्दा कारभित्र तीन बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस्तै इण्डियन नम्बर प्लेटको उक्त कार लामो सयमदेखि पार्किङमा राखिएको कुराले पनि आशंका जन्माएको प्रहरीले बताएको छ । कार चोरीको हुन सक्ने प्रहरीको आशंका छ ।

गैरेले आफुले इन्डियास्थित कानपुरको एक हस्पिटलमा काम गर्ने गरेको र त्यो कार साथीको भएको बताएका छन् । लकडाउनले गर्दा कार छोड्न जान नभ्याएको भन्ने बयान उनले प्रहरी समक्ष गरेको प्रहरी अधिकारीले बताएका छन् ।
यसैबीच तीन बालकको शव पोष्टमार्टम गर्नका लागि फोरेन्सिक एक्सपर्ट डाक्टर बुटवलबाट तुलसीपुर झिकाइएका छन् । इप्रका तुलसीपुरका प्रमुख सिंहले तुलसीपुरमा फोरेन्सिक एक्सपर्ट डाक्टर नभएको हुँदा शव पोष्ट मार्टमका लागि एक्सपर्ट बुटवलबाट झिकाउनुपरेको जानकारी दिए ।

प्रहरीले बाँकेबाट घटना अनुसन्धान गर्न तालिम प्राप्त कुकुर र विज्ञ प्राविधिक समेत झिकाएको थियो । पोष्टमार्टम रिपोर्टपछि मात्रै तथ्य कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप