शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् छल्दै सरकार : अब बजेट अधिवेशन कहिले ?

शुक्रबार, १७ वैशाख २०७८, २१ : ५२
शुक्रबार, १७ वैशाख २०७८

गत वैशाख ६ गते अचानक प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउने कुनै सुरसार गरेको छैन । आगामी जेठ १५ मा नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक बाध्यता छ । त्यसअघि नै बजेट अधिवेशन बोलाइसक्नु पर्छ ।

बजेट ल्याउनुपूर्व प्रतिनिधि सभामा बजेटमा समेटिने नीति तथा कार्यक्रममाथि छलफल हुने गर्छ । वैशाख महिनामा हुने गरेको यस्तो छलफल यो वर्ष भने हुने नहुनेमा अन्योल देखिएको छ । प्रतिनिधि सभालाई ‘दुस्मनी’ व्यवहार गरेको सरकारले यो वर्षको वर्षे अधिवेशन कहिले बोलाउँछ, टुङ्गो छैन ।

अघिल्ला वर्षहरुमा वैशाखको दोस्रो सातापछि सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेर त्यसमाथि छलफल हुने गर्थ्यो । बजेट प्रस्तुत गर्नुभन्दा झन्डै १ महिना अगाडिको बीचमा नीति तथा कार्यक्रममाथि छलफल हुने गरेको थियो । यसपटक प्रतिनिधि सभाको वर्षे अधिवेशन कहिले बोलाउनेबारे सरकारले अन्य राजनीतिक दलसँग छलफल पनि अघि बढाएको छैन ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसद बैठकमा सांसदहरुको सुझाव लिएर सोहीअनुसारको बजेट ल्याउने प्रचलन  छ । वैशाखको अन्तिम सातासम्म संसद् बैठक बोलाउने हो भनेपनि प्रि–बजेटमाथि छलफलका लागि पुग्न सक्छ ।

गत वर्ष पुस ५ गते सरकारले भङ्ग गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनर्बहाली गरेको थियो । फागुन २३ गते बोलाइएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन प्रतिपक्षसहित अन्य दलसँग छलफल नगरी वैशाख ६ गते सरकारले अन्त्य गरेको थियो । यसअघि अघिल्लो वर्षको वर्षे अधिवेशन पनि बजेट पास हुनेबित्तिकै हठात रुपमा सरकारले अन्त्य गरेको थियो ।

सरकारले संसद्लाई प्राथमिकता दिएको छैन : बालकृष्ण खाण

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदको वर्षे अधिवेशन आह्वान गर्नुपर्ने बेला भएको बताएको छ । यद्यपि संसद् बैठक बोलाउन माग गर्नेबारे पार्टीमा पनि कुनै छलफल नभएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए । उनले वर्षे अधिवेशन बोलाउने बेला भए पनि अहिलेको सरकारले संसद्लाई प्राथमिकता नदिएको आरोप लगाए ।

यो निरङ्कुश सामन्ती सरकार हो : देव गुरुङ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकसमेत रहेका देव गुरुङ तानाशाहीहरू संसददेखि डराउने र संसदबाट भाग्ने भएका कारण अहिलेको संसद् प्रभावहीन हुन पुगेको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै गुरुङले भने, ‘अहिले बजेट अधिवेशन बोलाउने बेला त हुन लाग्यो । तर, संसद् अधिवेशन बोलाउने, बन्द गर्नेबारेमा सरकारमा भएको दलसँग त छलफल नगर्ने, मन्त्रीहरुसँग पनि छलफल नगर्ने यो सरकारले विपक्षमा रहेका दलसँग छलफल गर्ने त कुरै भएन ।’

अहिलेको सरकार सामन्तवादी सरकारको प्रतीक भएको बताउँदै गुरुङले भने, ‘सामन्ती प्रवृति भएको यस्तो सरकारले अरूसँग सल्लाह सुझाव लिने काम गर्दैन ।’

यो सरकारले संसदलाई छकाउने, झुक्याउने र राम्रोसँग चल्न नदिने गर्नु निरङ्कुश प्रवृत्तिको उपज भएको प्रमुख सचेतक गुरुङले बताए ।

संसद् सचिवालय तयारी अवस्थामा

संसदको वर्षे अधिवेशनका लागि सङ्घीय संसद् सचिवालय तयारी अवस्थामा रहेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै व्यक्तिगत दूरी कायम गर्नेदेखि स्वास्थ्य मापदण्ड पालनासहित बैठक चलाउन तयारी हालतमा रहेको सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘हामीले गर्ने भौतिक तयारी सबैको व्यवस्था गरिसकेका छौँ । मुख्य कुरा नेपाल सरकारले संसद बैठक कहिले बोलाउने हो, समय निर्धारण गर्नुपर्ने हुन्छ । अहिले हामी त्यसैको पर्खाइमा छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप