शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुस्तक समीक्षा : ‘जितौरी’मा सामाजिक चेतना

शनिबार, १८ वैशाख २०७८, १२ : १६
शनिबार, १८ वैशाख २०७८

लामो समयसम्म शिक्षण पेसा र सरकारी कर्मचारीको जीवन व्यतित गरेका साहित्यकार पूर्ण ओलीद्वारा लिखित ‘जितौरी’ नामको पहिलो कथा सङ्ग्रह प्रकाशनमा आएको छ । शिक्षण पेसा तथा सरकारी कर्मचारीको जिम्मेवारीमा रहेर जीवन जिउँदै गर्दा उनले भोगेका प्रत्यक्ष जीवन भोगाइ, उनका अनुभवी आँखाले देखेका तमाम खालका विकृृति विसङ्गतिका सामाजिक बिम्ब अथवा उनले गरेको सामाजिक जीवनको गहिरो अध्ययन र यसबाट उनले प्राप्त गरेको पाको र परिपक्व सामाजिक ज्ञानको भण्डारको रूपमा यो जितौरी कथा सङ्ग्रहको जन्म हुन पुगेकोे छ । यो ओजनदार कथा सङ्ग्रहको प्रकाशनकोे अभिभारा नेपालको नामी प्रकाशक भुँडीपुराण प्रकाशनले पूरा गरेको छ ।

     यो सबैलाई थाहा भएको कुरा हो कि कथा विधा एक लोकप्रिय र गरिमामय साहित्यिक विधा हो । पूर्वीय एवम् पाश्चात्य  दुवै खाले साहित्यिक जगतमा कथाले लामो परम्परा र इतिहास बोक्दै आएको छ । कथा क्षेत्रको यो विशाल विश्व आकाशमा जितौरी कथा सङ्ग्रहमार्फत साहित्यकार पूर्ण ओली एक सफल र कुशल कथाकारका रूपमा उदाएका छन् । जितौरी कथा सङ्ग्रहमा सङ्गहित उनका सबै कथाहरू कुनै भन्दा कुनै कमका छैनन् । सबै कथाले सामाजिक यथार्थताको झण्डा उचालेका छन् । सबै कथाले विकृति र विसङ्गतिविरुद्ध शङ्ख फुकेका छन् । सबै कथा चेतनाका दीप बनेर प्रज्वलित भएका छन् । सबै कथा रोचक र सारगर्भित छन् । सारमा भन्दा सबै कथाहरूले विजेता बनी आम पाठकलाई जितौरी दिन सक्षम बनेका छन् ।

     यस कृतिमा ‘कथाको कथा’ शीर्षकको माध्यमबाट कथाकारले आफ्नो सारगर्भित भनाइ पस्केका छन् । जितौरी कथा सङ्ग्रहभित्र उनका जम्मा जम्मी तेह्रवटा कथाहरू सङ्ग्रहित रहेका छन् । ती प्रत्येक कथाहरूको सङ्क्षिप्त भावार्थ यस प्रकार प्रस्तुत गरिएको छ ।

१. अंशियार

     यो कथामा इमानदारपूर्वक सत्य र न्यायको बाटो आत्मसात गर्दा जीवनको सर्वस्व गुमाउनु परेको कर्मचारीको कारुणिक जीवनलाई चित्रित गरिएको छ । यस कथाले सरकारी कामकाजको बेला सेवाग्राहीहरूले विभिन्न बहानामा बेहोर्नु पर्ने झन्झट र सास्ती, पहँुचवाला तथा बलियाले कर्मचारीलाई आफ्नो प्रभावमा पारेर पद्धति मिच्न लगाउनु, जनतालाई असभ्य, जङ्गली प्राणीका रूपमा बुझ्ने हाकिमको मनोवृत्ति आदिलाई गहिरो भावका साथ प्रस्तुत गरिएको छ ।

कथा अनुसार हुलाक कार्यालयको शाखा अधिकृत हरि सात दिने नागरिकता वितरण शिविरमा खटाइन्छ । उक्त शिविरमा नागरिकता बनाउनेहरूको भीडमा गणेश क्षत्री भन्ने एकजना नागरिक पनि नागरिकता बनाउन आइपुग्छ । तर कुमार भन्नेको धम्की र प्रक्रिया पूरा नभएका कारण गणेशले सहजै नागरिकता प्राप्त गर्न सकेको हुँदैन । वास्तवमा देवबहादुरको सम्पूर्ण अंश आपूm एक्लै खान कुमारले गणेशलाई नागरिकताबाट वञ्चित बनाउने जाल रच्दै आएको हुन्छ । कुमार देवबहादुरको वास्तविक छोरो नभए पनि आफ्नी श्रीमती मानव तस्करीहरूबाट कोठीमा बेचिएको बेला उतै जन्मेको छोरो भए पनि देवबहादुरले कुमारलाई छोरा नै मान्दै आएको हुन्छ । यस्तो परिस्थितिमा हुलाक कार्यालयका शाखा अधिकृत हरिको मनमा आपूm शिविरमा खटिएको बेला गणेश जस्तो अफ्ठ्यारोमा परेको व्यक्तिलाई उद्धार गर्ने भावना पलाएर आउँछ । त्यसैले उसले कुमारको धम्की र दादागिरीको बाबजुद पनि प्रहरीको सहारामा सम्पूर्ण प्रक्रिया पूरा गरेर गणेशलाई नागरिकता दिलाइदिन्छ । अपशोच दुई महिनाभित्रै हरिलाई सोही नागरिकता विषयलाई लिएर मुद्दा पर्दछ । हरि निलम्बित हुन पुग्दछ । मुद्दाकै सिलसिलामा काठमाडौँ ओहोर–दोहोर गर्दागर्दै उसको सम्पूर्ण धन सम्पत्ति पनि सकिँदै जान्छ । अन्त्यमा उसको बाँच्ने आधार सबै समाप्त भएपछि ऊ आफ्नो सम्पूर्ण परिवारसहित सुकुम्बासी बस्तीको खोजीमा निस्कन पुग्छ ।

     यसरी विकृति र विसङ्गतिले भरिएको यो समाजमा भ्रष्टाचारी र गलत आचरण भएका मानिसहरू सम्पन्न र शक्तिशाली हुँदै जाने तर इमानमा बाँच्न चाहने मानिसलाई भने बर्बादीको नियति भोग्नुपर्ने बाध्यता रहेको यथार्थतालाई कथाकारले अंशियार शीर्षकको कथामा पस्कन सफल भएका छन् ।

२. खाजा खर्च

     यस कथामा स्पस्ट वर्ग चेतना नउठेका गरिब सर्वहाराहरू कसरी सहजै बिक्री हुन्छन् र आपूmलाई वर्गीय रूपमा साँच्चिकै माया गर्नेमाथि  नै कसरी कुठाराघात गर्न पुग्छन् भन्ने कुराको सजीव चित्रण गरिएको छ । यसैगरी यस कथामा सत्य कुरालाई आत्सात गर्दागर्दै कसरी पराजय भोग्नु पर्छ ? र सत्यलाई घुमाई फिराई कसरी असत्यको चङ्गुलमा फसाइन्छ भन्ने तथ्यलाई पनि जोडदार ढङ्गले प्रस्तुत गरिएको छ । यति मात्रै होइन यस कथामा सिस्टमको कुरा गर्ने तर काम राम्ररी नगर्ने कर्मचारी,साहु, ठेकेदार आदिको चरित्र र बेरोजगारले जागिरका लागि अर्थहीन ट्युसन सेन्टरमा धाउने र नानाभाँतीका लोकसेवाका पुस्तकहरू कण्ठ गर्नमा आफ्ना महत्त्वपूर्ण समय खेर फालिरहेको सन्दर्भलाई समेत रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

     कथाअनुसार सुब्बा जगत प्रसादले रङ रोगनको काम गर्ने एक मजदुर केटालाई सय रूपैयाँ खाजा खर्च सापटी दिन्छ । निकै समयसम्म पनि त्यो सापटी पैसा फिर्ता नआएपछि उक्त खाजा खर्च फिर्ता लिने उपायामा जगतप्रसादले ठेकेदार, इन्जिनियर, साहु सबैसँग भेट गर्न थाल्छ । उसको यो भेटलाई सबैले शङ्काको दृष्टिले हेर्ने गर्छन् । असार सकिने वित्तिकै एकसरो कामबाहेक सबै काम बाँकी नै भएको भए पनि सबैको मिलोमतोमा तयार पारिएको कार्यसम्पन्न प्रतिवेदन तथा शतप्रतिशत प्रगति प्रतिवेदनलाई जगतले चलानी गरेर तालुक निकायहरूमा पठाइदिन बाध्य हुन्छ । उता जगतको इमानदारिता र परोपकारी स्वभाव देखेर उसकी आफ्नै श्रीमती सन्तुष्ट हुन्न । जगतसँगै जागिर खानेहरूको बेग्लै सान हुन्छ । सहरमा घडेरी र बिल्डिङ नभएको कोही हुँदैन । सबैले आफ्ना श्रीमती र छोरी बहिनीहरूलाई गहनाले छपक्कै मोरिदिएका हुन्छन् । तर आफ्नो पारिवारिक अवस्था भने हरिकङ्गाल नै रहेको देखेर जगतसँग उसकी श्रीमतीले असन्तोष व्यक्त गर्छे । ऊ ठालु लेखकहरूले लेखेका लोक सेवाको किताब किनेर जागिर खाने तयारीमा लागिरहन्छे । जगत आफ्नो फरक स्वभावको कारण ठेकेदारदेखि लिएर अन्य सबै कर्मचारीहरूबाट अछुतसरी अलग्गिन पुग्छ । यसपछि जगत आफ्नो विवेकले होइन अरूले अह्राएको काम मात्र गर्न बाध्य हुन्छ । यसै सन्दर्भमा कर्मचारी तन्त्रमा भएको अपवित्र सेटिङ बमोजिम जगतलाई सहकारी कार्यलयमा सरुवा गरिन्छ । त्यही कार्यालयमा सेवाग्राहीको काम गर्दै गर्दा झालेमाले रङले भिजेको झुत्रे केटो जगतको अगाडि आउँछ र केही समय पहिले जगतबाट खाजा खर्चको लागि लगेको सापटी पैसा आफ्नो गोजीबाट झिकेर फिर्ता गर्दछ । यसरी त्यो झुत्रे केटोले जगतलाई पैसा दिँदै गरेको दृश्य भ्रष्टाचार नियन्त्रक कार्यालयका कर्मचारीहरूले देख्न पुग्छन् । यसपछि सेवाग्राहीबाट हाकाहाकी खाजा खर्च भनी सेवाग्राहीवाट घुस लिएको अभियोगमा निलम्बनमा पर्दछ । यसपछि जगतलाई यस सम्बन्धमा मुद्दा लड्नुपर्ने हुन्छ तर राम्रा र पहुँचवाला वकिलको लागि उसले लाखौँ रूपैयाँ खर्च गर्न सक्दैन, त्यसैले सस्तोमा एउटा लरतरो वकिलको सहारा लिन पुग्दछ । त्यो झालेमाले झुत्रे केटोले सुरुमा त मैले सापटी पैसा फिर्ता गरेको भनी बयान दिन्छ । तर पछि ऊ बिक्री हुन्छ र मबाट घुस खाएको हो भनी बयान फेर्न पुग्छ । यसरी जगतले मुद्दा हारेर भ्रष्टाचारको सजायमा जेल पर्छ । ऊ जेलमा परिसकेपछि उसकी श्रीमती कमलाले उसलाई दैनिक जेलमा भेट्न जान्छे । अब कमलाले लोक सेवाको गाइड होइन कुकिङ गाइड पढ्न थालेकी हुन्छे । यही कुकिङ गाइडको आधारमा कमलाले खाजा पसल चलाएर जीवन निर्वाह गर्न पुग्छे । यसरी यो  कथाले मानिसको जीवनलाई सडाउने रुग्ण अक्षरलाई चिन्नुपर्ने र मानव जीवनका लागि सार्थक अक्षरलाई आत्मसात गर्नुपर्ने सन्देश पनि पाठक माझ पस्केको छ ।

३. माछे आँखो

     नेपाली समाजमा रहेको गरिब किसान महिलाहरूको कहिल्यै निको नहुने साझा घाउको प्रतिबिम्बको रूपमा माछे आँखो शीर्षकको कथालाई प्रस्तुत गरिएको छ । यस कथामा पटाउकी नामकी एक गरिब महिला पात्रले ऊ आफ्ना पैतालामा उम्रिएका थुप्रै माछे आँखो घाउहरूको पीडा बिर्साउन भयानक सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको छ । पुरुष प्रधान समाजमा अचेत र जड्याहा लोग्नेबाट पटाउकीले कयौँ हिंसा र अत्याचार बेहोरिरहेकी हुन्छे । रुढिवादले ग्रसित समाजमा उसले बोक्सीको नाममा यस्तै अपमान र यातनाको सामना गर्छे । उसकी छोरीहरूले समाजमा बलात्कृत भएर पनि न्याय पाउँदैनन् । देशमा राजनीतिले पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्मको फड्को मार्छ तैपनि पटाउकीको जिन्दगीमा सुखी दिन कहिल्यै आउँदैन ।

माछे आँखोबाट पीडित भई खोच्याउँदै हिँड्ने भएकीले सरकारी अभिलेखमा उसको नाम अपाङ्गमा दर्ता हुन्छ । त्यही अपाङ्ग भत्ताबाहेक पटाउकीको कटेरोमा लागेको कालो दिन कहिल्यै अस्ताउन पाउँदैन । अरूको त के कुरा पटाउकीले आफ्नै जन्मदिने बाउबाट समेत सम्मान पाउन सक्दैन । आफ्नै बाउले राखिदिएको अपमानबोधक नाम मुडुलीले उसको हृदय चरक्क चर्कन्छ । पटाउकीलाई जीवनमा आदर गर्ने कोही छ भने केवल उसैले पालेका तिखे नामको एउटा बहर छ । पटाउकीको नजरमा मान्छेहरूभन्दा आपूmले पालेका डिङाबाछाहरूकै भरोसा बढ्ता छ । एक दिन पटाउकीले आफ्नो कटेरोमा बसी कर्केटोले उसको चर्किदै गरेको माछे आँखो घाउको  करक मारिरहेकी हुन्छे । यस्तो दुःखको क्षणमा पनि लोग्ने भनाउँदा जड्याहाले गाली बेइज्जतीका साथ कटेरोमा पसेर पटाउकीलाई कुटपिट गर्न तम्सन्छ । आपूmलाई जन्मदिने बाउ भनाउँदो पनि उसैको पछिपछि आएको हुन्छ । पटाउकीका लागि यस्तो अत्यचारबाट उन्मुक्तिको एक मात्र विकल्प प्रतिरोधमाा उत्रनु मात्र बाँकी रहेको हुन्छ । त्यसैले ऊ आफ्नो जड्याहा लोग्ने र बाबाको प्रतिरोेधमा उत्रिन्छे । ती जड्याहाहरूलाई लात्तीले हिर्काएर पशुराज्यमा पु¥याइदिन्छे । यसरी गरिबी, अन्याय, अत्याचार, रुढीवाद जस्ता समाजका लागि कहिल्यै निको नहुने माछे आँखो घाउबाट मुक्त हुनका खातिर पीडित स्वयंले कडा सङ्घर्ष र प्रतिरोध गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरिएको यो कथा मार्मिक, उत्तेजक र मिठासपूर्ण रहेको छ ।

४. एउटा अयोग्य लडाकुको कथा

     एउटा अयोग्य लडाकुको कथा शीर्षकको कथाबाट शिक्षण पेसामा संलग्न नेपाली शिक्षकहरूको जीवन वृत्तान्तलाई उजागर गर्ने प्रयात्न गरिएको छ । कथाअनुसार आशाराम र शान्तवीर एउटै विद्यालयका सहपाठी शिक्षक हुन्छन् । यी दुई शिक्षकमध्ये शान्तवीरले स्थायी जागिर छोडेर सशस्त्र युद्धको भूमिगत राजनीतिमा होमिएको  हुन्छ । शान्ति प्रक्रिया पश्चात् ऊ अयोग्य लडाकु ठहरिएको हुन्छ । तर आशाराम भने यसरी राजनीतिमा नलागेर शिक्षक पेसामा नै अवरत लागिरहेको हुन्छ । यसै क्रममा एकपटक विद्यालयको स्वर्ण–वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित हुने स्मारिकाका लागि आशारामले एउटा रचना दिनुपर्ने हुन्छ । त्यसको लागि उसले त्यही राजनीतिमा अयोग्य ठहरिएको आफ्नो साथी शान्तवीरकै कथा लेख्ने सोचाइ बनाउँछ । त्यसैले शान्तवीरको कथा लेख्नका लागि उसले अनेकौ प्रयत्न गर्दछ । यही कारण आशारामले कयौँ पटक विद्यालयमा अध्यापन गर्ने जिम्मेबारी उलङ्घन गर्न बाध्य हुन्छ । जति प्रयात्न गरे पनि ऊ अयोग्य लडाकुको रूपमा शान्तवीरको कथा लेख्नको लागि पूर्ण विषय वस्तुको ज्ञान प्राप्त गर्न सक्दैन । यसरी कथा लेख्ने सन्दर्भमा शान्तराम एकातिर विद्यालयमा गएर अध्यापन गर्ने जिम्मेवारीबाट पछाडि पर्न जान्छ भने अर्काेतिर ऊ अयोग्य लडाकुको कथा लेख्न पनि सफल हुँदैन । अन्ततः आशाराम स्वयम पनि एक अयोग्य शिक्षकको आरोपमा विद्यालयबाटै निलम्बित हुन पुग्दछ ।

     यसरी “एउटा अयोग्य लडाकुको कथा” शीर्षकको कथामा काँधमा बन्दुक बोकेर पनि राजनीतिमा अयोग्य बनेको एउटा अयोग्य लडाकुको कथा लेख्न नसकेर हातमा कलम लिएको एक लेखक अर्काे अयोग्य बन्न पुगेको रोचक प्रसङ्गको सुन्दर चित्रण गरिएको छ । यसैगरी यस कथाभित्र थुप्रै राजनीतिक विकृति, विसङ्गति, आर्थिक तथा सामाजिक विभेध आदि विषयलाई समेत उजागर गरिएको छ ।

५. जितौरी

     जितौरी कथामा कथाकारले एउटा बेरोजगार मान्छे कसरी कुधन्दा र कुलतको बाटोमा लाग्ने गर्दछ भन्ने विषयलाई सजीव ढङ्गले चित्रण गरेका छन् ।

     यस कथाअनुसार रोजगारीको खोजीमा भौतारिएको जिते सहर छिरेपछि जुवाको खालमा उम्कनै नसक्ने गरी फस्छ । महाभूकम्प जस्तो महाविपत्तिको बेलासमेत बाहिरिन नसक्ने गरी उसलाई जुवाको लत लाग्न पुग्छ । यही जुवाको लतमा हराउँदा हराउँदै उसले आपूmलाई सबैभन्दा माया गर्ने आफ्नी बूढीआमा र प्रेमिका मुनालाई समेत गुमाउन पुग्छ । जुवा जितेर आपूmलाई सबैभन्दा बढी माया गर्ने बूढी आमा र प्रेमिका मुनालाई जितौरी दिएर खुसी तुुल्याउने कल्पना गर्दागर्दै र जागिर मिलाइदिने भन्दै आएको शिलामणिलाई जितौरी दिएर जागिरमा छिर्ने मीठो सपना देख्दादेख्दै जुवा खालमा नै उसले आफ्नो सर्वस्व गुमाउन पुग्छ ।

     जितौरी कथामा इँट, पान, सुरथ, चिडी, झण्डा र बुर्जा जस्ता जुवाका चिन्हहरूलाई राता कम्युुनिस्ट र काला काँग्रेसको उपमा दिएर नेपाली राजनीतिको खेललाई समेत तिखो व्यङ्ग्य प्रहार गरिएको छ । यसका साथै जितौरी कथामा २०७२ सालको महाभूकम्प र महाविपत्को बेला रहने गरेको सरकारको कमजोर भूमिका र भ्रष्टाचारको विरोध जस्ता विषयलाई समेत सशक्त ढङ्गले उठाइएको छ ।

६. केही हैन

      केही हैन शीर्षकको कथामा हाम्रो राजधानी काठमाडौँभित्र चल्ने सार्वजनिक बस यात्राको याथार्थ तस्विरलाई कलात्मक रूपमा प्रस्तुतीकरण गरिएको छ । यस कथामा बालअधिकारको कुरा गरेर कहिल्यै नथाक्ने सरकार र सङ्घसंस्थाहरूले प्रत्यक्ष देख्ने गरी सार्वजनिक सवारी साधनहरूमा नै कसरी बालश्रमिकहरूको प्रयोग गरिँदै आएको छ र उनीहरूको शोषण गरिएको छ भन्ने कुरालाई रोचक ढङ्गले चित्रित गरिएको छ ।

     कथामा नासु पूर्णप्रसाद आफ्नो हाकिमले निमन्त्रणा गरेको उच्चस्तरीय भोजमा सामेल हुन घरबाट निस्केको हुन्छ । नासु पूर्णप्रसादको हाकिमले आपूm बढुवा भएर गरिबी मन्त्रालयमा सरुवा भएको खुसीयालीमा यस्तो उच्च स्तरीय भोजको आयोजना गरेको हुन्छ । यसरी आफ्नो हाकिमको निम्तोमा हिँडेको नासु पूर्णप्रसाद कुनै एउटा बसमा चढेर यात्रा गरिरहेको हुन्छ । बसभित्रको यात्रामा उसले थुप्रै कुराहरूको अनुभूति गर्दै जान्छ । प्रारम्भमा रहस्यात्मक ढङ्गले एउटा फुच्चे केटो गाडीमा चढ्छ । ऊ कहाँसम्म पुग्ने हो केही ठेगान हुँदैन । त्यो फुच्चे केटोले गाडीमा अनेक सङ्घर्ष गर्छ ।

     यी अनौठा दृश्य हेर्दै र सार्वजनिक सवारीमा कष्ट भोग्दै यात्रा गरिरहेको नासु पूर्णप्रसादले मनमा अनेक कुरा खेलाउन थाल्छ । खासगरी आजको भोजको आयोजना गर्ने हाकिमको बारेमा सोच्न थाल्छ । उसको मस्तिष्कमा त्यो हाकिमको विभेदपूर्ण व्यावहार, आफ्नो हरेक काममा हाकिमको दुरासयपूर्ण निगारानी यी सब कुराले नासु पूर्णप्रसादको मस्तिष्क खलबलिन पुग्छ । आज पनि हाकिमले दिएको भोज खान प्रशासनको सुब्बा श्यामप्रसादलाई अफिसको गाडीमा सवार गर्ने अवसर मिलेको हुन्छ तर योजनाको सुब्बा पूर्णप्रसादलाई भने यसरी उठी उठी सार्वजनिक सवारीमा यात्रा गर्नुपर्ने भएको हुन्छ । आफ्ना कर्मचारीहरूप्रतिको यो विभेद नासु पूर्णप्रसादलाई पटक्कै मन पर्दैन । त्यसैले नासु पूर्णप्रसादलाई आफ्नो हाकिमको उच्च स्तरीय भोजमा सामेल हुने मन मरेर आउँछ । अन्तमा नासु पूर्णप्रसाद जुनठाउँमा बस चढेको थियो त्यही ठाउँमा फर्केर आउँछ । पूर्णप्रसाद त्यहाँ आउँदै गर्दा उसलाई फुच्चे केटोको वास्तविक रहस्य बुझ्ने अवसर प्राप्त हुन्छ । सुरुमा रहस्यात्मक ढङ्गले गाडीमा चढेको फुच्चे केटोको वास्तविकता बुझेपछि नासु पूर्णप्रसादको हृदयमा पश्चातापको अनुभूति हुन पुग्छ । एउटा स्वतन्त्र मान्छे हातमुख जोड्नका लागि भए पनि सिक्ने कुराबाट विमुख नभएको तर आपूm चाहिँ जागिरे भएर पनि सिक्ने चाहनाबाट विमुख भएको पीडाबोधमा नासु पूर्णप्रसादले आफ्नो जागिरे जिन्दगीलाई धिकार्न थाल्छ । यसरी केही हैन शीर्षकको कथाले जागिरे जीवनको समस्याहरूको गहकिलो चित्र चित्रण गरेको छ ।

७. मितज्यू

     मितज्यू शीर्षकको कथामा कथाकारले दूरदराजबाट उच्च शिक्षाको तृष्णा मेट्न काठमाडौँ आएका विद्यार्थीहरूको समस्यालाई कलात्मक रूपले प्रस्तुत गरेका छन् ।

     कथामा घरभेटीको कडा निगारानी, अभाव आदिको सामना गर्दै परीक्षाको तयारीमा जुटेको रामलाई शशिराम नामको एकजना ठगले आपूm मित भएको नाटक गरेर ठगी गर्न पुग्छ । शशिरामले यस्तै ठगी धन्दा गरेर आफ्नो जीविका चलाइरहेको हुन्छ । उसले रामलाई जस्तै धेरै मानिसहरूलाई ठग्दै आएको हुन्छ । उसको यो ठगी गर्ने धन्दा धेरै दिन टिक्दैन । छिट्टै नै उसको यो ठगी कार्यको पर्दाफास हुन्छ र जेल चलान हुन्छ । रामलगायत ऊबाट ठगिएका सबैले न्याय प्राप्त गर्न सफल हुन्छन् । यसरी यस कथामा गलत कार्य गर्नेले एक दिन पक्कै पनि कारबाहीको भागी हुनु पर्दछ र इमानदार र निर्धा मान्छेले ढिलो या चाँडो न्याय पाएरै छाड्छ भन्ने सन्देश दिएको छ ।

८. मोराबाङ

     मोरावाङ कथामा रमेश भन्ने युवक कम्युनिस्ट विद्यार्थी सङ्गठनको नेता हुन्छ भने रानु काँग्रेस विद्यार्थी सङ्गठनकी नेत्री हुन्छे । राजनीतिक आस्थाको आधारमा यी दुवैबीच आकास धर्तीको अन्तर हुन्छ । तर यी दुवै बीच भएको प्रेम सम्बन्ध विवाहमा परिणत भएपछि दुवैले आ–आफ्नो सङ्गठन छाडेर सहरमा कोठा लिएर बस्न थाल्छन् । यसरी कोठा लिएर बस्दा पैदा भएको व्यावहारिक समस्यले गर्दा उनीहरूको बीचमा तनाव र घरझगडाको सुरुआत हुन थाल्छ । यो देखेर घरभेटीले उनीहरूलाई घरबाट निकालिदिने धम्की दिन्छ । यसैबीचमा राजु र रमेशले सहरमा आआफ्नो योग्यताअनुसारको जागिर खोज्न निस्कन्छन् । तर उनीहरूले कतै पनि जागिर पाउन सक्दैनन् । यसैक्रममा रमेश हप्ता दिनसम्म कोठामा फर्कंदैन । रानुले आफ्नो लोग्नेले जागिर खोजीरहेको होला भन्ने ठान्छे । तर रमेशले भिन्न योजना बनाएको हुन्छ । अर्थात ऊ आफ्नै गाउँमा कुनै व्यवसाय गरेर आफ्नो पारिवारिक जीवन खुशी साथ विताउने योजना बनाइसकेको हुन्छ । सोही बमोजिम ऊ आफ्नो गाउँको झुपडीमा पुग्छ । उसले आफ्नी प्यारी रानुले सधैँ आपूmलाई गाली गर्दा प्रयोग गर्ने ‘मोरा’ शब्दबाट आपूmहरूको व्यवसायको नाम राखेर तुल बनाउँछ । यसरी उसले ‘मोराबाङ’ लेखेको तुल टाङेर हप्तादिन पछि आफ्नो जीवनसाथी रानु कहाँ पुग्छ । यसबेलासम्म रानु पनि सहरको त्यो पट्यारलाग्दो जीवनबाट थकित भई घर फर्किने सोचमा पुगिसकेकी हुन्छे । अन्ततः सहरबाट दुवै जना घर फर्कन्छन् । घर फर्कदा “मोरावाङ” लेखको तुल देखेर रानुले आपूmलाई जिस्काउन कसैले कुकार्य गरेको सोचेर रिसाउछे । तर यथार्थ छुट्टै हुन्छ । यो त रमेशले गरेको शुभकार्यको सङ्केत हुन्छ । अर्थात उसले सुरुआत गरेको कुखुरा पालनको सङ्केत । यो सङ्केतको अर्थ हुन्छ “मोरावाङ=मोस्ट रास्नल वाङ” । रहस्यात्मक ढङ्गमा रमेशले गर्न खोजेको यो कार्यको वास्तविकता बुझेर रानु बेस्सरी खुसी हुन्छे । अन्ततः दुवैले आफ्नै झुपडी, आफ्नै माटो, आफ्नै समयमा आफै मालिक भएर काम गर्न थाल्छन् । यसरी यो कथाले जे गर्नु छ आफ्नै स्वमित्वको माटोमा आत्मनिर्भर भएर काम गर्नुपर्छ । यस्तो गर्न सकियो भने कसैलाई कुनै पनि चिन्ता हुँदैन भन्ने सन्देश दिएको छ ।

९. बढुवा

     बढुवा शीर्षकको कथामा सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको सरुवा बढुवामा देखापर्ने विकृति र विसङ्गतिहरूलाई सजीव ढङ्गले उजागर गरिएको छ । आफ्नो सरुवा तथा बढुवाको सन्दर्भमा कर्मचारीहरूले आफ्ना प्रतिद्वन्द्वीहरूलाई पराजित गर्न कति धेरै कुचाल चाल्ने गर्छन् र नियम, विधि, र पद्धतिलाई हातमा लिएर कसरी जबरजस्ती व्यवहार गर्ने कुरा सोच्छन् भन्ने कुरालाई यस कथामा प्रस्ट्याइएको छ । केवल बढुवाको लागि नै यति विघ्न मरिहत्ते गर्नुको कारण उनीहरूको दिमागमा केवल निजी स्वार्थ मात्रै भरिनु हो । पारिवारिक सुख र समृद्धिको सपना मात्र आइरहनु हो । कर्तव्यपरायणता र वास्तविक राष्ट्र सेवक बनेर कर्म गर्ने कुरा उनीहरूको दिमागले सोच्न नसक्नु हो । व्यक्तिगत महत्त्वाकाङ्क्षा र निजी स्वार्थलाई सुमसुमाउने चरम चाहानालाई पूर्ति गर्ने माध्यमका रूपमा कर्मचारीहरूले बढुवा र सरुवा जस्ता कुराहरूलाई बुझ्ने भएकाले उनीहरूको यो सपना, यो चाहना पुरा  हुन नसके उनीहरू पागल जस्तै बनिदिन्छन् भन्ने मार्मिक भाव यो “बढुवा” कथामा प्रस्तुत गरिएको छ ।

१०. कृष्ण सुदामाको कथा

     यस कथामा इमानदार मान्छलाई बेइमान मान्छेले सजिलै उपयोग गरेर आफ्नो दुनो सोझाउने गरेको, इमान्दार मानिस सधै पछाडि पर्ने गरेको, बेइमान मान्छेले आफ्नो झुट र षडयन्त्रद्वारा सुख सयलको स्वर्गमा राज गर्न सफल भए पनि अन्ततः उसको त्यो झुटको राज सधैँ नटिक्ने र षडयन्त्रद्वारा निर्मित उसको सयलको स्वर्ग ढिलो या चाँडो भत्किएर जाने कुरालाई रोचक ढङ्गले चित्रित गरिएको छ ।

     यस कथामा जाजरकोट जिल्लाको एक विद्यालयमा कालीबहादुर नामको एक इमानदार, लगनशील र पढाइमा तेज विद्यार्थी हुन्छ । उसको अर्जुन नाम गरेको एक साथी पनि इमानदार र लगनशील नै हुन्छ तर उसको साथी दामु नाम गरेको अर्काे साथी भने चतुर तर पढाइमा कमजोर विद्यार्थी हुन्छ । दामु चतुर भएकै कारण कालीबहादुर र आफ्नो बीचको साथित्वको सम्बन्ध कृष्ण र सुदामाको जस्तो भएको भ्रम सिर्जना गरेर कालीबहादुरलाई फसाउँदै जान्छ । सानैदेखि स्कुलको परीक्षामा पनि कालीबहादुरकै उत्तरपुस्तिका सारेरा पास हुँदै जान्छ । यो क्रम नियमित रूपमा अगाडि बढ्छ र अन्तमा दामुले कालीबहादुरलाई नराम्ररी फसाउन पुग्छ । यसरी उसले कालीबहादुरलाई फसाएर विदेश पढ्न जाने छात्रवृत्ति आफ्नो पोल्टामा पार्छ । यस्तै अनेको तिकडम अपनाउँदै ऊ नेपाल सरकार अर्थमन्त्रालयको सचिवसम्म हुन पुग्दछ । उता सोझो कालीबहादुर भने बल्लबल्ल खरिदारको जागिर प्राप्त गरेको हुन्छ । कालीबहादुरको ज्ञान चोरेर सचिव भएको दामुलाइ भेट गर्न स्वयं कालीबहादुरलाई मुस्किल पर्छ । दामुको शान नै फरक हुन्छ । आफ्नै जिल्लामा आएको दामुलाई कालीबहादुरले स्वागत गर्नसम्म पनि अवसर पाउँदैन । अर्थात जिल्लामा आएको दामु कहाँ कहाँ कोसँग जान्छ कालीबहादुर अनभिज्ञ नै रहन्छ ।

     एक दिन दामुसँगै सामान्य प्रसासन मन्त्रालयको सचिव भएको आफ्नो पुरानो मित्र अर्जुन आफै आएर कालीबहादुरसँग भेट गर्छ र दामुको बारेमा सबै कुरा बताउँछ । अर्जुनको मुखबाट दामुले नक्कली सर्टिफिकेट प्रयोग गरेको अभियोगमा जेल परेको कुरा कालीबहादुरले थाहा पाउँछ । विगतमा दामुको फटाइँको कारण कालीबहादुरले अर्जुनको सुझाव नमानेको र उसँगको मित्रता दुर पारेकोमा कालीबहादुरले पश्चातापबोेध गर्छ । सचिव जस्तो गरीमामय पदमा रहेर पनि अर्जुनमा कुनै पनि घमण्डीपन हुँदैन । अर्जुन इमानदार र असल व्यक्ति भएको कारण आजैदेखि अर्जुन र कालीबहादुरको बीच उदाहरणीय मित्रताको सुरुआत हुन्छ । कालीबहादुरले दामुसँग होइन वास्तविक कृष्ण सुदामाको जस्तो साथित्वको सम्बन्ध त अर्जुन र आपूmबीचमा पो भएको महसुस गर्न पुग्छ । यसरी यस कथामा खराबसँगको सम्बन्धले जीवन बर्बाद हुने भएकाले सिद्धान्त र व्यवहार मिल्ने असल साथीबीचमा नै दह्रो एकता र सम्बन्ध कायम गरेर अगाडि बढ्नुपर्छ भन्ने सारगर्वित सन्देश प्रस्तुत गरिएको छ ।

११. देशी चस्मा 

     देशी चस्मा कथाले नेपालको कर्मचारीतन्त्रभित्रको विकृति, विसङ्गति र नोकरशाही प्रवृत्तिलाई सजीव ढङ्गले चित्रण गरिएको छ ।

     कथामा निमित्त हाकिमको रूपमा रहेको सुब्बा केशरबहादुरले आफ्नो कार्यालयका नयाँ हाकिम आउने खबर पाएपछि उसको स्वागतार्थ जेजे गर्नु पर्ने हो केही कसुर बाँकी राख्दैन । यस पटक जसरी पनि हाकिमको विश्वास जित्नुपर्छ भन्ने ध्येयले ऊ रातदिन नभनी अहोरात्र काममा तल्लीन रहन्छ । यहाँसम्म कि ऊ आफ्नै गोजीको पैसा खर्च गरेर हाकिमलाई सम्मान गर्नका लागि थुप्रै खादाहरू समेत खरिद गर्छ । आपूm मातहतका सबै कर्मचारीहरूलाई नयाँ हाकिमको स्वागतार्थ केही कमी हुन नदिन काममा खटाउँछ । आपूm स्वयं पनि उनीहरूसँगै काममा व्यस्त रहन्छ ।

     नयाँ हाकिमको जिल्ला प्रवेश हुन्छ । उसको स्वागतार्थ जिल्लाभरिका हाकिम, कर्मचारीहरू तँछाड मछाड गर्छन् । तर सुब्वा केशरबहादुर सबै कुराको व्यवस्थापन मिलाउँदा मिलाउँदै र अबिर खोज्दा खोज्दै हाकिमको स्वागत गर्ने कुरामा सबैभन्दा पछि पर्न जान्छ । यतिन्जेलसम्म पूmलको माला र आफैले किनेका खादासमेत सिद्धिसकेको हुन्छ । तैपनि सुब्बा केशरबहादुर हाकिमको स्वागतार्थ उसको अगाडि गएर दुई हात जोडेर निहुरिन्छ । तर पनि नयाँ हाकिमले उसको केही वास्ता गर्दैन । नयाँ हाकिमको स्वागतार्थ यत्रो तामझाममा सम्पूर्ण लगानी सुब्बा केशरले नै गरेको हुन्छ । अपशोच यो कुरा नयाँ हाकिमको आँखाले केही पनि देख्न सक्दैन । किन कि यो नयाँ हाकिमले पनि अगाडिकै हाकिमहरूले जस्तै देशी चस्मा लगाएर आएको हुन्छ । यही देशी चस्माले गर्दा प्रत्यक हाकिमहरूले सत्य देख्ने सामथ्र्य गुमाउँदै आएका छन् । यसपटकको नयाँ हाकिमले पनि देशी चस्मा लगाएर आएको कारण सत्य देख्ने कुरै भएन । तसर्थ नयाँ हाकिमले पनि कार्यालयमा देखिने सम्पूर्ण कमजोरीहरूको दोष सुब्बा केशरकै काँधमा थोपर्दै जान्छ । अन्तमा यी कमजोरीहरूको सफाई पेस गर्ने व्याहोराको हाकिमको पत्र सुब्बा केशरको हातमा पर्छ । सुब्बा केशरलाई आपूmले टेकेको जमिनै भासिएको अनुभूति हुन्छ । गल्ती नै नभएको कुरामा सुब्बा केशरले केको सफाई पेश गर्न सक्थ्यो र ? त्यसैले हाकिमले कारबाही गर्नुपूर्व नै आपूmले राजीनामा दिने बेहोराको जवाफी पत्र लेखेर हाकिमलाई बुझाउँछ । यो पत्रले हाकिमको धैर्यताको बाँध भत्किन्छ । उसले तत्कालै सुब्बा केशरको बर्खास्तीको कार्वाही अगाडि बढाउँछ । सुब्बा केशर प्रतीक्षालयमा बसेर आँसुको थोपा खसाल्दै आफ्नी श्रीमतीलाई अर्काे पत्र लेख्न थाल्छ । यसरी नोकरशाही प्रवृत्ति बोकेको कर्मचारीतन्त्रभित्र इमानदार र कर्मशील कर्मचारीहरूले भोग्नुपरेको पीडालाई यो कथामा मार्मिक ढङ्गले चित्रण गरिएको छ ।

१२. शम्भु दाइको बिदाइ  

     शम्भु दाइको बिदाइ शीर्षकको कथामा कर्मचारीतन्त्रले एकातिर तानाशाही प्रवृत्तिका शासक जन्माउने गरेको र अर्काेतिर सद्दे कर्मचारीहरूलाई मानसिक सन्तुलन गुमाउन वाद्य पार्ने गरेको विषयलाई कथाकारले गहिरो चित्रण गरेका छन् ।

     कथामा करिब छत्तीस वर्ष सरकारी जागिरको अवधिमा पन्ध्रवटा विभागस्तरीय सरकारी कार्यालयमा काम गरिसकेका ना.सु. शम्भु दाइ उमेरको हिसाबले सबैभन्दा सिनियर कर्मचारी हुन्छन् । यो लामो कार्यकालमा उनको आँखाले देश बर्बाद पार्ने “मुलाहरू” “चम्चेहरू” “चण्डालहरू” यी सबैलाई वर्षांैदेखि देख्दै आइरहेको हुन्छ । तालुक निकाय, भ्रष्टाचार नियन्त्रक अफिसहरू र अनुगमनकर्ता निकायहरूको नाम उनले सुन्न पनि चाहन्नन् । सरकार, राजनीतिक दल, विकासे अडडा, न्यायाधीश, उद्योगी, व्यापारी, सेना पुलिस, पत्रकार आदि कुनै पनि क्षेत्रमा विकृति नभएको ठाउँ उनको आँखाले कतै पनि देखेको हुँदैन । त्यसैले शम्भु दाइको मुखमा कसैलाई मुला, कसैलाई चण्डाल, कसैलाई बज्रस्वाँठ भन्ने शब्दले सम्बोधन गर्ने थेगो नै बनेको हुन्छ । शम्भु दाइ असल मान्छे हुँदाहुँदै पनि यति नकारात्मक बन्नुमा कर्मचारीतन्त्रको गलत प्रवृत्तिले काम गरेको हुन्छ । राम्रो काम गर्न खोज्दा पनि शम्भु दाइको कहिल्यै उचित मूल्याङ्कन हुँदैन । फटाहा, धूर्त र सोर्सफोर्सवालाहरू मात्र पुरस्कृत भइरहँदा, स्रोत साधनमा पहँचवालाहरूको मात्र ढलीमली भइरहँदा शम्भु दाइ जस्ता असल र इमानदार कर्मचारीहरू नकारात्मक बन्न जानु स्वाभाविक हुन्छ । त्यसैले यी सब परिवेशहरूले शम्भु दाइलाई जबरजस्ती नकारात्मक बनाइदिएको हुन्छ ।

     समयक्रममा “म” पात्रसँगको साथसङ्गतले शम्भु दाइको नकारात्मक सोचमा विस्तारै परिवर्तन हुन थालेको हुन्छ । सबैसँग राम्रो बोली बोल्न थालेका हुन्छन् । फेसबुकमा ज्ञानगुण र धर्मका कुरा सेयर गर्न थालेका हुन्छन् । अपशोच यसै बेला उनलाई आफ्नो कार्यालयबाट सरुवा गरेर बिदाइ गरिन्छ । त्यो पनि अपमानजनक तरिकाले । यसरी एउटा इमानदार, तल्लो तहको कर्मचारीलाई कहिल्यै सम्मान मिल्न नसकेको जीवन कथालाई सजीव रूपमा प्रस्तुत गरिएको छ ।                 

१३. नौलो सेवा जेडप्रेस

     यस कथामा मानिसहरूले बसको यात्रामा भोग्नु परेको सास्ती, होटेल व्यवसायीहरूको पैसा कमाउने धन्दा, गाडीवालहरूले पैसा पाएसम्म यात्रुहरूलाई आफ्नो बसमा खाँद्नै पर्ने तरिका, जस्तोसुकै जोखिम भए पनि यात्रा गर्नुपर्ने यात्रुहरूको बाध्यता र नेपालमा रहेका सडक यातायात तथा सञ्चारको नाजुक अवस्थाका कारण नागरिकले बेहोर्नुपरेको सास्ती आदिलाई कलात्मक ढङ्गले अभिव्यक्त गरिएको छ ।

     कथाअनुसार म भन्ने पात्रले आफ्नो सपनामा नौलो सेवा जेडप्रेस नामको बसमा नेपालगञ्जसम्मको यात्रा तय गर्दछ । नेपालगञ्ज जाने खास उसको लक्ष आफ्नी प्रेमिका सेवालाई भेट्नुहुन्छ । बिरामी आमालाई उपचारका लागि नेपालगञ्ज लाँदै गरेकी सेवालाई सहयोग गरेर उसको मन जित्नुहुन्छ । यसैले उसले सेवालाई सम्पूर्ण रूपले सहयोग गर्ने बाचा दिएको हुन्छ । उसैको भरोसामा कहिल्यै नेपालगञ्ज नगएकी सेवाले आफ्नी आमालाई नेपालगञ्जतिर ल्याउँदै गरेकी हुन्छे । बीचबीचमा ऊ र आफ्नी प्रेमिका सेवाबीच फोनमा कुरा गर्ने प्रयास हुन्छ तर फोनको नेटले कामै गर्दैन । ऊ चढेको नौलो सेवा जेडप्रेस पनि अनौठोकै हुन्छ । बसभित्र एउटा पनि सिट हुँदैन । जताततै मानिसहरू खाँदिएर बसेका हुन्छन् । बस साह्रै दुर्गन्धित र उकुसमुकुसको हुन्छ । पच्चीस तीस जना यात्रु बोक्ने क्षमताको त्यो बस सयजना मानिसको कोटा पूरा नहुञ्जेल चल्ने छाँटकाँट हुँदैन । त्यो बसमा अर्काे एउटा अनौठो कुरा पनि हुन्छ । यात्रा गर्दागर्दै यात्रुहरू पैसा कमाउने स्किमहरूमा सहभागी हुने व्यवस्था हुन्छ । २५ लाखको स्किममा सहभागी हुनलाई बसको छतमा गएर बस्नुपथ्र्याे । बीचबीचमा रहेका उछ्छाद सङ्कल केन्द्र, मानव ग्याँस सङ्कलन केन्द्र जस्ता स्थानहरूबाट विभिन्न स्किमका चेकहरू पनि प्राप्त गर्ने व्यवस्था हुन्छ । भर्खरै पिच गरिएको भनिएको सडक पनि खाल्डाखुल्डी पारेर कच्ची जस्तै भएकाले गाडीले बल्ड्याङबुल्डुङ खेल्दै गुड्नु पर्ने हुन्छ । यसरी यो गाडीको गति यति सुस्त छ कि एक किलोमिटर पार गर्न पनि उसलाई थुप्रै समय लगाइरहेको हुन्छ । उता उसको प्रेमिका सेवाले नेपालगञ्जमा उसलाई कुर्दा कुर्दै उसको सिकिस्त बिरामी आमाको ज्यान गइसकेको हुन्छ । यता भने बल्लबल्ल नौलो सेवा जेड प्रेसको गति विस्तारै बढ्न थालेको हुन्छ । यसका यो गति अब भने निकै नै तीव्र बन्न थाल्छ । यसको यो तीव्र गतिले यात्रुहरूमा त्रास पैदा हुन्छ । ऊ चिच्याउन थाल्छ । गाडी छाङ्गे भीरमा पुगिसकेको हुन्छ । छतमा बसेका यात्रीहरू भयाङ्कर चिच्याहटसहित भीरमा ओइरिन्छन् । गाडीले पनि भयाङ्कर चित्कार छोड्छ । आपूm चढेको गाडी भिरबाट खस्यो भन्ठानी ऊ अत्तालिँदै बसको छतबाट हाम फाल्छ । होसमा आउँदा ऊ आपूmलाई आफू सुतिरहेको खाटबाट भुइँमा खसेको पाउँछ ।

     यसरी जितौरी कथा सङ्ग्रह भित्र सङ्कलन गरिएका तेह्रवटा कथाहरू वर्तमान समाजको यथार्थ तस्बिरको चित्रण गरिएको कालजयी कथाको रूपमा स्थापित छन् । के कुरा सत्य हो भने कुनै पनि स्रष्टा जुन परिवेशमा रहेर आपूmले अनुभव र ज्ञान हासिल गरिरहेको हुन्छ त्यही परिवेशको जीवन भोगाइलाई उसको कलमले कलात्मक रूप दिने गरेको पाइन्छ । सायद जितौरी कथा सङ्ग्रहका कथाकारले आफ्ना जीवनका अधिकांश समय शिक्षण पेसा र सरकारी कर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्मचारीको रूपमा व्यतित गरेको कारणले हुनसक्छ जितौरीभित्र उनीएका उनका अधिकांश कथाहरूमा पनि सोही परिवेश र क्षेत्रमा हुने गरेका सामाजिक जीवनका तस्बिरहरू प्रतिविम्बित हुने गरेको पाइन्छ । कविता, संस्मरण, नाटक आदि विधामा पनि उत्तिकै चासो र रुचिका साथ कलम चलाउँदै आएका साहित्यकार पूर्ण ओलीको जितौरी कथासङ्ग्रहले कुमार्गमा हिँडिरहेको समाजलाई सुमार्गमा डो¥याउने उद्देश्य राखेको छ । त्यसैले यो कथासङ्ग्रहले प्रगतिशील साहित्यको क्षेत्रमा दरिलो उपस्थिति दर्शाएको छ । प्रारम्भमा पाठकको मनमा अत्यन्तै खुलदुली मच्चाइदिने र अन्त्यमा भन्न खोजेको खास कुराको पर्दा खोलेर पाठकको हृदयलाई झसङ्ग पार्न सक्ने अद्भुत क्षमता बोकेको कारण उनका प्रत्येक कथाहरूले विशिष्ट पहिचान कायम गर्न सफल बनेका छन् । यसका साथै कथाकारले प्रयोगमा लिएका सरल र मिठासपूर्ण भाषा शैलीले उनका हरेक कथाभित्र सुनमा सुगन्ध फैलिएको आभास हुने गर्दछ । आग्रह, पूर्वाग्रह र कुण्ठा भन्दामाथि उठेर निडरतापूर्वक समाजको दुःख, पीडा, अभाव, कुसंस्कार अनि विकृति र विसङ्गतिका मूल कारण खोतल्न सफल एक सशक्त कृति जितौरीका लेखक पूर्ण ओलीको लेखन यात्रा सदैव अगाडि बढिरहोस् । तेइस वर्षको भरभराउँदो उमेरमा नै यो दुनियाँबाट बिदा भएर गएका आफ्नो प्यारो छोरा इन्जिनियर परिशीलन ओलीमा सपर्पित यो कथा सङ्ग्रह सदासर्वदा कालजयी बनिरहोस् । हार्दिक शुभकामना ।

जितौरी कथासङ्ग्रह

प्रकाशक- भुँडीपुराण प्रकाशन

लेखक- पूर्ण ओेली

सर्वाधिकार- लेखकमा

विधा- कथा

संस्करणः २०७७ चैत

मुल्य- रु ३९०

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप