किरात समुदायले प्रयोग गर्दै आएको समाधिस्थलमा डोजर चलेपछि...
झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टा स्थित समाधिस्थल भत्काएको विषयमा विवाद भएको छ । किरात समुदायले प्रयोग गर्दै आएको सो सामूहिक समाधिस्थल डोजर लगाएर भत्काइएपछि विवाद उब्जिएको हो । लिम्बु, राईलगायत किरात समुदायले पचास वर्षदेखि प्रचलनमा ल्याएको सो समाधिस्थल बुधबार नगरपालिकाले डोजर प्रयोग गरेर भत्काएकोमा उनीहरुले विरोध जनाएका हुन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ मेचीनगर समन्वय परिषद्का अध्यक्ष ओमप्रकाश खापुङले यो घटनालाई किरात सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार भएको बताउँदै बिनाशर्त पुनःस्थापनाको माग गरे । मेची पुलको दक्षिणपट्टी पाँच कठ्ठा जग्गामा रहेको सो समाधिस्थलमा २०० भन्दा बढी चिहान छन् । पितृका नाममा राखिएका शिलास्तम्भहरु भताभुङ्ग बनाइएकोमा स्थानीय किरात समुदाय भावविह्वल बनेको उनले बताए । धार्मिक संस्कार र पितृसँगको भावनात्मक नाता गाँसिएको पवित्र समाधिस्थल भत्काइएपछि आक्रोशित बनेका महिला र वृद्धवृद्धासहित किरात समुदायको ठूलो सङ्ख्या बिहीबार विरोध पत्र बुझाउन नगरपालिका पुगेका थिए ।
नगरप्रमुख विमल आचार्यलाई विरोधपत्र बुझाउँदै किरात राई यायोक्खा झापाका सचिव केवलराम राईले वर्षौदेखि किरात समुदायले बनाएको समाधिस्थल तथा उनीहरुको आस्थाको केन्द्र नगरपालिकाले भत्काएकाले तत्काल त्यसको पुनःनिर्माण गर्नुपर्ने बताए । धार्मिक आस्थामाथि प्रहार तथा जातीय विभेद हुँदा स्थानीय सरकारले न्याय नदिएमा त्यसकाविरुद्ध चरणबद्ध आन्दोलन र कानूनी उपचारमा जाने उनले बताए ।
सो अवसरमा नगरप्रमुख आचार्यले नगरपालिकाले समाधिस्थल नभत्काएको बताउँदै यस विषयमा आवश्यक अध्ययन अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउने र समस्याको समाधान खोजिने प्रतिबद्धता व्यक्त गरे । ‘‘सशस्त्र प्रहरीको बीओपी स्थापनाका लागि सरसफाई गर्न डोजर पठाइएको थियो, हामीले समाधिस्थल भत्काउनु भनेका थिएनौं’’, उनले भने, ‘‘सशस्त्र प्रहरीले नै भत्काएका हुन्, छलफल गर्दैछौं ।’’ समाधिस्थल भत्किएको घटनाले आफू दुःखी भएको बताउँदै उनले अब त्यही स्थानमा पितृको स्मृतिमा पितृ स्तम्भ र पार्क निर्माण गर्न सकिने विकल्पका बारेमा छलफल भइरहेको उल्लेख गरे ।
सशस्त्र प्रहरी बल २ नं। गण झापाका गणपति रमेशकुमार पाण्डेले किरात समुदायको पवित्र एवम् धार्मिक भावनासँग जोडिएको समाधिस्थल सशस्त्र प्रहरीले नभत्काएको दाबी गरे । ‘‘काँकडभिट्टामा बीओपी भाडामा बसिरहेका स्थानमा भ्यूटावर निर्माण हुने भएपछि दीगो व्यवस्थापनका लागि नगरपालिकासँग जग्गा मागेका थियौं’’, सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले भने, ‘‘बीओपीका लागि मलामी घर प्रयोग गर्न नगरपालिकाले अनुमति दिएको थियो । मलामी घर वरपर सरसफाई गर्न नगरपालिका आफैले पठाएको र खटाएको डोजरले समाधिस्थल भत्काएको रहेछ । यसमा हाम्रो कुनै दोष छैन ।’’
खोला खोल्सा र डाँडा पाखामा पाल टाँगेर बस्दै आएको सशस्त्र प्रहरीले कहिले पनि समुदायको धार्मिक आस्थामाथि आघात पुर्याउने काम नगर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा