बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने सिसिएमसीको निर्णय

शुक्रबार, १७ वैशाख २०७८, २२ : ००
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरुमध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले निषेधाज्ञा लागू भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारीहरु राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैंक वित्तिय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछन् । सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगमनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

यस्तै बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्नेगरी खटाउन मन्त्रिपरिषद्मा सिफारिस पनि गरेको छ । यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । यदि निर्माण कार्य सुचारु गर्ने भए कामदार कर्मचारीहरुलाई निमार्ण स्थलमा नै राख्नुपर्ने छ ।

उद्योगहरु सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ । बैठकले नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । विदेशबाट नेपाल आएका विदेशीले क्वारेन्टाइन बस्न अनिवार्य गर्ने र नमाने डिपोट गर्ने पनि निर्णय गरेको छ । क्वारेन्टाइनको रुपमा रहेका होटलहरुलाई थप ब्यबस्थित गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप