बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

नौ उत्कृष्ट उद्यमी पुरस्कृत

बिहीबार, १६ वैशाख २०७८, १८ : ०८
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरी रोजगारी सिर्जना गर्ने उद्यमीलाई पुरस्कृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज भर्चुअल कार्यक्रम गरी नौ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको हो ।

रु एक लाख राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट रुपन्देहीका शिव पराजुली पुरस्कृत भएका हुन् । बाह्र वर्ष कतार बसेर स्वदेश फर्किएका उनले रुपन्देहीमा सूर्या इन्डष्ट्रिज स्थापना गरी ६० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनले पित्तलको धारा उत्पादन गर्दै आएका छन्। रु ५० हजार राशिको उद्यमी राष्ट्रिय पुरस्कारबाट सोही जिल्लाका भुदुरप्रसाद थारु, मोरङका सनोजकुमार माझी, कास्कीका भोजराज पुवाली, सुनसरीका धनबहादुर राई र शम्भुराज राई, नवलपरासीका गोविन्दनन्द महतो, चुरामणि चौधरी र ज्ञानेन्द्र सम्बाहाम्फे पुरस्कृत भएका छन् ।

थारूले फर्निचर उद्योग सञ्चालन गरी आठ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । यस्तै माझीले कृषि फर्म सञ्चालन गरी ६ जनालाई रोजगारी दिएका छन् । उनले फर्ममा रु ४० लाख बढी लगानी गरेका छन् । पुवालीले पशुपालन, तरकारी र मौरीपालन, धनबहादुर र शम्भुराजले संयुक्तरुपमा पशुपालन तथा तरकारी खेती, महतोले सिमेन्ट सामग्री उद्योग, चौधरीले माछापालन व्यवसाय र सम्बाहाम्फेले कृषि व्यवसाय गरेका छन् । पुरस्कार रकम सम्बन्धितको बैंक खातामा हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जना र स्वरोजगारका वातावरण बनाउन सरकार लागिपरेको बताए । बेरोजगारी समस्या हल गर्न विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम सञ्चालन गरी रोजगारी सिर्जना गरेको भन्दै पुरस्कृत प्रति आभार व्यक्त गरे ।

मन्त्रालयका सहसचिव सुमन घिमिरेले वैदेशिक रोजगारीबाट फर्केर नेपालमै पेशा व्यवसाय गर्नेलाई प्रोत्साहित गर्न पुरस्कृत गरिएको बताए । वैदेशिक रोजगारीका क्रममा सिकेका सीप र आर्जित पूँजीको प्रयोग गरी स्वदेशमै विभिन्न उद्यम गरेकामध्ये नौ जनालाई पुरस्कृत गरिएको उनको भनाइ छ ।
उत्कृष्ट उद्यमी राष्ट्रिय उद्यमी पुरस्कारबाट पुरस्कृत पराजुलीले आफूले दक्ष कालीगढको समस्या भोग्दै आएको र सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरे । पुरस्कृत व्यक्तित्व पुवालीले कृषि तथा पशुफर्मको सञ्चालक, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचबाट आफू स्वदेश फर्किएको बताए । नेपालको समृद्धि कृषि क्षेत्रबाट मात्र सम्भव हुने भन्दै उनले कृषिमा आत्मनिर्भर हुन सरकारले सहयोग गर्नुपर्ने बताए । अर्का पुरस्कृत व्यक्तित्व ज्ञानेन्द्र सम्बाहाम्फेले दैनिक उपभोग्य कृषिजन्य सामग्रीमा परनिर्भर हुनुपरेको यथार्थलाई परिवर्तन गर्न आफू कृषिमा लागिपरेको बताए ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम उनीहरुलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ । पुरस्कारका लागि ८५ वटा आवेदन प्राप्त भएका थिए । कार्यविधिमा भएको विभिन्न सात वटा छनोटका आधारमा पुरस्कृत उद्यमीको छनोट गरिएको मन्त्रालयका सहप्रवक्ता देवेन्द्र कार्कीले जानकारी दिए ।

रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरेको अवस्था सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रयोग तथा प्रदूषण व्यवस्थापन, उद्योग सञ्चालन गरेको भौगोलिक क्षेत्रकान आधारमा उनीहरुलाई छनौट गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप