केन्द्रीय संस्करण

विश्वमा फ्लु महामारीको इतिहास

person explore access_timeबैशाख १७, २०७८ chat_bubble_outline0

 

इतिहासका सबै कालखण्डमा फ्लुको महामारी  भएका अभिलेख छन् । १९१८ देखि हालसम्म चार पटक विभिन्न प्रकृतिका फ्लुको महामारी  भएको तथ्य भेटिन्छ ।

१९१८–१९१९ – स्पेनिस फ्लु एच१एन १,

१९१८ को आएको फ्लुको महामारीलाई स्पेनिस फ्लु भनियो जनसमुदाय अचानक बिरामी भए । त्यसबेला बिहान सकुशल रहेको व्यक्ति साँझमा एक्कासि मृत्यु भएका थिए भन्ने अभिलेख भेटिन्छन् । तर स्पेनिस फ्लुबाट ग्रसित जनसमुदायमा भएको मृत्यु भने  स्पेनिस फ्लुले नभई जीवाणुजन्य सङ्क्रमणको जटिलताका कारण भएको निमोनियाका कारण मानिएको छ ।

१९१८ को फ्लुको महामारीको भएको क्षति :  

–          त्यसबेला विश्वभरीमा करिब २०–४० प्रतिशत मानिस बिरामी भए ।   

–          ५ करोड मानिसको मृत्यु भएको  तथ्याङ्क छ ।

–          अमेरिकामा मात्रै करिब ६ लाख ७५ हजार मानिसको मृत्यु भएको देखिन्छ ।

–          २०–५० वर्षका उमेर समूहका मानिसको मृत्यु दर बढी थियो  ।

१९५७–१९५८ – एसियन फ्लु एच२एन २, 

फेब्रुअरी १९५७ मा एउटा नयाँ फ्लु भाइरस सुदूरपूर्वमा पहिचान भयो । ६५ वर्षभन्दा कम उमेर समूहका मानिसमा प्रतिरक्षात्मक क्षमता न्यून रहेको थियोे । महामारी हुन सक्ने अनुमान गरियो । १९५७ मा भाइरस गर्मीको मौसमपारी फाटफुट रोग देखाउँदै अमेरिका पुगेको अभिलेख छ । वर्षे बिदापछि विद्यार्थी स्कुल पुगेपछि तिनले कक्षामा रोग सर्नुका साथै घरपरिबार तथा छरछिमेकमा पनि रोग सार्ने वाहकको काम गरेको देखिन्छ । अक्टोबर १९५७ मा सङ्क्रमण दर स्कुले विद्यार्थी, अधबैँसे उमेरका तथा गर्भवतीहरुमा बढी देखा प¥यो ।

डिसेम्बर १९५७ मा महामारी नियन्त्रण हुन पुग्यो । दोस्रो महामारी पुनः १९५८ को जनबरी, फेब्रुअरीमा देखा प¥यो । तथापि १९५७ को महामारी १९१८ को फ्लुको महामारी जस्तो भयावह थिएन । इन्फ्लुएन्जा तथा निमोनियाजन्य मृत्यु सेप्टेम्बर १९५७ र मार्च १९५८ मा भएको थियो । यो फ्लुबाट अमेरिकामा करिब ७० हजार मानिसको मृत्यु भएको देखिन्छ । मृत्यु हुनेमा ज्येष्ठ उमेरका मानिस बढी थिए । त्यसबेला यसलाई एसियन फ्लु भनियो ।

१९६८–१९६९ – हङ्कङ फ्लु  एच३एन३,

सन् १९६८ को सुरुमा हङ्कङमा नयाँ फ्लु भाइरस पहिचान गरियो । सेप्टेम्बर १९६८ को सुरुमा अमेरिकामा पहिलो बिरामी फेला परेको देखिन्छ । डिसेम्बर १९६८ सम्ममा रोग अमेरिकामा व्यापक रूपमा देखिएको थिएन । फ्लु भाइरसका कारण डिसेम्बर १९६८ र १९६९ को जनवरीमा करिब ६५ वर्ष उमेर समूहका मानिसको मृत्यु भएको देखिन्छ । यस पटकको महामारीबाट सेप्टेम्बर १९६८ र मार्च १९६९ बीचमा करिब ३३,८०० मानिसको मृत्यु भएको देखिन्छ ।

जनस्वास्थ्यकर्मीले अमेरिकामा फ्लु भाइरसको पटक पटकको महामारीबाट मृत्यु दर कम हुँदै जानुका विभिन्न कारण देखाएका गरेका छन् ।

–          हङ्कङ फ्लु भाइरस १९५७ मा महामारी गराउने एसियन फ्लु भाइरससँग अनुवांशिक सामिप्यता हुनाले पनि जनसमुदायमा रोगविरुद्ध जुध्न सक्ने क्षमता विकास हुनु ।

–          हङ्कङ फ्लु भाइरसको प्रकोप डिसेम्बर १९६८ मा देखिँदा अधिकांश विद्यालय जाडो बिदाका लागि बन्द थिए । विद्यार्थी स्कुल नपुगेकाले कक्षामा रोग सार्ने माध्यम भएनन् । यसका साथै घरपरिवार तथा छरछिमेकमा पनि रोग सार्ने वाहक भएनन् ।  

–          आधुनिक उपचार सेवाको विकास, रोगको सघन निगरानी, द्रुत प्रयोगशालाकृत रोगनिदान प्रविधि जनस्वास्थ्य सचेतना सूचना प्रवाह, अनि जीवाणुजन्य सहसङ्क्रमणविरुद्ध एन्टिबायोटिकको सहज उपलब्धता ।

२००९–२०१०  : स्वाइनफ्लु एच१एन१

२००९ को वर्षायाममा अमेरिका तथा विश्वमा  नयाँ फ्लु भाइरस फेला परेको देखिन्छ । यसलाई सुुरुमा स्वाइनफ्लु भनियो । अमेरिकामा एच१एन१ (स्वाइनफ्लु) को पहिलो बिरामीमा अप्रिल १५ २००९ मा पहिचान गरियो । अप्रिल २६ २००९ मा अमेरिकी सरकारले  एच१एन१ (स्वाइनफ्लु) लाई जनस्वास्थ्यजन्य सङ्कटकाल घोषणा गर्नुु पर्यो । सोही वर्ष अमेरिकामा जुन महिनासम्ममा १८ हजार बिरामी  देखा परे । यस महामारीका कारण करिब विश्वका ७४ मुलुक प्रभावित भएका थिए । नोभेम्बर २००९ सम्ममा अमेरिकामा ४८ प्रान्तमा साना केटाकेटीहरुमा रोग देखियो । यसै महिनामा जोखिममा रहेका उमेर  समूहमा  ६.१ करोड खोप लगाएका कारण रोगको महामारी न्यून हुँदै गयो ।

अप्रिल २००९ र अप्रिल २०१० मा  क्रमशः ४.३ र ८.९ करोड जनसमुदायमा एच१एन१ (स्वाइनफ्लु) सङ्क्रमण देखियो । यसबाट क्रमशः ८,८७० र १८,३०० मानिसको मृत्यु भएको तथ्याङ्क भेटिन्छ । सो अवधिमा करिब ८ करोड मानिसले खोप लगाएका कारण रोग नियन्त्रण भएको अनुमान छ । अगस्ट १०, २०१० मा विश्व स्वास्थ्य सङ्गठनले मानिसमा एच१एन१ (स्वाइनफ्लु) को विश्व महामारी नियन्त्रण भएको घोषणा ग¥यो ।

१९९७ देखि हालसम्म  : बर्ड फ्लु

सन् १९९७ सम्म कुखुरामा लाग्ने एभिएन इन्फ्लुएन्जा भाइरसले मानिसमा कुनै असर देखाएको थिएन तर १९९७ मा हङ्कङमा १८ जना मानिस यो रोगबाट प्रभावित भएका थिए । तीमध्ये ६ जनाको ज्यान गएको थियो । सन् २००३ देखि कोरिया हुँदै दक्षिण पूर्वी एसियामा यो रोग फैलिन थालेपछि यसका आर्थिक तथा मनोसामाजिक असर बढी देखिन थाल्यो । यो रोग त्यसपछि मङ्गोलिया, रुस, मध्यपूर्व, युरोप, अफ्रिका र दक्षिण एसियासम्म फैलन पुग्यो । रोग लागेका मध्ये ६० प्रतिशतभन्दा बढीको मृत्यु भएको देखिन्छ । यो उच्च प्रतिशतको मृत्युदर नै यस रोगको सबैभन्दा खतरनाक पाटो हो । अहिलेसम्म यो रोग पन्छीबाट मानिसमा सरे पनि मानिसबाट मानिसमा सरेको यकिन प्रमाण छैन । यो रोगबाट १५ देशमा मानिस बिरामी परेका छन् भने १२ देशमा मरेका छन् । सबैभन्दा बढी इन्डोनेसियामा १५७, त्यसपछि भियतनाममा ६१ जना र इजिप्टमा ६० जना मरेका छन् ।

छिमेकी देश चीनमा २८ जना र दक्षिण एसियाली देश पाकिस्तानमा १ जनाको मृत्यु भएको तथ्याङ्क छ । त्यसबाहेक थाइल्यान्ड, अजरबैजान, कम्बोडिया, इराक, लाओस, नाइजेरिया र टर्कीमा बर्ड फ्लुका कारण धेरै मानिस मरेको पाइन्छ । नेपालमा सर्वप्रथम यो रोग सन् २००९ को जनवरी महिनामा देखापरेको थियो । इ.स. १९९७ मा हङ्कङमा फेला परेको बर्ड फ्लु प्रत्येक वर्ष यसको सङ्क्रमण नियन्त्रण गर्न गाहो हुँदै गइरहेको स्थिति थियो । सन् १९९७ ताका बर्ड फलुको चर्चा पछि मात्र विश्व समुदायको ध्यान गई यो रोगको कारक तत्त्व एच५एन१ भएको पत्ता लगाएको देखिन्छ । विगतमा इन्फ्लुएन्जा ए यसका उपप्रजाति एच र एनका फरक फरक रूपका कारण यसको केन्द्रबिन्दु अनि प्रभावित समुदायको पृष्टभूमि हेर्दा विगतमा यस विषाणुको प्रकोप झण्डै विश्व माहामारिको रूप लिएको देखिन्छ । यो स्थितिमा बीसौँ शताब्दीमा ३ वटा विश्व महामारीको त्रासदी बेहोरेको देखिन्छ ।

यो रोगका कारण जनस्वास्थ्य कति जोखिममा ?

रोगबाट सङ्क्रमित भएका मानिसलाई उपचार गरी निको पार्न अहिलेसम्म प्रभावकारी मानिएका औषधि कुनै भूगोलमा प्रभावकारी भए अर्को भूगोलमा प्रभावकारी हुन सक्ने सम्भावना न्यून पाइएको छ । आज जनस्वास्थकर्मीहरुको टाउको दुखेको यतिले मात्र हो । कुखुराको बर्डफ्लु मानिसमा लागे एभियन इन्फ्लुएन्जा भन्ने यो रोगबाट बच्ने उपाय त एउटै होला जस्तो छ । त्यो भनेको पूर्र्वसतर्कता व्यक्तिगत सतर्कता अनि सूचना प्रवाह । विज्ञको द्रुत अनुगमन र यथोचित सूचना प्रवाह अनि द्रुत कारबाही गर्दा पनि विश्वका ६० भन्दा बढी मुलुकका कुखुरा सङ्क्रमित भई लाखौँको पन्छीजन्य प्रजाति मरेका छन् । मानवीय क्षति हेर्ने हो भने आजसम्मको अभिलेखअनुसार  १७ मुलुकका ३७७ जनाको मृत्यु भइसकेकोे छ । यो सङ्ख्या यसिया प्रशान्तमा नै बढी देखिन्छ ।

चर्चा एच५एन १ को नै बढी 

दशाँै शताब्दीका तीन विश्व महामारीको पृष्ठभूमिलाई दृष्टिगत गर्ने हो भने इन्फ्लुएन्जा ए प्रजातिको उपप्रजाति एच१एन १, एच२एन२, एच३एन३, को क्रमशः संलग्न भएको अभिलेख छ । तर एच५एन१ उपप्रजातिको यो भाइरसको चर्चा पहिलो पटक सन् १९९७ मा हङकङमा प्रकाशमा आएको थियो । यसको विश्वव्यापी चर्चा भने सन् २००३ देखि मात्र हुन थालेको देखिन्छ । यस उप्रान्तका अभिलेखहरुको दृष्टान्त हेर्ने हो भने सन् २००३ मा चीनमा १ जना अनि भियतनाममा ३ जनाले यस रोगबाट मृत्युवरण गर्नुपरेको तथ्य सार्वजनिक भएपछि विश्वसमुदायको चिन्ता यस रोगतर्फ जान थालेको हो । त्यसयता यस रोगबाट पछिल्लो पटक जनवरी महिनामै चीनमा एकजना र इन्डोनेसियामा १ जनाले मृत्युवरण गरेको तथ्य सार्वजनिक भएको छ । आजसम्मका अभिलेखका विश्लेषन गर्ने हो भने हाम्रा सामु एउटा तथ्य देखा पर्दछ । त्यो भनेको मृत्यु सङ्ख्याका आधारमा इन्डोनेसिया सबैभन्दा अगाडि देखिन्छ । त्यहाँ यस रोगबाट सङ्क्रमितमध्ये १२५ जनाले मृत्युवरण गरेको अभिलेख छ । भियतनाममा विगत छ वर्षमा ५२ जनाले समाधि लिन पुगेका छन् । चीन र इजिप्टमा २३, २३,  थाइल्यान्डमा १७ कम्बोडियामा ७ अजरबैजानमा ६ टर्कीमा ४ इराक लाओसमा २, २ तथा पाकिस्तानमा र नायिजेरियामा १, १ जना र नेदरल्यान्डमा २००३ १ जना पशुचिकित्सकको मृत्यु भएको थियो । दशौँ शताब्दीको सुरुवाती वर्षमा चर्चामा आएको यो रोग आजको स्थितिसम्मको एउटा सुखद पक्ष यसलाई मान्न सकिन्छ कि पन्क्षीमा लागेपछि मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा सरेको हालसम्म पुष्टि भएको छैन । तर यसो भन्दैमा ढुक्क हुने स्थिति भने छैन ।

यस कुरालाई गम्भीर रूपमा लिई विश्व स्वास्थ्य सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन, यूएनओ, विश्व खाद्य तथा कृषि सङ्गठन जस्ता अन्तर्राष्ट्रिय निकायहरु सम्भावित मानवीय क्षति कम गराउन आफ्नो ज्ञान र अनुभव सम्भावित जोखिममा पर्न सकने राष्ट्रहरुमा साट्न र सहयोग गर्न हातेमालो गर्न संलग्न छन् ।

सन् २००६ को पूर्वार्धदेखि युरोपेली मुलुकमा समेत जरो गाड्न पुगेको बर्ड फ्लु भाइरस इटाली ग्रिस, जर्मनी, अस्ट्रिया, स्लोभिनिया, स्लोभाकिया, हङ्गेरी र फ्रान्सका पन्छीजन्य पदार्थमा फेला पर्दा गरिएका निरोधत्मक प्रयासका कारण कतै मानिसमा सर्न रोकिएको हो कि भन्ने सङ्केत मिल्छ ।

हाम्रा आफ्नो छिमेकमा विगत केही वर्षदेखि साइत जुराएर देखा पर्दै आएका यस भाइरसको सङ्क्रमण साउनको पहिलो साता अकस्मात भक्तपुरमा देखा परेको थियो । यसले हामीमा केही सन्त्रास भयो । यसपछि केही प्रयास भएका छन् र तिनले सकारात्मक सङ्केत देखाएका छन् । तर गर्नुपर्ने काम भने निकै नै छन् ।

पन्छी तथा पन्छीजनित सामग्रीका सम्पर्कमा निरन्तर रहनुपर्ने मानिसमा यो रोगबाट बढी सङ्क्रमित हुने जोखिम छ । यस उसले कुखुरा पालक किसानले बढी जैविक सुरक्षाका उपाय अपनाउनु उचित हुन्छ । यस बारे बेलैमा सूचना प्रवाह, पन्छीको शङ्कास्पद मृत्यु भएमा द्रुत निदानतिर लाग्नुपर्छ । कुनै ठाउँमा यस रोगको सङ्क्रमण पुष्टि भएमा रोग नियन्त्रणको दु्रत उपाय अपनाउनु पर्छ । त्यस बेला सञ्चार जगत, नागरिक समाज, उपभोक्ता, नागरिक प्रशासन, राजनीतिक दलले निर्वाह गर्नुपर्ने भूमिकाबारे सतर्कता साथ सूचना प्रवाह गर्नुपर्छ ।  बर्ड फ्लुको सन्त्रासबाट बचिन्छ । भनिन्छ बर्डफ्लुबाट सतर्क त हुनुस तर नआत्तिनुस् । हालसम्म ६० मुलुकमा फैलिएको यस रोगका कारण ३७७ जना मानिसले मृत्युवरण गरेका छन् । इ.स. २०१३ मा चीनमा यस भाइरसले आफ्नो अनुवांशिक संरचना परिवर्तन गरेका कारण हालसम्म ४५ जनाले मृत्युवरण गरेका छन् । यदि विषाणुले स्वरूप परिवर्तन गरी मानिसबाट मानिसमा सर्न सक्यो र यही उच्च प्रतिशतमा मृत्युदर कायम रह्यो भने कति मानिसको मृत्यु होला भन्ने चिन्ताले नै यो रोगलाई जटिल रूपमा हेरिएको हो । जनस्वास्थ्यकर्मीको चिन्ता अर्र्को विश्व महामारीबाट कसरी बचाउने हो भन्ने मात्र हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.