बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको भवितव्य : दीपक मनाङ्गेलाई मन्त्री बनाए पनि बहुमत नपुग्ने

बिहीबार, १६ वैशाख २०७८, १७ : ४०
बिहीबार, १६ वैशाख २०७८

नेकपा एमालेले गण्डकी प्रदेशमा सरकार टिकाउनकै लागि विवादित पृष्ठभूमिका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई विहीबार युवा तथा खेलकूद मन्त्री बनाएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई मन्त्री बनाइएको हो । सत्ता जोगाउनका लागि मनाङ्गेलाई मन्त्री बनाइएकोमा सामाजिक सञ्जालमा एमालेप्रति तीव्र व्यंग्य एवं आलोचना शुरु भएको छ ।

​गण्डकी प्रदेशसभाको अंकगणितलाई हेर्दा मनाङ्गेलाई मन्त्री बनाए पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध परेको अविश्वासको प्रस्ताव असफल पार्नका लागि सत्तारुढ एमालेलाई आवश्यक संख्या पुग्दैन ।

किनभने, ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, माओवादीका ११ जनमोर्चाका ३ र जसपाका २ गरी ३१ सीट पुग्छ । चारवटै दलले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताइसकेका छन् । दीपक मनाङ्गेलाई समेत जोड्दा एमालेसँग २८ मत मात्र छ । बराबरी भएको अवस्थामा निर्णायक मत दिन पाउने सभामुख पनि माओवादीकै छन् । 

​बुधबार अकस्मात् अस्पताल भर्ना भएका जनमोर्चाका सांसद खिमविक्रम शाहीले पनि पार्टीको निर्णय पालना गर्ने भन्दै वक्तव्य निकालिसकेका छन् ।

मंगलबार पीसीआर जाँच नगरी मतदान गर्न नपाइने भन्दै सत्तारुढ एमालेले प्रदेशसभा अवरुद्ध पारेको थियो । बुधबार मतदान हुनेबेलामा जनमोर्चाका सांसद हराएपछि संसद बैठक स्थगित गरिएको छ । विहीबार एमालेले सत्ता जोगाउने अर्को रणनीतिअन्तरगत मनाङ्गेलाई मन्त्री बनाएको हो । तर, मनाङ्गेलाई मात्रै मन्त्री बनाएर सरकार जोगिने स्थिति छैन । बरु यो निर्णयले पार्टीको बदनामी मात्र भएको छ ।

त्यसो त विहीबार मनाङ्गेसँगै माधव नेपाल पक्षमा सांसद इन्द्रलाल सापकोटा र जनमोर्चाका कृष्ण थापालाई पनि मन्त्री बनाइन लागेको हल्ला चलेको थियो । तर, सापकोटाले आफू मन्त्री नहुने बताइसकेका छन् भने जनमोर्चाका नेताहरुले आफ्ना सांसद पार्टीको अनुशासनप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

यस प्रदेशमा माधव नेपाल पक्षका सांसद एकजना मात्रै छन् । अविश्वासको प्रस्तावमा मतदान हुँदा उनले फ्लोर क्रस गरे भने सरकार ढल्ने लगभग निश्चितजस्तै छ । भलै, माधव नेपाल पक्षका सापकोटाले फ्लोर क्रम नगर्दा पनि अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुग्ने देखिन्छ ।

यस प्रदेशमा जसपाका दुईजना सांसद छन् । सत्तापक्षले उनीहरुलाई पनि मन्त्रीको प्रलोभन दिइरहे पनि अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरिसकेका उनीहरु अहिलेसम्म आफ्नो अडानमै दृढ देखिएका छन् ।

बुधबार सांसद हराएको प्रकरणले रोकिएको मतदान कहिले हुन्छ भन्नेबारे संसद सचिवालयले सूचना जारी गरेको छैन । अस्पतालमा रहेका सांसद शाहीले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप