शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ का फ्रन्टलाइनरलाई आफ्नै घरमा कोरोना फैलने त्रास

अस्पतालहरुले क्वारेन्टिनको व्यवस्था नगर्दा समस्या
शुक्रबार, १७ वैशाख २०७८, १० : १८
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । कोभिड आईसीयू वार्डमा कार्यरत निर्मला शर्मा (नाम परिवर्तन)लाई हिजोआज आफ्नो परिवारमा कोरोना संक्रमण सार्ने मुल स्रोत आफै बन्ने त होइन भन्ने चिन्ताले सताउँछ । लामो समयदेखि वीर अस्पतलमा कोभिड–१९ संक्रमित बिरामीको हेरचाहमा संलग्न शर्मा पनौतीस्थित घरबाटै अस्पताल आउजाउ गर्छिन् ।

अस्पतालमा कोभिडका बिरामी बढ्न थालेपछि आफू धेरै त्रसित भएको उनले सुनाइन् । त्रसित हुनुको मुल कारण हो– अस्पतालबाट घरमा सिधै जाने–आउने गर्नुपर्ने बाध्यता ।

जतिसुकै सावधानी अपनाए पनि ६ वर्षीय छोरा काखमा लुटुपुटु गर्न आउने भएकाले उनलाई कतै आफ्नै कारण परिवारका सदस्य असुरक्षित हुने त होइन भन्ने त्रास बढेको छ ।

अस्पतालले कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई होटेल क्वारेन्टिन वा कुनै भवनमा बस्ने व्यवस्था नमिलाइदिँदा जोखिम मोलेर घर अनि अस्पताल गर्न बाध्य भएको उनी बताउँछिन् । कोभिड वार्डमा कार्यरत नर्स तथा अन्य स्वास्थ्यकर्मीमध्ये धेरैजसो बहालमा बस्ने भएकाले अस्पताल प्रशासनलाई आफ्नो समस्याबारे जानकारी गराएको उनले बताइन् । अघिल्लो वर्ष धेरैजसो स्वास्थ्यकर्मीलाई गाउँ, टोल र समाजमै पनि हेयको दृष्टिले हेरिएका कारण फेरि त्यस्तो परिस्थिति सामना गर्नुपर्ने त होइन भन्ने चिन्ता उनीहरुमा थपिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा लामो समयदेखि आईसीयूमा २४ घण्टासम्म काम गर्ने ५ जना स्वास्थ्यकर्मीलाई होटेल क्वारेन्टिनको व्यवस्था गरेको अस्पतालका प्रमुख डा.सागर राजभण्डारी बताउँछन् ।

आईसीयू वार्डमा कार्यरत नर्स मनिषा थापा (नाम परिवर्तन) ले कोरोनाभाइरसको पहिलो लहरदेखि निरन्तर कोभिडका बिरामीको हेरचाह गर्दै आएकी छन् । दिनरात जोखिम मोलेर कोभिड वार्डमा कार्यरत रहे पनि अस्पतालबाट कुनै खालको प्रोत्साहन तथा प्रेरणा नपाएको उनको गुनासो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि जोखिम भत्ताको व्यवस्था गरे पनि वीर अस्पतालले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई ९ हजार रुपैयाँमात्रै दिएको उनले सुनाइन् । पछिल्लो समय अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप निकै बढेको भन्दै उनले यस्तो अवस्थामा अस्पतालबाट निवासमा आउजाउ गर्न समस्या भएको बताइन् ।

उनी कोभिड वार्डमा कार्यरत रहेको जानकारी पाएका परिवारका सदस्यसँगै समुदायमा चिनेजानेकाहरु आफूसँग त्रसित हुने गरेको उनको भनाइ छ । अस्पतालको कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई बस्ने व्यवस्था मिलाइदिएको खण्डमा बिरामीको संख्या बढे पनि राम्रो सेवा दिन सकिने उनको भनाइ छ ।

‘कोभिडका बिरामीको सेवा गर्न हामी डराएका होइनौं,’ उनले भनिन्, ‘हामीबाट परिवार, बालबच्चामा जोखिम बढेको महसुस गरेका छौं, हामीलाई छुट्टै बस्ने व्यवस्था अस्पतालले मिलाइदिए घर परिवारमा जोखिम बढ्दैनथ्यो ।’

कोरोना संक्रमणको पहिलो लहरमा वीर अस्पतालमा धेरै स्वास्थ्यकर्मी संक्रमित भए । अस्पतालले स्वास्थ्य उपकरणको सही व्यवस्थापन गर्न नसक्दा अस्पतालबाटै नर्स शर्मामा संक्रमण सरेको थियो ।

यसअघि पहिलो लहरका क्रममा वीर अस्पतालले कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई १५ दिन ड्युटी र १५ दिन क्वारेन्टिनको व्यवस्था गरेको थियो ।

त्रिवि शिक्षण अस्पताल टिचिङका कोभिड संयोजक फोक्सो रोग विशेषज्ञ डा.सन्तकुमार दासका अनुसार यसअघि कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई क्वारेन्टिनको व्यवस्था गरे पनि अहिले त्यस्तो व्यवस्था छैन । उनले भने, ‘अहिले कोभिड वार्डमा काम गर्ने स्वास्थ्यकर्मी घरबाटै अस्पतालमा ड्युटीका लागि जाने आउने गर्छन् ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा लामो समयदेखि आईसीयूमा २४ घण्टासम्म काम गर्ने ५ जना स्वास्थ्यकर्मीलाई होटेल क्वारेन्टिनको व्यवस्था गरेको अस्पतालका प्रमुख डा.सागर राजभण्डारी बताउँछन् ।

टेकु अस्पतालमा कोभिड बिरामीलाई मात्रै भर्ना गरिन्छ । यसअघि अस्पतालमा ड्युटी गरेर घरमा स्वास्थ्य सुरक्षा अपनाएर बस्न नमिल्ने स्वास्थ्यकर्मीलाई होटल क्वारेन्टिन तथा भवनको व्यवस्थापन गरेको उनले सुनाए ।

‘अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भन्ने थाहा पाएपछि केही घरधनीले अपमानजनक व्यवहार गरे,’ उनले भने, ‘तुलनात्मक रुपमा अहिले कोरोनाको बारेमा जनचेतना बिस्तार भएको छ, अब त्यस्तो खालको व्यवहार स्वास्थ्यकर्मीलाई हुँदैन होला भन्ने आशा गरौँ ।’

अप्ठ्यारोमा परेका स्वास्थ्यकर्मीलाई होटेल क्वारेन्टिन तथा बस्ने भवनको व्यवस्था मिलाउन बजेटको अभाव हुने उनी सुनाउँछन् ।

यता त्रिवि शिक्षण अस्पताल टिचिङका कोभिड संयोजक फोक्सो रोग विशेषज्ञ डा.सन्तकुमार दासका अनुसार यसअघि कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई क्वारेन्टिनको व्यवस्था गरे पनि अहिले त्यस्तो व्यवस्था छैन । उनले भने, ‘अहिले कोभिड वार्डमा काम गर्ने स्वास्थ्यकर्मी घरबाटै अस्पतालमा ड्युटीका लागि जाने आउने गर्छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आपतकालीन तथा विपद व्यवस्थापन इकाईले मंगलबार सूचना जारी गर्दै कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत पालो निर्धारण गरि सेवा दिने व्यवस्था गर्न निर्देशन दिइसकेको छ । कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्ने, ड्युटीबाट फर्केपछि घरमा बस्न असहज भएकाहरु भवन तथा क्वारेन्टिन व्यवस्था गर्ने जिम्मा सम्बन्धित अस्पतालको भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् ।

फ्रन्टलाइनरलाई होटल क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ

फ्रन्टलाइनर भनेकै अग्रपंक्तिमा खटिने भएकाले उनीहरुबाट संक्रमण सर्न सक्ने जोखिम रहेको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्की बताउँछन् । ‘डाक्टर, नर्स, एम्बुलेन्स चालक, सहयोगी लगायत अन्य धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमितसँग प्रत्यक्ष जोडिने भएकाले उनीहरुमा उच्च जोखिम हुन्छ,’ उनले भने, ‘अस्पतालको कोभिड वार्डमा कार्यरत सबै स्वास्थ्यकर्मी ड्युटी गरेर सुरक्षित तरिकाले बासस्थानसम्म पुग्न र बस्न नसक्नेलाई क्वारेन्टिन तथा बस्ने व्यवस्था सम्बन्धित अस्पतालले मिलाउनुपर्छ ।’

विश्वभर फैलिएको कोरोनाभाइरस कोभिड—१९ संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई भारत लगायत विभिन्न राष्ट्रले १० दिन ड्युटी र १० दिन घरमा क्वारेन्टिन बस्ने व्यवस्था गरेको अध्यक्ष डा. लोचन कार्कीले सुनाए ।

कोभिड उपचार, पहिचान, नियन्त्रणमा संलग्न स्वास्थ्यकर्मीलाई आवश्यकताको आधारमा क्वारेन्टिन तथा बस्ने व्यवस्था सम्बन्धित निकायले मिलाउन अति आवश्यक भएको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप