मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा

आइतबार, १९ वैशाख २०७८, १६ : ०९
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ । कोभिड १९ को संक्रमण बढेसँगै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरु पनि कोभिड १९ संक्रमणको जोखिममा परेका छन् ।  भारतमा कोभिड १९ संक्रमणको दोश्रो लहर घलेसँगै कामको सिलसिलामा भारत गएका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । भारतबाट नेपाल फर्केका ६० प्रतिशत बढी नेपालीहरु संक्रमित पाइएको छ ।

यस्तो अवस्थामा प्रवासी नेपालीको सीधा सम्पर्कमा आउने सशस्त्र प्रहरी बलसँगै त्यहाँ खटिने नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरु पनि संक्रमित भइरहेका छन् । त्यसमध्ये सीमा सुरक्षार्थ परिचालन भएका सशस्त्र प्रहरी जवानहरू संक्रमणको बढी जोखिममा रहेका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता नायब महानिरीक्षक राजु अर्यालका अनुसार संगठनभित्र आन्तरिक व्यवस्थापन गरेर सकेसम्म जोखिम कम गर्ने र  संक्रमण हुन नदिने उपाय अवलम्बन गरिएको छ । सशस्त्र प्रहरी बलले कोभिड १९ को पहिलो लहरमा लिएको शिक्षा र अनुभवको आधारमा तयारी गरेर काम गरिरहेको नायब महानिरीक्षक अर्यालले बताए । संगठनभित्र ब्यारेकदेखि डियुटी खटिदा सम्मको जोखिम मूल्यांकन गरेर काम गरिरहेको अर्यालले बताए ।

सशस्त्र प्रहरी बलका १ हजारभन्दा बढी सुरक्षाकर्मी अहिले कोभिड १९ बाट संक्रमित भइसकेका छन् । अहिले आइसोलेसनमा ५ जना सुरक्षाकर्मीले उपचार गराइरहेका छन् । कोभिड १९ को दोश्रो लहरमा ६६ जना सुरक्षाकर्मी संक्रमित भएको नायब महानिरीक्षक अर्यालले जानकारी दिए । सशस्त्र प्रहरी बलको आफ्नो छुट्टै अस्पताल भएपनि संक्रमितको चाप बढेकोले चुनौती थपेको अर्यालले बताए । अस्पतालको चापलाई थेग्न स्वास्थ्यसँग सम्बन्धित जनशक्ति अपुग भएको भन्दै उनले वर्तमान अवस्थामा आवश्यक जनशक्तिसँगै प्राविधिक सामाग्री पनि थप्न सके अस्पतालले कोभिड १९ विरुद्धको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।  

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका गरि अहिले सम्म ४० हजार बढी सुरक्षाकर्मीहरु कोरोना संक्रमित भइसकेका छन् । कोभिड १९ का कारण १० जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । सामूहिक रुपमा ब्यारेकमा बस्ने भएकाले एकजना सुरक्षाकर्मी मात्रै संक्रमित भए संक्रमित सम्बद्ध पुरै युनिट जोखिममा पर्ने खतरा छ । त्यसैले पनि सरकारले अग्रपंक्तिमा खटिने सबै सुरक्षाकर्मीका लागि स्वास्थ्य सतर्कताका मापदण्ड व्यवहारमा कार्यान्वयन गर्दै सुरक्षाका लागि आवश्यक श्रोत र साधन पर्याप्त मात्रामा उपलब्ध गराउन आवश्यक देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप