सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

आइतबार, १९ वैशाख २०७८, १९ : ०८
आइतबार, १९ वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने जानकारी दिएका हुन् ।

बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । सोही अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन् । प्रधानमन्त्री ओली आज दिउँसो राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गर्न शीतलनिवास पनि पुगेका थिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयको जानकारी आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पनि दिएका थिए । एक स्थायी समिति सदस्यले रातोपाटीसँग कुरा गर्दै भने, ‘आफूसँग बहुमत पुग्ने विश्वास भएर होला प्रधानमन्त्रीज्यूले आजको बैठकमा विश्वासको मत लिने बारे जानकारी दिनुभएको थियो ।’

गत फागुन २३ मा सर्वोच्चले नेकपा एकता बदर गरेर एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने दवाव बढ्दै आएको थियो । तर ओलीले विश्वासको मत लिएका थिएनन् ।

यद्यपि, प्रधानमन्त्री ओली अझै पनि संसदमा बहुमतमा नै छन् । माओवादी केन्द्रले अझै पनि सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छैन । समर्थन फिर्ता नलिए पनि माओवादीले ओलीको विकल्पमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकार बनाउने कसरत भने गरिरहेको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि नयाँ सरकार निर्माणमा अग्रसरता लिएको छ । यद्यपि, नयाँ सरकार निर्माणमा किंगमेकर बनेको जसपा दुई ध्रुवमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया अन्योल बन्दै आएको थियो ।

पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेका थिए । तर उनको सो निर्णयलाई सर्वोच्चले फागुन ११ गते उल्ट्याइदिएको थियो । त्यसयता राजनीतिक उथलपुथल जारी रहेको भएपनि ओली सरकार कायमै रहेको अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप