शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञाले ५० प्रतिशत उद्योग कलकारखानाको उत्पादन प्रभावित

लघु, घरेलु तथा साना उद्योगहरु पलायनको अवस्थामा पुगे : उमेशप्रसाद सिंह
शनिबार, १८ वैशाख २०७८, १० : १७
शनिबार, १८ वैशाख २०७८

निषेधाज्ञाका कारण करिब ५० प्रतिशत उद्योग तथा कलकारखाना प्रभावित हुन पुगेका छन् । सरकारले बुधबारदेखि लागू हुनेगरी उपत्यकासहित २३ जिल्लामा निषेधाज्ञा लागू गरेसँगै अत्यावश्यक बाहेकका प्रायः सबै उद्योग प्रभावित हुन पुगेका छन् ।

यस्तो प्रभाव मुलुकभित्र सञ्चालित झण्डै साढे ८ हजार उद्योगमध्ये ४ देखि ५ हजारमा परेको आँकलन गरिएको नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले बताएको छ ।

उद्योग परिसङ्घका अध्यक्ष सतिषकुमार मोरले भने, निषेधाज्ञाको प्रभाव यतिखेर मुलुकका साना तथा मझौला लघु उद्योगदेखि ठूला उत्पादनका उद्योगहरुमा समेत परेको छ । संख्यात्मक रूपमा ठ्याक्कै यति नै त भन्न सकिन्न तर करिब ८ हजार उद्योगमध्ये अधिकतम ५ हजार उद्योगहरू निषेधाज्ञाको सिकार भएको अनुमान गरिएको छ । मोरले थपे, त्यसो त उत्पादन र बजारीकरण नै नभएपछि केका लागि उत्पादन गर्ने ? त्यसमाथि उद्योगका लागि आवश्यक कच्चा पदार्थको पनि त सहज आपूर्ति हुन प-यो ।

यतिखेर उत्पादन र बजार दुवैको अनुकुल वातावरण नहुँदा उद्योगहरु प्रभावित हुन पुगेको अध्यक्ष मोरको भनाइ छ । निषेधाज्ञाकै कारण आवश्यक श्रम शक्ति तथा कामदारहरुको अभावमा उद्योगहरु उत्पादनमा जान नसकेको मोर भनाइ छ ।

राजधानीसहित मुख्य मुख्य शहरहरु यतिखेर निषेधाज्ञामा छन् । आउजाउ गर्नका लागि सार्वजनिक यातायात सबै बन्द छन् । निजी सवारी पनि रोकिने अवस्थामा छन् । यस्तो अवस्थामा कामदारहरू उद्योगसम्म पुग्ने अवस्था नै छैन । यो परिवेशमा कसरी उत्पादन गर्न सकिन्छ ? जेनतेन उत्पादन गर्ने प्रयास गरिए पनि आपूर्ति, बजारको व्यवस्था छैन । अहिले आवश्यक कच्चा पदार्थ र उत्पादनको बजारीकरण नै रोकिएको अवस्था छ । लकडाउनमा पनि विशेष उत्पादनका क्षेत्रभित्र आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाएर उत्पादनलाई जारी राख्न दिन हामीले सरकारसँग माग गरेका थियौँ । तर सरकारले यो कुरा मानेन, अहिले अत्यावश्यक बाहेकका सबैजसो उद्योग बन्द गरिएको अवस्था छ, मोरले रातोपाटीसँग भने ।

त्यसो त यतिखेर ठूला उद्योग मात्र होइनन् साना, लघु तथा घरेलु उद्योगसमेत निषेधाज्ञाको चपेटामा परेका छन् । त्यसको प्रभाव यी उद्योगहरु अहिले उठीबासको अवस्थामा पुगेको व्यवसायीहरुको गुनासो छ ।

लघु, घरेलु तथा साना उद्योगहरु पलायनको अवस्थामा पुगे : उमेशप्रसाद सिंह

लघु, घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह गत वर्षदेखिको निरन्तरको कोभिडको प्रभावले मुलुकका ९० प्रतिशतभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु पलायनको अवस्थामा पुगेको बताउँछन् ।

गत वर्षकै लकडाउनले थिलथिलो भएका मुलुकका साना तथा मझौला उद्योगहरु अहिलेको दोस्रो लहरले झन् प्रताडित हुन पुगेको सिंहको भनाइ छ ।

यतिखेर मुलुकका साना तथा लघु घरेलु उद्योगहरु त पलायनकै अवस्थामा पुगेका छन् । यी उद्योग कोभिडबाट निकै प्रताडित छन् । यही चोट सहन नसकेर कतिपय उद्योगीहरु त यो क्षेत्र छाडेर अन्यत्र नै पलायन भइसके ।

सिंहले रातोपाटीसँग भने, यी क्षेत्रबाट झण्डै ३० प्रतिशत व्यवसायीहरु बाहिरिइसकेका छन् । ती व्यक्तिमध्ये अहिले कतिपय भारतमा श्रमिकको रूपमा काम गरिरहेका छन् भने कतिपय ऋणमा डुबेर बसेका छन् । कतिलाई त हामी महासङ्घले उत्थानको पहल गरिरहेका छौँ ।

तर यस्तो क्षेत्रमा राज्यबाट कुनै सहयोग नभएको सिंहको गुनासो छ । गत वर्ष जेनतेन टिकेका व्यवसायीहरु पनि यस पटकको निषेधाज्ञाले पूर्णरूपमा विस्थापित हुने खतरा बढेको छ । झण्डै ९० प्रतिशत व्यवसायको ओगटेको यो क्षेत्र नै धराशायी भयो भने राज्यको उत्पादन नै घट्ने प्रायः स्पष्टै छ । त्यसैले यो क्षेत्र डुब्नुअघि नै राज्यले केही सोच्नु आवश्यक छ । लघु, घरेलु तथा साना उद्योगको रक्षार्थ यी क्षेत्रको उत्थानका लागि महासङ्घ सरकारसँग विशेष माग गर्दछ, महासङ्घका वरिष्ठ उपाध्यक्ष सिंहले भने ।

गत वर्षकै लकडाउनका कारण मुलुकका झण्डै ७३ प्रतिशत उद्योगधन्दा उत्पादन विहीन रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । ३.३ प्रतिशत हिस्सामा रहेका ठूला उद्योगलाई छाड्ने हो भने ९६.७ प्रतिशत उद्योगमध्ये ७३ प्रतिशत उद्योग तथा कलकारखानाको उत्पादन घटेको बैङ्कको तथ्याङ्कले देखाएको छ । बैङ्कका अनुसार बन्द हुने तथा उत्पादनमा जान नसक्ने अधिकांश उद्योगमा साना, लघु तथा मझौला उद्योग नै छन् ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको तथ्याङ्कले समेत कोभिड१९ का कारण कुल उद्योगको १०.८१ प्रतिशत यस्ता उद्योगहरु पूर्णरूपमा बन्द हुन पुगेका र अधिकतम ८९.१९ प्रतिशत उद्योग आंशिक मात्र उत्पादनमा गएको देखाएको छ ।

सो तथ्याङ्कअनुसार बन्द हुनेमा अधिकांश लघु, घरेलु तथा साना उद्योगहरु नै छन् । लकडाउनकै कारण सो अवधिमा अधिकतम २२.५ प्रतिशतले रोजगारी गुमाएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

‘औद्योगिक क्षेत्रमा निषेधाज्ञाको प्रभाव छैन’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने निषेधाज्ञाको प्रभाव औद्योगिक क्षेत्रमा नपरेको दावी गरेको छ । हाल घोषित लकडाउन देशव्यापी नभएर सहर केन्द्रित मात्र भएकाले औद्योगिक क्षेत्रमा खासै प्रभाव नपरेको मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले रातोपाटीसँग बताए ।

मन्त्रालयले औद्योगिक क्षेत्र सञ्चालनमा सहजीकरण गरिरहेको छ । अत्यावश्यक तथा सम्भव भएसम्मका उद्योग कलकारखाना सञ्चालन गर्नका लागि कुनै रोकतोक छैन, मन्त्रालयका प्रवक्ता डा. रेग्मीले भने, त्यसै पनि अहिलेको लकडाउन उपत्यकासहित केही सहरमा मात्र भएकाले उद्योग सञ्चालनमा समस्या छैन । उद्योगहरु चलिरहेका छन् ।

व्यवसायीहरुले निषेधाज्ञाको प्रभावबाट अहिले ५० प्रतिशत उद्योग तथा कलकारखाना प्रभावित भएका बताइरहेका बेला मन्त्रालयको भने फरक धारणा आएको हो ।

उद्योग विभागका अनुसार अहिले पर्यटनसहित ऊर्जा, उत्पादन, सेवा तथा कृषि, वन पैदावार गरी ८ हजार ५ सय उद्योग सञ्चालनमा छन् । विभागमा दर्ता भएको आँकडाअनुसार कुल ८ हजार ४ सय २६ उद्योगमध्ये १ हजार ८५९ पर्यटन, २ हजार २६२ सेवा मूलक, ४४८ ऊर्जा, ४९६ कृषि तथा वन पैदावार, ६० पूर्वाधार, ७० खनिज, ८१ सूचना, प्रसार तथा सञ्चार प्रविधि र अधिकतम ३ हजार १५० उद्योगहरु उत्पादन क्षेत्रका रहेका छन् । शुक्रबार बसेको सीसीएमसी बैठकले निषेधाज्ञालाई थप कडा बनाउने गर्नेगरी मन्त्रिपरिषद्मा सिफारिस गरेपछि त्यसको कार्यान्वयनसँगै उद्योगहरुमा प्रभाव थप पर्ने सरोकारवालाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप