निषेधाज्ञापछि सरकारको अबको रणनीति के हुनुपर्छ ?
नेपालमा कोरोनाभाइरस कोभिड–१९ को संक्रमण तीव्र गतिमा बढेपछि वैशाख १६ गतेदेखि देशका विभिन्न भागमा निषेधाज्ञा लगाइएको छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न शनिबार साँझसम्म संक्रमण बढेका काठमाडौँ उपत्यका लगायत २९ जिल्लामा निषेधाज्ञा गरिएको हो । कोरोना संक्रमणको पहिलो लहरमा तीनजना संक्रमित हुँदा २०७६ चैत्र ११ गते सरकारले पहिलोपटक लकडाउन सुरु गरेको थियो । तर, लकडाउन खुलेको १४ दिनमै संक्रमणको दर ह्वात्तै बढेको थियो । यसपटक पनि सरकारले लकडाउनकै नीति अवलम्बन गरेको छ । तैपनि हरेक दिन संक्रमितको संख्या रेकर्ड दरमा वृद्धि भइरहेको छ ।
के अब हामीसँग भएको अन्तिम विकल्प लकडाउन र निषेधाज्ञा मात्र हो ? निषेधाज्ञा जारी गरेपछि सरकार गर्ने काम के–के हो ? सरकारको अबको रणनीति के हुनुपर्छ ? जनस्वास्थ्यविद्हरुसँग हामीले सोधेका छौँः
निषेधाज्ञा संक्रमण रोक्ने हतियार होइन : डा. शरद वन्त, जनस्वास्थ्यविद्
सबैभन्दा पहिले हामीले बुझ्नुपर्छ, निषेधाज्ञा पूर्णरुपमा कोरोना संक्रमण रोक्ने उपाय होइन । पहिलो लहरको संक्रमण र अहिलेको संक्रमणमा फरक छ । पहिलो लहरमा भन्दा दोस्रो लहरमा कोरोना संक्रमण दर तिव्र छ । अहिले लक्षण देखिने संक्रमित बढी छन् भने कम उमेरका बालबालिका तथा युवाहरूमा संक्रमण दर बढी छ । निषेधाज्ञा जारी गर्नु भनेको व्यक्तिहरुको सम्पर्कलाई न्यून बनाउन हो । तर, समूदायमा भएको संक्रमणको स्रोतलाई विस्तार हुन नदिनका लागि एक/दुई हप्ताको निषेधाज्ञाले संक्रमण दरमा कम आउँदैन ।
निषेधाज्ञाका पनि विभिन्न किसिमका चरणहरू हुन्छन् । सरकारले यसभन्दा अगाडि पनि भिडभाड नगर्ने, २५ जनाभन्दा बढि कुनैपनि किसिमका कार्यक्रममा सहभागी हुन नपाउने, ८ बजेपछि होटल तथा अन्य व्यवसायहरु बन्द गर्न निर्देशन दिएको थियो । एकदुई हप्ताको निषेधाज्ञाले तीव्रगतिमा बढेको संक्रमण दरलाई थोरै भएपनि कम हुन्छ । तर, यस पछाडि पनि जनस्वास्थ्यका विधिहरु तथा स्वास्थ्य सुरक्षाका अभ्यासहरू पूर्ण रुपमा जिम्मेवार ढङ्गबाट अवलम्बन गरियो भने मात्रै संक्रमण दर घट्न सक्छ ।
मुख्य सडकहरुमा सवारी साधनहरु गुड्न कम गर्नु मात्रै निषेधाज्ञा होइन । निषेधाज्ञा जारी गरेपछि त्यो प्रभावकारी ढङ्गबाट कार्यान्वयन भएको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण पाटो हो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छौँ कि छैनौँ भन्ने कुरा महत्त्वपूर्ण हो । त्यसैले सरकारले निषेधाज्ञा, लकडाउन अथवा बन्दाबन्दीलाई कोरोना संक्रमणको हतियार ठान्न भएन ।
अहिले निषेधाज्ञा जारी गरेपनि मानिसहरुको आवतजावत जारी छ । राज्यको तर्फबाट कुनै अनुगमन भएको छैन । होम आइसोलेशनमा बस्ने धेरै छन् । उनीहरुको पनि निगरानी गरिएको छैन । त्यसैले यस्तो निषेधाज्ञाले संक्रमणको चेन ब्रेक हुँदैन । अब संक्रमितको उपचार गर्न, कोरोना परीक्षण, संक्रमितलाई व्यवस्थापन सुनिश्चित गर्ने कुरामा सरकार तदारुकताका साथ लाग्नुपर्छ । केवल निषेधाज्ञा घोषणा गर्ने तर अन्य तयारीमा ध्यान नदिने भन्ने हुँदैन । निषेधाज्ञाकै क्रममा पनि संक्रमितको संख्या र अस्पतालमा बिरामीको संख्या बढेकै छ । यसभन्दा अघिको लकडाउनमा पनि कोरोना संक्रमितको संख्या उच्च भएको थियो । त्यसैले सरकारले निषेधाज्ञाको समयमा बेड, आइसोलेशन, अक्सिजन लगायतका तयारी जुट्न अतिआवश्यक पर्छ । संक्रमण कम गर्नका लागि निषेधाज्ञा एउटा विधि हो । तर, यो पूर्ण हतियार होइन ।
निषेधाज्ञाले संक्रमणको चेन ब्रेक गर्दैन : डा.बाबुराम मरासिनी, जनस्वास्थ्यविद्
निषेधाज्ञाले कोरोनाभाइरस संक्रमण दर केही दिन घट्न सक्छ । तर, संक्रमण दरमा चेन ब्रेक हुँदैन । निषेधाज्ञा भएको केही दिनसम्म संक्रमण घट्न सक्छ । केही दिनपछि पहिलेको अवस्थामा फर्कन सक्छ । निषेधाज्ञा गरेर मात्रै हुँदैन । निषेधाज्ञापछि जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र गराउन पछि हटेको खण्डमा संक्रमण दर ह्वात्तै बढ्छ ।
त्यसैले सरकारले निषेधाज्ञालाई मात्रै संक्रमण रोक्ने नाममा हतियार बनाउन भएन । निषेधाज्ञापछि सबै क्षेत्रमा लाइन लगाएर मात्रै बस चढ्न पाइने, लाइन नलागी पसलबाट सामान किनबेच गर्न नपाउने, जुन ठाउँमा सेवा लिनका लागि जो पहिला जान्छ, उसले सेवा पाउने व्यवस्था मिलाउनुपर्छ । मास्कको प्रयोग, सामाजिक दुरी, साबुनपानीले तथा सेनिटाइजरको प्रयोग आदि सामान्य कुरामा सरकार र जनताले ध्यान दिन नसक्दा समस्या भएको हो ।
यो महामारीमा सरकारले सामान्य कुरामा ध्यान पुर्याउन सकेको भएको कोरोना संक्रमणको दर बढ्ने थिएन । महामारीको समयमा सरकारी तथा केही निजी संस्थाहरुमा तीन तहले मात्रै काम गर्ने व्यवस्था मिलाउनुपर्छ । सरकारी कार्यालयमा एउटाले फाइल उठाउँछ, त्यो फाइल विभिन्न ७-८ तहमा माथि तथा व्यक्तिको हातमा परेपछि मात्रै यसबारे निर्णय गर्नुपर्छ ।
कुनैपनि मन्त्रालय वा कार्यलयमा कुनैपनि विषयमा निर्णय गर्न तल्लो तहदेखि सचिवसम्म पुर्याउनका लागि आजभोली कर्मचारीका कार्यकक्षमा कम्तीमा ७÷८ जनाले फाइलमा साइन गर्नुपर्छ । त्यो फाइल धेरै व्यक्तिले समात्न र बोक्न पर्छ । यस्तो अवस्थामा थाहा नपाइकन संक्रमण बढिरहेको हुन सक्छ । यस्तै सामान्य व्यवहारबाट संक्रमण फैलिरहेको छ । कुनैपनि विषयमा छलफल निर्णय एउटै कार्यालय भित्र तीन तहमा मिलाउन सक्ने व्यवस्था सरकारले मिलाउनुपर्छ ।
