शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बहुमत गुमाएका शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु लज्जास्पद र आपत्तिजनक : सभापति देउवा

आइतबार, १९ वैशाख २०७८, १९ : २४
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतबार भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै देउवाले लुम्बिनी प्रदेशमा संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको देखिएको भन्दै कडा निन्दा र भत्सर्ना गरेका छन् ।

'नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन,' देउवाले विज्ञप्तिमा भनेका छन् । 

एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर संसदीय मुल्य मान्यता विपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक भएको देउवाको भनाइ छ ।

 उनले भने, 'नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली काँग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ ।'

संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपु-याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन भएको देउवाको जिकिर छ ।

केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर भएको उनले बताए ।

'बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनी सहित अपील गर्दछु,' विज्ञप्तिमा भनिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप