आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दलका नेतालाई नागरिक अगुवाको सुझाव : निषेधाज्ञा र प्रेस विज्ञप्तिले कोरोनालाई जितिँदैन

झगडा बन्द गर, कोरोनालाई युद्ध बनाऊ : श्याम श्रेष्ठ
शुक्रबार, १७ वैशाख २०७८, २२ : ००
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगिरहेका बेला राजनीतिक दलका नेताहरु आपसी झगडा र सत्ताको लुछाचुँडीमा व्यस्त छन् । विपक्षी दलहरु सरकार ढाल्ने दाऊ खोजिरहेका छन् भने सत्ता पक्षचाहिँ कुर्सी जोगाउने र एक्लै यात्रा गर्ने ध्याउन्नमा छ ।

सरकार देशका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गरेर बसेको छ भने विपक्षीहरु प्रेस विज्ञप्ति जारी गरेर बसेका छन् ।  

यस्तो राष्ट्रिय संकटका बेलामा दलहरुले सत्ताको खेल र झगडा छाडेर कोरोना महामारीलाई साझा शत्रु बनाउनुपर्ने नागरिक आन्दोलनका अभियन्ताको माग छ ।

राजनीतिक विश्लेषक एवं नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठले रातोपाटीसँग भने, ‘यतिबेला कुर्सीको झगडा गरेर बस्ने समय होइन, सबै झगडा बन्द गरेर कोरोनालाई नै युद्ध ठानेर केन्द्रित हुनुपर्ने हो । तर, राजनीतिक दलहरुले त्यसतर्फ प्रभावकारी भूमिका खेल्न खोजेको देखिँदैन ।’

अहिले सरकार बनाउने र हटाउने खेल खेल्ने समय नभएको भन्दै  श्रेष्ठले जनताको सेवामा लाग्नुपर्नेमा त्यसतर्फ दलहरुको ध्यान जानै नसक्नु दुःखको विषय भएको बताए । उनले संकटका बेला राष्ट्रिय एकता प्रकट गर्नुपर्ने भन्दै दलहरुलाई कुर्सीको खेलबाट मुक्त हुन आग्रह गरे ।

‘योबेला राष्ट्रिय एकता प्रकट गर्ने बेला हो । तर, सरकारले नै मानिसहरुलाई चोट पुग्ने गरी गिज्याउने काम गरिरहेको छ’ श्रेष्ठले भने, सरकारको यो क्रियाकलाप देखेर अर्कोथरी सरकार नै गिराउँछु भनेर चुनौती दिँदै लागिपरेको अवस्था छ ।’

नागरिक आन्दोलनका अभियन्ता श्रेष्ठले योबेला कसैले कसैलाई गिज्याउने र चुनौति दिने समय नभएको बताए । यही अवस्था रहने हो भने भारतमा भन्दा ठूलो महामारी निम्तिन सक्ने चेतावनी दिँदै श्रेष्ठले भने, ‘नेपाली जाती नै स्वाहा हुन्छ, नेपाल र नेपाली रहे पो शासन गर्ने हो ।’

राजनीतिक दलहरुले यस्तोबेला गाउँदेखि केन्द्रसम्म जनचेतना जगाउने, जनशक्ति परिचालन गर्ने, आवश्यक औषधि र चिकित्सकको व्यवस्थाका लागि सरकारसँग मिलेर काम गर्नुपर्ने श्रेष्ठको सुझाव छ । तर, दलहरुले सामान्य विज्ञप्ति निकालेर आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने उनले गुनासो गरे ।

‘सरकार निषेधाज्ञा गरेर अब सब ठीक हुन्छ भनेर बसेको छ, जबकि  सीमामा कडाइ, हवाई उडान बन्द र कन्ट्रयाक ट्रेसिङलाई जोड दिनुपर्ने हो’ विश्लेषक श्रेष्ठ भन्छन् ‘तर, यो काममा न सरकारले चासो दिएको छ, न राजनीतिक दलहरुले नै सरकारलाई यसो गर्न दबाव दिएका छन् यसले त स्थिति झन भयावहबाहेक अरु केही निम्त्याउँदैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप