शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट दुई हजार बढी संक्रमित, २२ जनाको मृत्यु

बिहीबार, १६ वैशाख २०७८, २३ : ३९
बिहीबार, १६ वैशाख २०७८

लन्डन । बेलायतमा पछिल्ला केहि दिनयता कोरोना संक्रमण र मृत्यु दर निरन्तर घट्दै गएको छ । गएको एक सातामा संक्रमण दर करिब ९ प्रतिशतले ह्रास आएको अधिकारीहरुले बताएका छन् । यो संख्या गत वर्ष सेप्टेम्बर पछिकै कम हो ।  बेलायतमा बितेको २४ घन्टामा दुई हजार २ सय ४५ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या ४४ लाख १४ हजार २४२ पुगेको छ । एक सातामा १५ हजार ८८११ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो हप्ताको तुलनामा संक्रमित संख्यामा ८.६ प्रतिशतले ह्रास आएको तथ्यांकले देखाएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक सातामा १५७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ५०२ पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारत पछि बेलायत पाँचौं स्थानमा पर्दछ ।

बेलायतमा सक्रिय संक्रमितको संख्या ७६ हजार ३९७ छ भने ४२ लाख १० हजार ३४३ संक्रमित निको भइसकेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ । अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमि आएको छ । बिहीबार सार्वजनिक तथ्याँकअनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या २०८ रहेको छ ।

त्यस्तै, पछिल्लो तथ्याँकअनुसार १३४ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या एक हजार ५५३ मा झरेको छ ।

४ करोड ८१ लाख बढी खोप वितरण, थप ६ करोड सुरक्षित

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ८१ लाख ३८ हजार ९ डोज वितरण भएको छ । तीन करोड ४० लाख ९४ हजार ४८ जनाले खोपको पहिलो र एक करोड ४० लाख ४३ हजार ९६१ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

बेलायत सरकारले ‘फाइजर-बायोएनटेक’ को थप ६० मिलियन (६ करोड) डोज खोप सुरक्षित गरेको छ । ‘बुस्टर्’  अर्थात् खोपको दोस्रो डोजको रुपमा वितरण गर्नका लागि थप  डोज अर्डर गरिएको हो । बेलायतले फाइजरको ४० मिलियन डोज खोप यसअघि नै सुरक्षित गरिसकेको छ । यससँगै बेलायत सरकारले  फाइजरको मात्र एक सय मिलियन डोज खोप अर्डर गरिसकेको छ ।

बेलायत सरकारले  हालसम्म फाइजर-बायोएनटेक, अक्सफोर्ड एस्ट्राजेनेका र भाल्नेभाको एक एक सय मिलियन, ग्लाक्सोस्मिथक्लाइनको र  नोभाभ्याक्सको ६० मिलियन, क्यूरभयाकको ५० मिलियन, जानसेनको ३० मिलियन र मोडर्नाको १७ मिलियन डोज खोप अर्डर गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप