शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन उत्पादन सुरु

आइतबार, १९ वैशाख २०७८, १९ : ०६
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको छ । काठमाडौ महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टको आइतबार एक समारोहबीच उद्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो । २०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लान्ट स्थापना गर्ने  सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौता लगत्तै निर्माणको काम सुरु भएको अक्सिजन प्लान्टको आइतबार विधिवत शुभारम्भ गरिएको हो । प्लान्टको प्रतिदिन ६ हजार ३ सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ । चलनमा रहेको अक्सिजन सिलिन्डर अनुसार, प्रतिदिन १ सय ३५ वटा सिलिन्डर उत्पादन हुनेछ । एउटा अक्सिजन सिलिन्डरमा ४७ लिटर अक्सिजन हुने गर्दछ । सो अक्सिजन प्लान्ट २ करोड ७५ लाख रुपैंयामा निर्माण भएको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अक्सिजन मात्रै दिन सक्दा पनि धेरै विरामी बचाउन सकिने अवस्थामा अक्सिजन उत्पादन सुरु हुनु निकै राम्रो काम भएको बताए । अक्सिजन उत्पादनसँगै गंगालाल अस्पतालमा यसअघि खपत हुने अक्सिजन अन्यत्र प्रयोग गर्न सकिने भएकाले कोरोनाका विरामीको उपचारमा पनि ठूलो सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । कोभिडका विरामीलाई अक्सिजन अभाव भएको समाचारसँगै व्यक्तिले सिलिन्डर होल्ड गरेका समाचार आउन थालेको भन्दै उनले अनावश्यक रुपमा घरमा अक्सिजन सिलिन्डर होल्ड गरेर नराखिदिन अनुरोध गरे । अक्सिजन पर्याप्त भए पनि सिलिन्डर अभाव भएको कुरा आएको भन्दै उनले सिलिण्डर होल्ड गर्ने काम नगर्न सबैलाई सचेत गराए । उनले अक्सिजन मास्क प्रयोग गर्नुपर्ने अवस्था आउन नदिन मेडिकल मास्क प्रयोग गरेर घरमै सुरक्षित भएर बस्न पनि सबैलाई अपिल गरे ।

उनले भने, ‘त्यो बेला कोरोनाको नामै सुनेको थिएन । त्यो बेला सबै अस्पतालमा अक्सिजन प्लान्ट आफ्नै हुनुपर्छ भनेर हामीले सुरुवात कान्ति बाल अस्पतालबाट सुरु गरेका थियौ । विरामीलाई निशुल्क अक्सिजन उपलब्ध गराएको सुनेपछि सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट आफ्नै हुनुपर्छ भनेर महानगरपालिका सहकार्य गर्न तयार भएको थियो अहिले कोरोनाको कहर भइरहेका बेला अक्सिजन मात्रै दिन सक्दा पनि धेरै बिरामी बचाउन सकिने अवस्था छ । हुन त हाम्रो प्राथमिकता भनेको अस्पतालमा ल्याएर अक्सिजनको मास्क लगाउने होइन, घरमै बसेर सामान्य मास्क लगाएर बस्यो भने अक्सिजन मास्क लगाउनुपर्दैन । दुईवटा मध्य कुन रोज्ने ? अस्पतालमा गएर अक्सिजन मास्क लगाउने कि घरमै बसेर सुरक्षित साथ मेडिकल मास्क लगाउने ? अक्सिजन अभाव भयो भनेर केही केही व्यक्तिले अक्सिजनको सिलिन्डर घरमा संग्रह गरेको कुरा पनि आएका छन् । कसैले पनि अनावश्यक रुपमा सिलिन्डर होल्ड गरेर नराखिदिनुहोला ।’

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले विगतमा पनि गंगालाल हृदयरोग केन्द्रले विरामीका लागि निशुल्क अक्सिजन उपलब्ध गराएको र भविष्यमा पनि निशुल्क नै उपलब्ध गराउने बताए । उनले कोरोनाको लहर भन्दा अगाडिनै अक्सिजन प्लान्ट स्थापना गर्ने योजनाअनुसार प्लान्ट निर्माणको काम अघि बढेको भएपनि अहिले अक्सिजन अभावको समस्या परेका बेला अक्सिजन उत्पादन हुनु निकै राम्रो कुरा भएको बताए । उनले मुटुरोगीहरूलाई कोरोना लागेमा उपचारमा कठिनाई भएकाले सबै मुटुरोगीहरूलाई विशेष सर्तकता अपनाउन पनि आग्रह गरे । मुटुरोगीका सम्पुर्ण कोरोना संक्रमितलाई केन्द्रमै राखेर उपचार गर्ने सोच लिएको भएपनि भौतिक संरचनाका कारण सबैलाई राखेर उपचार गर्न सक्ने अवस्था नरहेको बताए ।

महानगरपालिकाले कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गरेको छ । अस्पतालमा अहिले अक्सिजन प्लान्ट निर्माणको काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप