शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमलाको बयान : आफ्नै इच्छाले माओवादी रोजें (भिडियोसहित)

आइतबार, १९ वैशाख २०७८, १७ : ५७
आइतबार, १९ वैशाख २०७८

लुम्बिनी प्रदेशकी सांसद विमला खत्री (वली) लाई नेकपा एमालेले आफ्नो सांसदका रुपमा गणना गर्दै आइरहेको थियो । उनलाई समेत गनेर मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा आफ्नो ४१ सीट, अर्थात् बहुमत रहेको दाबी गरेका थिए । तर, आइतबार सांसद वली माओवादीतर्फ लागेको खबर सार्वजनिक भयो ।

कतिपय मानिसहरुले विमलालाई माओवादीले अपहरण गरेर अज्ञातस्थलमा राखेको भन्नसमेत भ्याए । तर, उनी आइतबार अपरान्ह पत्रकारहरू माझ आइन् र भनिन्– ‘कसैले मलाई आउनुपर्छ भनेर पनि होइन, आफूखुशी, मेरो इच्छाले नै मैले यो दल रोजेको हो ।’

विमलाले पत्रकारहरुसँग भनिन्, ‘म सामान्य गृहिणी मान्छे, श्रीमानको मृत्युपछि राजनीतिमा आएँ । पहिले नेकपा एउटै थियो । माओवादी र एमाले भनेर पछि चिन्दै जाँदा माओवादीहरूले मलाई बढी सपोर्ट गरेको हुनाले आफूखुशी, मेरो इच्छाले नै मैले यो दल रोजेको हो ।’

२०४१ सालमा जन्मेकी विमला २०७६ मंसिर १४ गते उपनिर्वाचनबाट सांसद बनेकी हुन् । दाङ्ग क्षेत्र नम्बर ३ (ख) का एमाले सांसद रहेका विमलाका पति उत्तरकुमार वलीको दुर्घटनामा परेर निधन भएपछि उनी उप चुनाव लडेकी हुन् ।

विमला उपनिर्वाचन लड्दा एमालेको अस्तित्व थिएन, नेकपा बनिसकेको थियो । तर, जब सर्वोच्च अदालतले पार्टी फुटाइदियो, त्यसपछि नेकपाबाट जितेकी सांसद विमलाको पार्टीगत हैसियत कुन् हो भन्ने प्रश्न उब्जियो । एमालेले उनलाई आफ्नो दलको सांसदको सूचीमा राख्दै आएको थियो । तर, विमलाले अन्ततः माओवादीलाई रोजिन् ।

उनले गत चैत २५ गते नै माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई पत्र लेखेर माओवादी केन्द्रको सदस्य भई काम गर्न इच्छुक रहेको बताएकी थिइन् ।

माओवादी केन्द्र लुम्बिनी प्रदेशकी अध्यक्ष ओनसरी घर्ती भन्छिन्,‘यो अहिलेको कुरो होइन, उहाँले नेकपाबाट चुनाव लड्दै खेरि नै हामीसँग सँगै हुने कुरा गरिसक्नुभएको थियो । पछि अदालतले पार्टीलाई अलग–अलग बनाइसकेपछि म तपाईहरुसँगै हुन्छु भनिरहनुभएको थियो । हामीले ठीकै छ, त्यसो हो भनेर प्रक्रियामा आउनोस् भनेपछि उहाँ आउनुभएको हो ।’

सांसद विमला वलीबारे घर्तीको भनाइ यस्तो छ–

विमलाजीले गत चैतमै पार्टी सदस्यता पाउँ भनेर निवेदन दिनुभएको थियो । पार्टी अध्यक्षलाई दिनुभएको थियो, त्यसपछि प्रदेशमा दलको नेतालाई पनि निवेदन दिनुभएको थियो । उहाँलाई हामीले प्रभावित गरेर अहिले भर्खरै पार्टीमा प्रवेश गराएको होइन ।

कुरा के थियो भने उपनिर्वाचन लड्ने समयमा दाङका एमाले साथीहरुले उहाँलाई एकदमै असहयोग गरे । त्यतिखेरको उपचुनावमा उहाँलाई जिताउन म आफैं पनि खटिएकी थिएँ । हाम्रा साथीहरु उहाँलाई चुनाव जिताउन ज्यान फालेर लागेका थिए । त्यसबेलैै विमलाले मलाई भन्नुभएको थियो– तपाईहरु जता जानुहुन्छ, म त्यतै जान्छु दिदी । तपाईहरुले यत्रो दुःख गरेर मलाई चुनाव जिताउनुभयो । वास्तवमा मैले पहिले देखेको पनि थिइनँ, चिनेको पनि थिइनँ, यसरी सहयोग गर्नुहोला भन्ने मैले सोचेकी पनि थिइनँ । तर, तपाईहरुले यसरी सहयोग गर्नुभयो, म बिर्सिन्नँ भन्नुभएको थियो । अनि अहिले उहाँ यतै आउने कुरा गर्दा हामीलाई पनि खुशी लाग्यो । अब उहाँलाई पनि आफैंले भनेजस्तो भयो ।

यो अहिलेको कुरो होइन, उहाँले नेकपाबाट चुनाव लड्दैखेरि नै हामीसँग सँगै हुने कुरा गरिसक्नुभएको थियो । पछि अदालतले पार्टीलाई अलग–अलग बनाइसकेपछि म तपाईहरुसँगै हुन्छु भनिरहनुभएको थियो । हामीले ठीकै छ, त्यसो हो भनेर प्रक्रियामा आउनोस् भनेपछि उहाँ आउनुभएको हो ।

नेकपालाई अदालतले अलग–अलग बनाएपछि नेकपाबाट चुनाव जितेका माननीयहरु आफूले इच्छाएको दलमा जान सक्नुहुन्छ । राष्ट्रियसभामा नारायणकाजी श्रेष्ठ, रामनारायण बिडारी, गंगा बेल्बासे लगायत धेरै जना नेकपाबाट छानिनुभएको हो । उहाँहरुले केन्द्रमा पनि दल ‘डिक्लियर’ गरिसक्नुभयो । यहाँ पनि माओवादीको सदस्य रहन पाउँ भनेर विमलाजीले भनिसकेपछि स्वतः क्लियर भयो र आजदेखि सचिवालयले सार्वजनिक नै गरिसक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप