उनैका कारण मैले १४ नम्बर जर्सी रोजेको हुँ...
भर्खरै सम्पन्न टी–२० त्रिदेशिय क्रिकेटअन्तर्गत पाँच खेलमा चार अर्धशतकसहित २ सय ७८ रन प्रहार गरेर कुशल भुर्तेल म्यान अफ दि सिरिज चुनिए । यो उपलब्धिलाई भुर्तेलले कसरी लिएका छन् ? उनीसँग रातोपाटीका कुवेर पाठकले गरेको कुराकानीको सम्पादित अंश –
पूर्वकप्तान पारस खड्काले चोटका कारण नखेल्ने भएपछि प्लेयिङ ११ मा तपाईंको अवसर खुल्यो ? ओपनिङमा आउनुपर्दा कत्तिको प्रेसर थियो ?
क्याम्प चलिरहेका बेला आसिफ, मलगायत हामी सबैले राम्रो गरिरहेका थियौं । त्यहीबेला पारस दाई घाइते हुनुभयो, हामी सबै दुखी भएका थियौं । त्यसपछि आसिफ र मैले ओपनिङ गर्ने अनि ज्ञानेन्द्र मल्ल दाई आउने तय भयो ।
मैले इमर्जिङ कप पनि खेलिसकेकाले धेरै प्रेसर महसुस गरिनँ । आफ्नो टिमलाई कसरी जिताउने भन्ने चैं थियो । नेदरल्यान्डले १ सय ३८ बनायो । त्यसपछि हामी राम्रो गर्ने भन्ने थियो । ओपनिङ राम्रो भयो भने मिडिल अर्डर र लोअर अर्डरले पक्कै राम्रो गर्छ भन्ने विश्वास थियो । त्यही रणनीतिअनुसार खेल्यौँ र सुरुवाती खेलमै म र आसिफ दुबैले अर्धशतक बनायौं ।
तपाईंहरु आउट भएपछि मिडिल अर्डरले लय गुमाउँछ भन्ने डर थियो कि थिएन ?
तेस्रो खेलमा, नेदरल्यान्डस्को क्याप्टेनले हामीलाई चाडैं आउट गर्ने र नेपलाको मिडिल अर्डरलाई चेक गर्ने रणनीति बनाएका रहेछन् । तर, त्यतिबेला हाम्रो मिडिल अर्डरले राम्रो खेल देखाइदियो । यद्यपी, हामीले बनाएको २ सय ६ रनको चुनौती उनीहरुले पछ्याए ।
त्यसैले, फाइनलमा म अलि नर्भस थिएँ, मेरो परिवार पनि खेल हेर्न आएको थियो । आसिफको र मेरो योजना पावर प्लेमा जति सकिन्छ त्यति स्कोर गर्ने भन्ने थियो । आफिसले राम्रो सुरुवात ग¥यो, तर चाँडै आउट भयो । त्यसपछि ज्ञानेन्द्र दाईसँग मेरो साझेदारी जम्यो । म इनिङ बिल्ड–अपतिर लागें । अनि कुशल भाई (मल्ल) ले पनि राम्रो खेल्यो । दीपेन्द्र सिंह ऐरी, करण दाईहरु पनि मपछि हुनुहुन्थ्यों, त्यसैले ढुक्क थियौं । मैले २ सय रन बन्नुपर्छ भन्ने सोचेको थिएँ । तर, दीपेन्द्र र कुशलले राम्रो खेलेकाले २ सय ३८ रन बन्यो । उनीहरु खेलमा फर्कने अवस्था नै थिएन ।
शतक बनाउने वा रेकर्ड बनाउनेबारे सोच्नुभएको थियो ?
यो सिरिजमा धेरै रकर्ड बने । खुसी छु । त्यसमध्ये करण केसी दाईले १३ बलमा ४५ रन बनाउनुभयो, त्यतिबेला अर्धशतक बन्नुपर्ने थियो भन्ने मलाई लाग्छ । त्यो आफैंमा नेपाली क्रिकेटका लागि एउटा राम्रो कीर्तिमान हुने थियो ।
स्कुल लेभलमा क्रिकेट खेल्दा धेरै छक्का हानेपछि आयोजकले नै छक्का नहान् भन्नुपरेको थियो रे नि ?
छक्का भन्दा पनि रन हान्ने प्रयास थियो, तर छक्का लाग्थ्यो । अलि बिस्तारै हान भनेर दाइहरुले भन्ने गर्नुहुन्थ्यो । त्यतिबेला रमाइलोका लागि क्रिकेट खेलेको हो । बाख्रा चराउन जाँदा पनि क्रिकेट खेल्थें । फुटबल, क्रिकेट सबै खेल्ने गरेको थिएँ । मलाई सुरुमा रोशन शर्मा दाईले क्रिकेट सिकाउनु भएको हो । स्कुलमा हेमन्त श्रेष्ठ भन्ने प्रशिक्षक पनि हुनुहुन्थ्यो । बाबाले मलाई सधैं साथ दिनुहुन्छ । उहाँहरुको भूमिका ठूलो छ ।
तपाई ११ कक्षाको पढाई परीक्षा दिन छाडेर धनगढीमा नेपाल प्रिमियर लिग खेल्नु जानुपरेको थियो रे ? खेलाडीको बिमा र नियमित पारिश्रमिक समेत नहुने यस्तो क्षेत्रमा परीक्षा छाडेरै होमिने आँट कसरी आयो ?
सालभरी पढेकै थिए । ममीलाई क्रिकेटका बारेमा धेरै थाहा थिएन । त्यसैले उहाँले परीक्षा छाड्न हुन्न भन्नुभयो । तर, बाबाले नै ममीलाई सम्झाउनुभयो । त्यो प्रतियोगितामा पञ्चकन्या तेजमा आबद्ध भएर पनि मैले मैदान उत्रन भने पाइनँ । तर हामीले नै उपाधि जित्यौं । अर्को वर्ष मैले ११ र १२ दुबैको परीक्षा एकैपटक दिएको थिएँ ।
तपाईं कसलाई आदर्श व्यक्तित्व मान्नुहुन्छ ? नेपालबाहेक अरु कुन देशको क्रिकेट मनपर्छ ?
मलाई अस्ट्रेलियाको क्रिकेट मनपर्छ । बाबा र रोशन दाई पहिलेदेखि नै इन्डियाको फ्यान । मलाई चै इन्डिया मन नपर्ने । जुन टिमले इन्डियाविरुद्ध खेल्छ, म त्यही टिमको पक्षमा हुन्थें । बाबाको मनपर्ने खेलाडी सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी, विराट कोहलीहरु थिए । मलाई रिकी पोन्टिङ मनपर्छ । उसैका कारण मैले १४ नम्बर जर्सी रोजेको हुँ । जे होस्, खेल हेर्ने क्रममा अलि–अलि डिस्कस हुन्थ्यों । त्यो रमाइलो पनि लाग्छ ।
यसपटक कोभिडका कारण दर्शक बिनाको खेल खेलाइने भनिएपनि दर्शकहरु नेपालको समर्थन गर्न आउनुभयो ? दर्शक हुनु र नहुनुले खेलाडीलाई कत्तिको फरक पार्छ ?
पहिलो म्याचमा त धेरै दर्शक हुनुहुन्थ्यों, राम्रो लाग्यो । त्यसपछि कोभिडले गर्दा रंगशालामा दर्शकविहीन खेल गराइयो । तर पनि उहाँहरुले बाहिरबाट खेल हेर्नुभयो । नेपालका समर्थकहरुले टोलीले जित्दा पनि र हार्दा पनि उत्तिकै समर्थन गरिरहनु भएको छ । क्रिकेटप्रतिको उहाँहरुको लगाव देखेर खुसी लाग्छ, यसलाई म सधैं सम्मान गर्छु ।
नेपालका फ्रेन्चाईजी लिगहरुले खेलाडीको प्रदर्शनलाई उकास्न कत्तिको सहयोग गरिरहेको छ ? कोभिडले गर्दा अवस्था अनिश्चित भएपनि नेपालमा विश्वकै स्टार खेलाडीहरुलाई ल्याउने तयारी यस्ता लिगहरुमार्फत हुँदै आएको छ । यसलाई कसरी लिनुहुन्छ ?
इपिएल, डिपिएल, पिपिएलजस्ता फ्रेन्चाईज लिगमा हामीजस्ता खेलाडीहरुले धेरै सिक्न पाइरहेका छौं । विदेशदेखि डि विलियर्स, क्रिस गेलजस्ता खेलाडीहरुलाई ल्याउने कुरा छ । यस्ता ठूला स्टारसँग ड्रेसिङ रुम शेयर गर्न पाउनुले ठूलो अर्थ राख्छ । छिट्टै यस्तो लिगहरु होस् र ठूला–ठूला स्टारहरु नेपाल आउन् भन्ने इच्छा नै अधिकांश खेलाडीहरुको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’