शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

चालु आवमा वन्यजन्तु आक्रमणबाट ६ जनाको मृत्यु

आइतबार, १९ वैशाख २०७८, १२ : १६
आइतबार, १९ वैशाख २०७८

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षमा २३ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन् । तीमध्ये गैँडाबाट १०, भालुबाट सात, बँदेलबाट पाँच र हात्तीको आक्रमणबाट एकजना घाइते भएका हुन् ।
 गत आर्थिक वर्षमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको थियो । हात्ती र गैँडाले तीन÷तीन जनालाई आक्रमण गरी मारेको थियो । गत वर्ष वन्यजन्तुबाट ३४ जना घाइते भएको उनले जानकारी दिए । त्यसमध्ये गैँडा र बँदेलले १३/१३, मगर गोही र हात्तीले तीन÷तीन तथा भालु र अजिङ्गरले एक÷एक जनालाई घाइते बनाएको थियो ।

मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भई मृत्यु भएका परिवारलाई सरकारले राहत दिने व्यवस्था छ । वन्यजन्तुबाट हुने क्षति राहत निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ अनुसार मृतकले रु १० लाख पाउने व्यवस्था छ । अधिकारीका अनुसार घाइतेका हकमा रु दुई लाखसम्म निकुञ्ज कार्यालयले दिने व्यवस्था छ ।

अङ्गभङ्ग भएर लामो समय उपचार गर्नुपर्ने अवस्थामा सरकारी अस्पतालमा गरेको उपचारको सबै खर्च सरकारले व्यहोर्ने ऐनमा व्यवस्था छ । आकस्मिक अवस्थामा भने जुनसुकै अस्पतालमा उपचार गर्न पाउने व्यवस्था छ । विगतका वर्षमा राहत ढिलो प्राप्त हुने समस्या रहेकामा हाल भने निकुञ्जको कार्यालयले राहत दिने भएकाले प्रक्रिया पूरा गरी तत्काल भुक्तान गरिँदै आएको छ ।

यस कार्यालयले निकुञ्जसहित डिभिजन वन कार्यालय चितवन, धादिङ, नवलपरासी सुस्ता पूर्व र पश्चिम गरी चार जिल्लाका घाइतेको राहतसमेत उपलब्ध गराउँदै आएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा चार जिल्ला पर्दछन् । ती जिल्लाका १२ पालिकाका ९७ वडा मध्यवर्ती क्षेत्रमा पर्दछन् । निकुञ्जसँग जोडिएकाले वन्यजन्तु बाहिर निस्कने र स्थानीयवासीलाई दुःख दिने गर्दछन् । मानिसलाई आक्रमणका अतिरिक्त घर पालुवा पशुपन्छी, घर गोठ, बालीनालीसमेत क्षति पुर्याउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप