बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

कोरोना रोकथाम तथा नियन्त्रणको पूर्वतयारी फितलो

नाकामा न होल्डिङ सेन्टर, न आइसोलेसन
शुक्रबार, १७ वैशाख २०७८, ०७ : ५७
शुक्रबार, १७ वैशाख २०७८

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका दृष्टिले प्रदेश १ मा पूर्वतयारी निकै फितलो देखिएको छ ।

भारतमा गत महिनादेखि नै कोरोना संक्रमण उत्कर्षमा पुगेको भए पनि सीमा व्यवस्थित गर्ने, नाकामा आवत–जावतमा कडाइ गर्ने तथा होल्डिङ सेन्टर बनाएर चेकजाँच गरेरमात्र पठाउने काममा अहिलेसम्म प्रदेश सरकार उदासिन रहँदै आएको हो । प्रदेश सरकारले बल्ल सीमावर्ती क्षेत्रमा होल्डिङ सेन्टर बनाउने सुरसार गर्दैछ ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको लामो समय भइसकेको छ । विभिन्न भारतीय सहरमा निषेधाज्ञा तथा रात्रिकालीन कर्फ्यु लगाइएको छ । जसका कारण रोजगारीका लागि भारतमा पुगेका नेपालीहरु धमाधम घर फर्कन थालेका छन् ।

झण्डै तीन सातादेखि सीमा नाकामा भारतबाट घर फर्कने नेपालीको लस्कर देखिए पनि प्रदेश १ सरकारले होल्डिङ सेन्टर बनाउने, भारतबाट आउनेहरुको स्वास्थ्य परीक्षण गर्ने दिशामा पटक्कै पहल गरेको थिएन । संक्रमण रोकथाम गर्ने जिम्मेवारी पाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय आफै अलमलिएको छ ।

जनस्वास्थ्य विज्ञ नवराज सुब्बाले महामारी तीव्र रुपमा फैलिएकाले पूर्व तयारीमा जुट्नुपर्ने भए पनि अत्यावश्यक सामग्री र जनशक्तिको व्यवस्थापनमा निकै ढिला भइसकेको बताए ।

‘कोरोना संक्रमण बढिरहेको छ, त्यसको रोकथाम र नियन्त्रणको प्रयासमा सरकारले गरेको तयारी निकै सुस्त देखिन्छ,’ उनले भने, ‘पूर्वतयारीमा सरकारले ढिलाइ गर्दा भोलिको दिनमा संक्रमणको अवस्था भयावह हुने खतरा बढाएको छ ।’

प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्द कार्की भने संक्रमण रोकथामका लागि सरकारले आवश्यक तयारी गरिरहेको दावी गर्छन् । निजी अस्पतालहरुलाई तुरुन्त बेड तयार गर्न निर्देशन दिनुका साथै अत्यावश्यक सामग्री र जनशक्ति व्यवस्थापनमा जुटेको उनको भनाइ छ ।

भारतबाट आएकाहरुको स्वास्थ्य जाँचका लागि सरकारले होल्डिङ सेन्टर बनाउने तयारी गरिरहेको उनले बताए । सोमबार बसेको प्रदेशस्तरीय सिसिएमसी बैठकले नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको र आवश्यक काम भइरहेको उनको दावी छ ।

उनका अनुसार भारतसँग जोडिएका सुनसरी, मोरङ, झापा र इलामका नाकामा होल्डिङ सेन्टर बनाउने तयारी भइरहेको छ । सरकारले निर्माण गर्ने होल्डिङ सेन्टरमा न्यूनतम एक सय जना अटाउने क्षमता रहेको उनले बताए ।

भारतबाट आएकाहरुलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य जाँचपछि मात्र गन्तव्यमा पठाइने उनको भनाइ छ ।

त्यसैगरी अक्सिजनको आपूर्ति सहज बनाउने, निजी अस्पतालमा संक्रमितको उपचार केन्द्र सञ्चालन गर्ने, छुट्टै आइसोलेसन सञ्चालन गर्ने र सचेतना अभियान सञ्चालन गर्ने काम पनि प्रदेश सरकारबाट भइरहेको उनले बताए ।

काँग्रेसद्वारा आलोचना

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रदेश सरकारले महामारी रोकथाम तथा नियन्त्रणका लागि पर्याप्त काम नगरेको भन्दै सरकारको आलोचना गरेको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारले माहामारी रोकथाम र नियन्त्रणका लागि यतिका समयसम्म माखासमेत नमारेको भन्दै माहामारी नियन्त्रण तथा रोकथाममा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाए ।

कार्कीले कोरोना घातक रुपमा फैलिएको बेला सरोकारवाला मन्त्री मदिरा कार्यदल बनाउन लागेको भन्दै काँग्रेसले सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ । ‘महामारी अत्यासलाग्दो रुपमा बढिरहेको छ,’ कार्कीले भने, ‘मानिस आत्तिएका छन्, तर सरकार कहाँ छ ?’

उनले महामारी रोकथाम तथा नियन्त्रणमा सरकारलाई साथ दिन आफूहरु तयार रहे पनि विपक्षी दलसँग सरकारले छलफल नै नगरेको आरोप लगाए । अस्पतालमा डाक्टर र नर्सको पर्याप्त संख्या पु¥याउनुको साटो सामाजिक विकास मन्त्री उषाकला राईले सडकमा मास्क बाँड्दै हिँडिरहेको भन्दै उनले आश्चर्य प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप