केन्द्रीय संस्करण

बैंक कर्मचारीको अनुभूति : मनमा डर, तनमा जिम्मेवारी

person explore access_timeबैशाख १९, २०७८ chat_bubble_outline0

यसै पनि व्यस्त दैनिकी । बिहानको समय सधैं हतार–हतार हुने । जागिरे दैनिकी । हातमा घडी लगाउँंदै घडीको सुईसँगै म हतास मुद्रामा अफिस जाने तयारी गर्दै थिएँ सानो छोरा तोते बोल्दै प्रष्ट नबुझिने भाषामा मामु हजुरको विदा छैन ? भन्दै काखमा लुटुपुटु गर्न थाल्यो । सानु, म छिटो आउँछु आज लकडाउन छ, अफिस अलि छिटो विदा हुन्छ भन्दै सम्झाउन खोजें ।

मन त मेरो पनि कहाँ थियो र तिमीलाई छोडेर युद्धमा होमिन । मनलाई बलियो पार्दै छोरालाई सान्त्वना दिँदै स्कुटी स्टार्ट गरी आफ्नो बाटो लागें ।

चोक–चोकमा प्रहरीले पहरा गरिरहेका छन् । कामै नपरी हिँड्नेलाई सम्झाइरहेका छन् । कैयौं सवारीसाधन रोकिएका छन् । किन मान्छे आफु बाँच्नका लागि पनि तयार हुँदैन ? छिनछिनमा साइरन बजाउँदै तिव्र गतिमा हुइँकिएका एम्बुलेन्सभित्रका मान्छेहरूको पीडाको चित्कार, अस्पतालहरुमा बिरामीले बेड नपाएर भुइँमै तड्पिएर मर्नुपरेका कहालीलाग्दो घटनाका समाचार सुन्दा मनै सिरिङ्ग हुन्छ । यस्तोबेलामा पनि मानिसहरु किन अटेरी गर्छन् होला ?

मनमा अनेक कुरा खेलाउँदै धन्न अफिस (बैंक) पुग्छु । मनमा डर छ, त्रास छ । मान्छे देख्दा आफैं टाढा सर्न मन लाग्छ । निषेधाज्ञा भनेको छ, सेवा दिनुपर्छ पनि भनिएको छ । होइन, सेवाग्राही चाँही बन्दमा कसरी आउने होलान् ? प्रहरीले के भनेर छोडदिन्छ होला ? फेरि सेवाग्राही नै नआउने हो भने कार्यालयहरु किन खोल्नु ? आफैंलाई प्रश्न गर्दै थिएँ, सेवाग्राहीको भिड लागिहाल्यो ।

गेटमा सेक्युरिटीले हातमा सेनिटाइजर राखिदिएपछि भित्र आउने अनुमति मिल्यो । मास्क नलगाई भित्र पस्ने अनुमति छैन ।

यसैबीच एकजना सेवाग्राही हतास मुद्रामा आए । उनकी आमा कोभिडका कारण थला परेर अस्पतालमा भर्ना गरिएको रहेछ । कुरुवा बसेका उनी कति दिन बसे कुन्नि, त्यति दिन नै पुरानोजस्तो थियो उनले लगाएको मास्क । त्यतिमात्रै होइन, मास्क नाकभन्दा तल लगाइएको थियो ।

मनले मानेन, सर प्लिज, त्यो मास्क नाक छोप्ने गरी लगाउनु न है भनेर सम्झाएँ । उनलाई त्यो कुरा अलि चित्त बुझेन सायद । झन नजिक आएर म संक्रमित होइन, नडराउनुस् भन्दै चर्को स्वरमा जवाफ दिए । हुन त अरुले भनेको मान्नु हाम्रो समाजमा सानो मान्छे बन्नुसरह ठान्छ ।

मन झन डरायो । सानो छोराले मामु नजानु अफिस भनेको कुरा याद आयो । जिउभरि काँडा ! ओहो कतै मलाई पो ? दैनिक समाचारमा आउने बिरामीको दर्दनाक स्थिति आँखाभरि फिल्म बनेर घुमिरह्यो । हत्तपत्त सेनिटाइजर हातमा दलें । र, उफ् गर्दै काममै लागेँ ।

काम एकातिर, ताप सबैतिर

छोरासँगै आमाको याद आयो । आमालाई एक कल गरेर कतै नजानु भनी सम्झाउन मन लाग्यो । आमाको पहिलो स्वर ‘नानी तिमी बचेर काम गर है’ भन्ने थियो  । त्यति भन्दाभन्दै आमा खोकेर बोल्न सक्नुभएन । मलाई बचेर काम गर भन्ने आमा आफूलाई ग्राह्रो भएको देखाउन नखोज्दा नखोज्दै मैले पत्तो पाइहालें । आमा, आमा । अँह, आमा बोल्नुभएन । मलाई अस्हय भयो । यता अफिस छुट्टी भएकै छैन । उता छोरोले बाटो हेरेर बसेको छ ।

काम सकेर घर जाँदा साँझ अलि अबेर भयो । सानु (छोरो) बरण्डामा खुसीले उफ्रिँदै मलाई लिन तल बाटोमै आयो । मैले उसलाई अलि पर बस बाबु मैले कपडा फेरेर, हातमुख धोएर मात्रै नजिक आउँछु भनेर सम्झाएँ । म टाढा भाग्न खोजें । सानु, एकैछिन है, मैले फ्रेस हुनुपर्छ अनि माया गर्छु ल ? भने पनि किन मान्थ्यो र । ऊ अंगालोमा बेरिन आयो । मेरो मन डराएको छ ।

यस्तै–यस्तैमा साँझको काम सकेर सुत्नेबेला भयो । आमाको हालखबर बुझ्न मन लाग्यो । आमालाई अलि च्याप्न थालेछ क्यार । भोलि बिहान सबेरै जानुपर्ला भन्दै मनमा अनेकन कुरा खेलाउँदा खेलाउँदै कति बेला निदाइयो, पत्तै भएन ।

बिहान करीव तीन बजेको थियो, सानु छटपटिन थाल्यो । उसको शरीरले मलाई पोल्न लाग्यो । अत्तालिँदै उठें । छोरालाई १०२ डिग्री ज्वरो आएको रहेछ । झसँग हुंदै आधा छोप्नेगरी मास्क लगाउनेको याद आयो । होस हवास उड्यो । काखमा च्यापेर राखें ।

बिहानपख डाक्टरसँग सम्पर्क गरी औषधि चलाएँ । उता आमालाई अस्पताल ल्याउनुपर्नेछ । आमालाई श्वास–प्रश्वासमा समस्या देखिएको छ । अस्पतालमा कतै बेड छैन । एम्बुलेन्समा राखेर कहिले यता, कहिले उता हारगुहार गर्दागर्दै दिन बितिसक्यो । अँह, कतै पाइएन बेड । कतै पाइएन तत्कालै उपचार ।

डाक्टरको सल्लाह बमोजिम आमालाई घरमै उपचार थालियो । बेलैमाथि उपचार पाउँदा निको हुने सम्भावना धेरै हुँदोरहेछ । अस्पतालको परिसरमा उपचारका लागि भौंतारिनेको बाक्लै भिड थियो ।

छटपटाहट अनि पीडाको चित्कारसँगै बोल्न र शरीर धान्न नसक्ने अवस्थामा पुगेपछि मात्रै अस्पताल ल्याइएका थिए कति । श्वास फुल्दा–फुल्दै अक्सिजनको अभाव र उपचारको अभावमा आफ्नैको काखमा ज्यान गुमाउने पनि त्यही भिडमा थिए । अस्पतालको शैयामा मर्नु र जिउनुको दुरी घटाइरहेका थिए कति ।

उता मृत शरीर प्लाष्टिकको कैयौं पत्रले बेरेर बाहिर निकालिँदै थिए । यसरी लाचार बन्नुपर्ने रहेछ मान्छे । कसैको केही लागेन । आफ्नाहरुले जीवनको भिख माग्दा पनि निरीह पशुपंक्षीजस्तो टुलुटुलु टाढाबाटै हेरेर बस्नुपर्ने यो कस्तो समय आयो । यो कस्तो पीडा भोग्नुप¥यो । असुरक्षित तरिकाले हिँडडुल गर्नेहरु कसैको सम्पर्कमा नआएर एक्लै बस्न सकेको भए भोलिका दिनमा सँगै रमाउन सकिन्थ्यो । आफू सुरक्षित रहेर अरुको पनि सुरक्षा गर्न सकिन्थ्यो ।

दिनभरिको दर्दनाक परिस्थितिलाई नजिकबाट नियालेर हेर्दा आफूलाई सर्वश्रेष्ठ मान्ने मानव नाथे एउटा भाइरससँग थर्कमान भएको छ, भयभीत भएको छ । कात्रोमा समेत पैसाको थैली सिलाउन खोज्ने मान्छे आज पैसा छुन डराएको छ ।

हाम्रा अगाडि देखिने सबै वस्तुहरुमा हाम्रो कब्जा खोज्यौं । उड्नेदेखि घस्रनेसम्मका सबै जीव–वस्तुको उपभोग गरी आनन्द लिन सक्ने हामी अहिले डराएका छौं । हिजो जंगलमा उडेको पंक्षीलाई पिँजडामा कैद गरेर बाहिरबाट हेर्दै हामी कति खुसी भयौं । जबरजस्ती हामीले हाम्रो भाषा सिकाउन थाल्यांै । जंगलको स्वतन्त्र चरीलाई आफ्नो कव्जामा राखी उसलाई उड्न नसक्ने बनायौं । अझ सुनको पिँजडाको धाक लगायौं । आज त्यही चरीले स्वतन्त्र भई उड्न पाउँदा हामीलाई गिज्जाइरहेको छ ।

मान्छे एक दिन अवश्य मर्नुपर्छ । वास्तवमा जन्म भ्रम हो, मृत्यु सत्य हो । मान्छेले विज्ञानका अविस्कारका जति ठूला चमत्कार गरे पनि मानिससँग मृत्यु रोक्ने क्षमता छैन । तर, अकल्पनीय घटनाबाहेक आफ्नो आयुलाई केही लम्ब्याउने उपाय भने हरेक व्यक्तिसँग हुन्छ । त्यो उपाय भनेको जीवनको अनुशासनको पालना गर्नु हो । जसले अनुशासन पालना गर्दछ, उ दीर्घजीवी हुन सक्छ ।

त्यसैका लागि संकटमा धैर्य गरौं । लोभ नगरौं । खानपिनमा विशेष ध्यान दिऔं । सकारात्मक सोचौं । योग, ध्यान र चिन्तन गरौं । घरभित्रै, परिवारसँगै रमाएर बसौं । अत्यावश्यक काम बाहेक विभिन्न बहानामा बाहिर ननिस्कौं । आफ्नै लागि आफैं बाचौं र अरुलाई पनि बचाऔं । भिडभाडबाट टाढै बसौं । आतंकित होइन, सचेत बन्न जरुरी छ । सावधानी अपनाऔं ।

सरकारले जारी गरेको स्वास्थ्य निर्देशनको सही पालना गरौं । निषेधाज्ञाको पालना गरेर जोगिने उपाय अपनाऔं । घरमै बसेर गर्जो टार्ने विकल्प रोजौं । बाँच्न त दिएन, मृत्युपश्चात पनि आफन्तले मुखसम्म हेर्न नपाउने यो दर्दनाक अवस्थाबाट जोगिने उपाय खोजौं ।

कसैको मृत्युमा शंख नबज्ने भयो । हामी हुर्किएको संस्कारअनुसार लासले कात्रो पनि पाएको छैन । पशुपति, आर्यघाट, देउघाट, त्रिवेणी, कर्साघाट, रिडीघाटजस्ता पवित्रघाट पाएको छैन । दागबत्ती दिने छोरो पनि बाबुसँगै घाटसम्म जान पाएको छैन । अन्तिमपटक मुख हेर्दै आमाले रुन पाएकी छैनन् । न कुरुवा, न त मर्दाको मलामी ।

त्यतिमात्र होइन, बिछोडको पीडामा रहेका परिवारलाई पनि कसैको सहारा अनि समवेदना छैन । अझ पनि मान्छे किन नडराएका होलान् । कसले बुझाउने होला उसलाई आफैं बाँच्ने कुरा ? मनमा अनेकन प्रश्न अनि आफ्नो बाध्यता सम्झिँदै अर्को रात पनि बित्छ । फेरि उही युद्धमा होमिने समय शुरु हुन्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.