शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाका पूर्व सदस्य पौडेलको निधन, देउवाद्वारा दु:ख व्यक्त

शनिबार, १८ वैशाख २०७८, १० : १४
शनिबार, १८ वैशाख २०७८

काठमाडाैं । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभाका पूर्व सदस्य प्रा.विदुर पौडेलको निधन भएको छ ।  शनिबार बिहान पशुपतिस्थित वैद्यखानामा पौडेलको ७७ वर्षको उमेरमा निधन भएको हो। 

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका पूर्वीय दर्शन तथा संस्कृत साहित्यका अध्येता पौडेलको मस्तिष्कघातबाट निधन भएको हो।

ओखलढुङ्गा स्थायी घर भई काठमाडौंको कुमारीगालमा बस्दै आएका पौडेललाई केही दिनअघि मस्तिष्कघात भएको थियो ।  

शिक्षण अस्पताल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो । उपचार सम्भव नभएपछि पशुपतिमै प्राण त्याग्ने पौडेलको इच्छाअनुसार वैद्यखाना लगिएको परिवारका सदस्यले बताएका छन्। 

अविवाहित जीवन बिताएका पौडेल छ जना दाजुभाइमध्ये जेठा थिए । स्व. पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको निधनबाट अत्यन्त दुःख लागेको बताए ।

'स्वर्गीय पौडेल पूर्वीय दर्शन र साहित्यका एक धरोहर एवं प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत हुनुहुन्थ्यो। उहाँको निधनले नेपाली कांग्रेस पार्टी र मुलुकले एक असल नेता र बौद्धिक व्यक्तित्व गुमाएको छ,' देउवाले भनेका छन् ।

देउवाले स्वर्गीय पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप