मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपलाई डब्ल्यूएचओको चेतावनीः प्रतिबन्ध खुकुलो पारे भारतमा जस्तै आउनसक्छ कोरोनाको आँधी

शुक्रबार, १७ वैशाख २०७८, १० : १२
शुक्रबार, १७ वैशाख २०७८

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपेली देशलाई कोभिड–१९ का कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्दा भारतजस्तै यहाँ पनि कोरोना पोजेटिभ केसको आँधी आउन सक्ने चेतावनी दिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार युरोपका लागि विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लूगले बिहिबार भने, ‘जब प्रतिबन्ध खुकुलो पारियो तब मानिसहरु भारी मात्रामा एकै ठाउँ जम्मा हुनथाले, जब भाइरसको अत्यधिक संक्रामक भेरियन्ट देखिन थाल्यो र भ्याक्सिनेसनको दर निकै कम भए, यस्तो स्थितिमा कुनै पनि देशमा कोरोनाको आँधी आउन सक्छ ।’

उनले भने, ‘भारतजस्तो स्थिति कुनै पनि बेला निम्तिन सक्छ भन्ने कुरा बुझ्न अत्यावश्यक छ ।’

हालैका दिनमा कोरोना संक्रमितको संख्यामा लगातार वृृद्धि भइरहेको छ । जानकारका अनुसार विभिन्न कारणले ठूलो संख्यामा मानिसहरुको एकै स्थानमा भीडभाड हुनु यसको मुख्य कारण हो ।

जानकारका अनुसार भारतमा कोरोना महामारीको दोस्रो घातक लहरका लागि कोरोना भाइरसको भारतीय भेरियन्ट B.1.617 जिम्मेवार छ ।  

हेन्स क्लूगले भने, ‘युरोपेली देशले यो कुरालाई ध्यानमा राख्नुपर्छ कि महामारीको दिशा परिवर्तन गर्नमा निजी र सामूहिक स्वास्थ्य र सामाजिक दुरीको उपाय प्रमुख कारक हुन सक्छन् । दुई महिनामा पहिलो पटक अघिल्लो हप्ता युरोपमा कोरोना संक्रमणको मामिला ‘निकै कम’ भएको छ । तर थुप्रै इलाकामा संक्रमण दर अहिले पनि अत्यधिक छ ।’

उनका अनुसार मानिसहरुलाई भ्याक्सिन दिने काममा पनि युरोपको प्रदर्शन निकै राम्रो छ । यहाँ करिब सात प्रतिशत मानिसहरुलाई कोरोनाको भ्याक्सिन दिइसकिएको छ जबकी १६ प्रतिशत मानिसहरुलाई भ्याक्सिनको पहिलो डोज दिइसकिएको छ ।

हालै युरोपका केही देशले कोभिड–१९ का कारण लगाइएको प्रतिबन्धमा चरणबद्ध तरिकाले खुकुलो पार्न सुरु गर्ने बताएका थिए ।

फ्रान्सले १९ मेदेखि लकडाउनमा राहत दिन सुरु गर्ने र जून ९ देखि उनीहरुले हेल्थ पाससहित आउने विदेशी पर्यटकलाई अनुमति दिने बताएको थियो । यहाँ १९ मे देखि रेष्टुरेन्ट, बार, थिएटर खोल्ने अनुमति पनि हुनेछ ।

जर्मनीका अनुसार जो मानिसहरुले भ्याक्सिनको दुबै डोज पाएका छन्, उनीहरुले कोरोना परीक्षणको सर्टिफिकेट बिना नै पसलमा जाने अनुमति हुनेछ । यसबारे जर्मनीले चाँडै नै दिशानिर्देश जारी गर्नसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप