शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वसभामुख ओनसरी भन्छिन्– किर्ते गर्नुभएछ, शंकर पोखरेलको मुख्यमन्त्री नियुक्ति बदर हुन्छ

‘हामीसँग ४२ जना सांसदहरु सशरीर उपस्थित छन्’
आइतबार, १९ वैशाख २०७८, १६ : १२
आइतबार, १९ वैशाख २०७८

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले आफूहरुको पक्षमा ४२ जना सांसद रहेको दाबी गर्दै मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदर हुने दाबी गरेकी छिन् । अहिले बुटवलमा विपक्षी दलहरूको बैठकमै रहेकी घर्तीले रातोपाटीसँग भनिन्, ‘हामी तिरका सांसदहरुको पनि हस्ताक्षर देखाएर उहाँ फेरि मुख्यमन्त्री बन्नुभएको रहेछ, किर्ते गरेर प्रदेश प्रमुखलाई झुक्याउनुभएको रहेछ, यहाँ ४२ जना सांसदहरु सशरीर उपस्थित छन् । ४२ जनाले दाबी गरेपछि पोखरेलको मुख्यमन्त्री पद बदर हुन्छ ।’

लुम्बिनीको राजनीतिक घटनाक्रमबारे पूर्वसभामुख घर्तीसँग गरिएको थप कुराकानी उनकै शब्दमा–

मुख्यमन्त्री शंकर पोखरेल अविश्वासको प्रस्ताव देखेर भयभित हुनुभयो । किनभने, उहाँले प्रक्रियाको बीचमा आएर राजीनामा गर्नुभयो । हामीले त उहाँलाई पहिले नै तपाई राजीनामा गर्नुहोस् भनेका थियौं । यो त आवाज त पहिलेदेखि नै उठिराखेको थियो नि । त्यतिबेलै उहाँले सरासर राजीनामा गर्नुपथ्र्यो ।

हुन त केन्द्रमा पनि राजीनामा दिएका छैनन्, अनैतिक भएरै बसिराखेका छन् । अहिले आएर अविश्वासको फेस गर्न नसकेर मुख्यमन्त्रीज्यूले राजीनामा गरेको कुरा चाहिँ सत्य हो । तर, पनि म उहाँलाई धन्यवाद भन्छु । उहाँले राजीनामा गर्नुभयो, म धन्यवाद भन्छु त्यसका लागि । तर, उहाँले जसरी राजीनामा गर्नुभयो, फेरि उहाँ आफैंले मुख्यमन्त्रीमा दाबी गर्न चाहिँ पाइँदैन । किनभने, उहाँ बहुमतमा हुनुहुन्न ।

बहुमतमा नभएरै त उहाँले डरले राजीनामा गर्नुभयो नि । नभए त आरामले फेस गरे भइहाल्थ्यो नि । उहाँसँग बहुमत छ भने त हाउसको प्रक्रिया अघि बढिसकेको थियो, किन त्यो प्रक्रियालाई अवरुद्ध गर्ने ? त्यसो गर्नुपर्ने जरुरी नै थिएन ।

त्यसैले म के भन्न चाहन्छु भने उहाँसँग बहुमत थिएन । डराएर उहाँले राजीनामा गर्नुभएको हो । राजीनामा गर्नुभयो, धन्यवाद छ, तर, जसरी उहाँले दाबी गरेर जानुभएको छ, त्यो चाहिँ पाउनुहुन्न । उहाँले आफ्नो विकल्पमा अर्को मान्छे उभ्याउनुपर्थ्यो, दल नेता परिवर्तन गर्नुपथ्र्यो । त्यो नगरेको कुरा नियमसंगत छैन । त्यसैले उहाँले मुख्यमन्त्री दाबी गर्न पाउनुहुन्न ।