निषेधाज्ञामा सरकारी कार्यालय खुलेका छन् । साँच्चै निषेधाज्ञा गरेर संक्रमणको चेन ब्रेक गर्ने हो भने, नागरिकता, पासपोर्ट, लालपुर्जा लिन आफै स्वयम् व्यक्ति उपस्थित हुन पर्छ । अन्य सरकारी कामलाई अनलाइनबाट गर्ने व्यवस्था मिलाएको खण्डमा मात्रै संक्रमण दर घट्न सक्छ । निषेधाज्ञा हुँदापनि खुल्ने कार्यालय लगाएतका ठाउँमा नियमसँगै कार्यान्वयन र निगरानी सम्बन्धित निकायहरुले गरेका छैनन् ।
यस समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तह, प्रदेशसँग समन्वय गरेर वार्डवार्डमा पुगेर नमुना संकलन कोरोना परीक्षण गर्नुपर्छ । कोरोना भाइरसलाई चेन ब्रेक गर्नका लागि कम्तीमा ३ हप्ता पूर्ण लकडाउन गर्नैपर्छ । कोरोना संक्रमण दर अवश्य पनि बढ्छ । त्यसका लागि पूर्णरुपमा परीक्षण, उपचार र नियन्त्रणमा सरकारले तयारी तर्फ पूर्ण रुपमा ध्यान दिनैपर्छ । निषेधाज्ञा भर र निषेधाज्ञापछि पनि जनताले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुको विकल्प छैन । राज्यले अस्पतालको बेड,अक्सिजन, खोप र जनशक्ति बढाउनुको विकल्प छैन ।
नन्कोभिड बिरामीले दुख पाउँछन् : समीरमणि दिक्षित जनस्वास्थ्य विज्ञ
संक्रमणको चेन ब्रेक हुन कम्तीमा पनि एक महिना लाग्छ । नेपालमा संक्रमण दर उत्कर्षमा पुग्न अझै एक महिना लाग्न सक्छ । निषेधाज्ञा १५ दिन भन्दा बढि सरकारले बढाउन सक्छ होला । निषेधाज्ञा थप गरेको खण्डमा केही समयसम्म संक्रमण दर घट्न सक्छन् ।
नेपालले भारतको फलो गरेको छ । भारतमा अवको दुई हप्तामा संक्रमण अझै उत्कर्षमा पुग्छ भनिएको छ । नेपालमा संक्रमण दर उत्कर्षमा पुग्ने क्रम आउँदै छ । त्यसैले अहिले निषेधाज्ञाले चेन बे्रक हुँदैन, फरक पार्ने सम्भावना छैन । निषेधाज्ञा देखाउने दाँत मात्रै हो । यस निषेधाज्ञामा अस्पताल जानेको चाप घट्ला, नयाँ संक्रमणलाई यसले तत्काल फरक पार्दैन । नागरिकलाई राज्यले केही ग¥यो भनेर देखाउने बाटो हो । एक महिनासम्म कडा खालको लकडाउन भयोभने चेन ब्रेक हुन सक्छ । अब सरकारले हतियारको रुप बन्दाबन्दी रोज्नुको विकल्प बाहेक केही नभएको जस्तै ग¥यो ।
पहिलाको कोरोना संक्रमणको लहरबाट खासै पाठ सिके जस्तो देखिएको छैन । सरकारले अहिलेसम्म खोप भित्राउने कुरालाई जोड दिनुपर्छ । अब नन्कोभिड बिरामीले दुख पाउँछन् । निषेधाज्ञाको समयमा सरकारले बेड, अक्सिजनको संख्या बढाउन र कोरोना परीक्षणलाई तिव्रता दिन अतिआवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?