दोस्रो कुरा, अहिले उहाँसँग बहुमत छैन । ४१ जनाको बहुमत हुन्छ । आफूले मन–मनमा गनेर पु¥याउन पाइन्नँ । विमला वलीले त माओवादी दल रोजिसक्नुभयो । पहिल्यै रोजिसकेको कुरा हो, उहाँको दलमा हुनुहुन्न । ४० जनामात्रै हुनुहुन्छ उहाँहरु । त्यसैले उहाँ त बहुमतमै हुनुहुन्न, अनि कसरी उहाँले आफूसँग बहुमत भएको भनेर प्रदेश प्रमुख कहाँ दाबी गर्नुभयो ? यो असंवैधानिक कुरा हो ।

म नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशको अध्यक्षको हैसियतले के भन्छु भने अहिले हामीसँग बहुमत छ । हामीले मुख्यमन्त्रीमा दाबी गरेका छौं । हाम्रा मुख्यमन्त्रीको उम्मेदवार कुलप्रसाद केसी हुनुहुन्छ ।

विमलाजी आफैं आउनुभएको हो, हामीले प्रभावमा पारेको होइन

विमलाजीले गत चैतमै पार्टी सदस्यता पाउँ भनेर निवेदन दिनुभएको थियो । पार्टी अध्यक्षलाई दिनुभएको थियो, त्यसपछि प्रदेशमा दलको नेतालाई पनि निवेदन दिनुभएको थियो । उहाँलाई हामीले प्रभावित गरेर अहिले भर्खरै पार्टीमा प्रवेश गराएको होइन ।

कुरा के थियो भने उपनिर्वाचन लड्ने समयमा दाङका एमाले साथीहरुले उहाँलाई एकदमै असहयोग गरे । त्यतिखेरको उपचुनावमा उहाँलाई जिताउन म आफैं पनि खटिएकी थिएँ । हाम्रा साथीहरु उहाँलाई चुनाव जिताउन ज्यान फालेर लागेका थिए । त्यसबेलैै विमलाले मलाई भन्नुभएको थियो– तपाईहरु जता जानुहुन्छ, म त्यतै जान्छु दिदी । तपाईहरुले यत्रो दुःख गरेर मलाई चुनाव जिताउनुभयो । वास्तवमा मैले पहिले देखेको पनि थिइनँ, चिनेको पनि थिइनँ, यसरी सहयोग गर्नुहोला भन्ने मैले सोचेकी पनि थिइनँ । तर, तपाईहरुले यसरी सहयोग गर्नुभयो, म बिर्सिन्नँ भन्नुभएको थियो । अनि अहिले उहाँ यतै आउने कुरा गर्दा हामीलाई पनि खुशी लाग्यो । अब उहाँलाई पनि आफैंले भनेजस्तो भयो ।

यो अहिलेको कुरो होइन, उहाँले नेकपाबाट चुनाव लड्दैखेरि नै हामीसँग सँगै हुने कुरा गरिसक्नुभएको थियो । पछि अदालतले पार्टीलाई अलग–अलग बनाइसकेपछि म तपाईहरुसँगै हुन्छु भनिरहनुभएको थियो । हामीले ठीकै छ, त्यसो हो भनेर प्रक्रियामा आउनोस् भनेपछि उहाँ आउनुभएको हो ।

नेकपालाई अदालतले अलग–अलग बनाएपछि नेकपाबाट चुनाव जितेका माननीयहरु आफूले इच्छाएको दलमा जान सक्नुहुन्छ । राष्ट्रियसभामा नारायणकाजी श्रेष्ठ, रामनारायण बिडारी, गंगा बेल्बासे लगायत धेरै जना नेकपाबाट छानिनुभएको हो । उहाँहरुले केन्द्रमा पनि दल ‘डिक्लियर’ गरिसक्नुभयो । यहाँ पनि माओवादीको सदस्य रहन पाउँ भनेर विमलाजीले भनिसकेपछि स्वतः क्लियर भयो र आजदेखि सचिवालयले सार्वजनिक नै गरिसक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप